आइतबार, १७ मंसिर २०८०

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, निर्यात परिमाण बढ्ने

समयपोष्ट २०८० असोज १० गते १६:२७

Advertisement

नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ।

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ।

थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ। योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिवृद्धि भई ३०० एमभिए पुगेको छ। नेपाल सरकार र प्राधिकरणको लगानीमा रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती प्रसारणलाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो।

१३२ केभी प्रसारणलाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिनेछ। १३२ केभी प्रसारणलाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।

तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् १३२ केभी प्रसारणलाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था थियो। यसले गर्दा मुख्य रूपमा लिखु नदीमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरूको विद्युत् पूर्ण रूपमा प्रवाह हुन सकिरहेको थिएन।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले व्यहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए।

नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखु करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरूको विद्युत् अल्पकालीन योजनाअन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो।

तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई नयाँ खिम्ती सबस्टेसनमा नयाँ पूर्वाधार बनाएर स्थानीय रूपमा आपूर्तिको पनि व्यवस्था गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए।

स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युतलाई २२० केभी प्रसारणलाइनमार्फत धनुषाको ढल्केबरतर्फ र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ।

२२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको थियो। उक्त आयोजनाले १०० एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ।

नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो। सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री