बिहीबार, १३ वैशाख २०८१

होटल, रेष्टुरेण्ट तथा रिसोर्टमा लगानी गर्नेको बढ्दो आकर्षण

समयपोष्ट २०७९ असोज ६ गते १९:४५

Advertisement

बुद्धस्थल तिलौराकोट आसपासमा ठूला लगानीका होटल खुल्ने क्रम बढेको छ ।

पछिल्लो समय कपिलवस्तुमा होटल, रेष्टुरेण्ट तथा रिसोर्टमा लगानी गर्नेको आकर्षण बढेको हो । जिल्लाको उत्तरी भेग विशेष गरी पूर्वपश्चिम राजमार्गसँग जोडिएका क्षेत्र पिपरा, चार नम्बर जितपुर, बनगाईं, गोरुसिङ्गे, इमिलिया र चन्द्रौटामा करोडौँ लगानीमा धमाधम होटल खुलिरहेका छन् ।

उद्योगीव्यवसायी तथा विदेशबाट फर्केकाले विशेष गरेर यस क्षेत्रमा लगानी बढाएका हुन् । बुद्धस्थलले भरिपूर्ण कपिलवस्तु महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

स्तरीय होटल तथा रेष्टुरेण्ट नहुँदा यहाँ घुम्न आउने पर्यटक बाहिरी जिल्लामा खान र बास बस्न जानुपर्ने बाध्यता थियो । आज भोलि होटल तथा रेष्टुरेण्टमा लगानी गर्न उद्योगीको आकर्षण बढेपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा अन्तर्राष्ट्रियस्तरको मायाज इन्टरनेशनल होटल एण्ड बार सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

रु १० करोडमा स्थापना भएको सुविधा सम्पन्न मायाज जिल्लामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सेवा दिने होटल बनेको छ । होटल सञ्चालनमा आउँदासम्म जग्गा र भौतिक संरचनाका लागि मात्र १० करोडको लगानी परेको छ । त्यसैका कारण स्थापनाको पाँच÷छ महिनाको अवधिमा होटलमा जिल्लाभित्र तथा बाहिरबाट खान बस्न तथा आवासका लागि आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्ने गरेको छ । विभिन्न स्थानबाट बुटवल र दाङमा आएका व्यक्ति पनि बस्न यही आउने गरेको होटलका सञ्चालक हरिप्रसाद शर्माको भनाइ छ । होटलमा क्याटरिङ, सेमिनारसहितका सुविधा छ । चाँडै जिम हाउस, स्विमिङ पुल, हेल्थ क्लब पनि निर्माणको तयारी छ ।

बुटबल यता सुविधा सम्पन्न होटल नहुँदा विशिष्ट पाहुनालाई समस्या हुँदै आएको थियो । कपिलवस्तु बुद्धको जन्मस्थलका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएकाले तत्काल ट्राभल्सको पनि सुविधा मिलाउने तयारी गरिएको छ । सबैको साथ र सहयोग रहे यस क्षेत्रकै पहिलो स्टार अङ्कित होटल बनाउने योजना रहेको पनि शर्माले बताउनुहुन्छ । होटल केवल नाफा कमाउने मात्र नभई यस क्षेत्रका युवालाई रोजगार दिने उद्देश्यले पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

वाणगङ्गा नगरपालिका–१ ठाकुरापुरमा पनि पिस हिमालय रिसोर्ट सञ्चालनमा आएको छ । दुई वर्ष लगाएर निर्माण गरिएको रिसोर्टको लगानी झन्डै १५ करोड रहेको सञ्चालक रामु न्यौपानेले बताउनुभयो । रिसोर्टको भौतिक संरचनाका लागि ६ करोड लागेको छ । २५ कठ्ठा जग्गाबाट रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । रिसोर्टमा पोखरी, चिल्डे«न पार्क, जिम हाउस, फूटसलसहितको व्यवस्था छ । रिसोर्ट सञ्चालनमा आएसँगै झन्डै ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई कपिलवस्तु जिल्लाको पर्यटकीयस्थल अवलोकनका लागि विशेष व्यवस्था गराउने रिसोर्ट सञ्चालकको लक्ष्य छ । सञ्चालक न्यौपाने भन्नुहुन्छ, “यहाँ आउने विशिष्ट पाहुनालाई राख्ने ठाउँ नहुँदा बुटवल लैजानुपर्ने बाध्यताको अब अन्त्य भएको छ ।’’

आन्तरिक पर्यटकलाई कपिलवस्तु भ्यिायाउने उद्देश्यले पनि आफूले करोडौँको लगानी रिसोर्टमा गरेको उहाँले बताउनुभयो । रिसोर्टबाट कपिलवस्तुको पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

वाणगङ्गाकै बैरियामा मायादेवी रिर्सोट सञ्चालनमा आएको छ । रु १५ करोडको लगानीको उक्त रिसोर्टले आफ्नो सेवा दिइरहेको सञ्चालक वीरेन्द्र खाण बताउँनुहुन्छ । जिल्लाको पश्चिमी क्षेत्र चन्द्रौटामा पनि करोडौँ लगानीमा रिसोर्ट निर्माण भएको छ । चन्द्रौटा बजार क्षेत्रमा तीन बिघा क्षेत्रफलमा झण्डै ७० करोड लगानीमा लुम्बिनी ग्रिन रिसोर्ट निर्माण गरेर सेवा सुरु गरिएको हो । रिर्सोटमा ३६ अत्याधुनिक सुविधायुक्त कोठासहितका आवश्यक सुविधा रहेको होटेलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिनुभयो ।

रिसोर्ट क्षेत्रमा आफ्नै २२ बिघा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बीचमा बनेको यस रिसोर्टमा माछा मार्ने लगायतका गतिविधि गर्न सकिने सकिने होटेलका अध्यक्ष भण्डारीले बताउनुभयो । रिसोर्टले क्यासिनो सञ्चालकको तयारी थालेको छ । यसका लागि लाइसेन्स लिइसकेको र छुट्टै भवन पनि बनी सकेको उहाँले बताउनुभयो ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएसँगै लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई कपिलवस्तु भ्यिाउने उद्देश्य जिल्लावासीको छ । पर्यटन प्रवद्र्धनका लागि होटल, रेष्टुरेण्ट पनि आवश्यक भएकाले सुविधाजनक होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्नुपर्ने कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष दोलकराम घिमिरे बताउनुहुन्छ । “राज्यले पर्यटन प्रवद्र्धनको कुरा मात्र गरेर हुँदैन”, घिमिरेले भन्नुभयो, “पर्यटक बसोबास गर्ने खालका होटल तथा रेष्टुरेण्ट पनि हुनुप¥यो ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री