बिहीबार, १३ वैशाख २०८१

बृहत् शाखा सञ्जालका साथ गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं

समयपोष्ट २०७८ भदौ २३ गते १३:३२

Advertisement

सिटिजन्स बैङ्कको अवस्था कस्तो छ ?

सिटिजन्स बैङ्कको अवस्था उत्साहप्रद रहेको छ । असार मसान्तसम्मको तथ्याङ्कको आधारमा यस बैङ्कले सर्वसाधारणबाट उठाएको निक्षेप करिब रु. १४३ अर्ब रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी रु. १२३ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो ।

यस्तै गरि भर्खरै समाप्त भएको र्र्आिर्थक वर्षमा सिटिजन्स बैङ्कको खुद व्याज आम्दानी करिब रु. ३ अर्व ६० करोड, फि एण्ड कमिसन आम्दानी करिब रु. ८२ करोड, गैरव्याज आम्दानी करिब रू. १ अर्व ५२ करोड, सञ्चालन मुनाफा करिब रु. २ अर्व १५ करोड, वितरणयोग्य मुनाफा करिब रू. १ अर्व ८० करोड, खुद नाफा करिब रू. १ अर्व ५९ करोड रहेको छ, जुन गत वर्षको तुलनामा क्रमशः करिब २५ प्रतिशत, ४१ प्रतिशत, ३५ प्रतिशत, ३५ प्रतिशत, ७६ प्रतिशत र ३३ प्रतिशतले बढी हो ।

बैङ्कले हाल देशभर १८४ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैङ्किङ इकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । समग्रमा भन्नुपर्दा यस बैङ्कको अवस्था सन्तुलित हिसाबले वृद्धि तर्फ उन्मुख रहेको छ ।

पछिल्लो समय विभिन्न वित्तीय संस्थाहरु गाभ्नुभयो । यसका सकारात्मक/नकारात्मक कस्ता अनुभव रहे ?

पछिल्लो एक वर्षको अन्तरालमा यस बैङ्कले तीनवटा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । संस्थाहरुलाई प्राप्ति गर्नु वा गाभ्नु भनेको आफैमा एक तहको वृद्धि हो। हामीले संस्था प्राप्तिबाट त्यस्तो नकारात्मक अनुभव केहि पाएका छैनौ । कुनै पनि घटना घटेपछि त्यसको प्रभाव भनेको त्यस घटनालाई हेर्ने दृष्टिकोणमा भर पर्छ । हामीले यसलाई चुनौतीभन्दा पनि हामीले पाएको अवसरलाई केन्द्रविन्दुमा राखेर हेर्दा हामीले यस प्राप्तिहरुबाट प्रचूर सम्भावना देखेका छौं र यसले धेरै सकारात्मक आयामहरु उजागर भएर आएका छन् ।

बैङ्क तथा वित्तीय संस्था प्राप्तिपछि बजारमा सिटिजन्स बैङ्कको सकारात्मक पक्ष भनेको पर्याप्त शाखा सञ्जाल, चुक्ता पूँजीमा वृद्धि, ग्राहक सङ्ख्यामा उल्लेख्य वृद्धि तथा व्यावसायिक, प्रतिस्पर्धात्मक, दक्ष, मानव संसाधनको संयोजन हो । एक वर्षको अन्तरालमा यस बैङ्कले तीनवटा वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । यस बैङ्कले मिति २०७७ साल असार २० गते प्रदेश नं २ मा अवस्थीत सहयोगी विकास बैङ्क लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको), लुम्बीनी प्रदेशको बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैङ्क लिमिटेड र मिति २०७८ असार २६ गते प्रदेश नं १ को विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । यीभन्दा अघि पनि बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट ‘ग’ वर्गको इजाजत प्राप्त पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको थियो । बैङ्कले स्थापनाकालदेखि हालसम्म कुल ६ वटा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गरिसकेको छ ।

शाखा सञ्जालमा आएको बढोत्तरी नै सबैभन्दा ठूलो सकारात्मक पक्ष हो । सहयोगी विकास बैङ्क प्राप्तिअघि यस बैङ्कको धनुषा र महोत्तरीमा ४ वटा शाखाहरु रहेकामा प्राप्तिपश्चात् उत्त क्षेत्रमा हाल बैङ्कले १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ । त्यसैगरी, तिनाउ मिसन डेभलपमेण्ट बैङ्क प्राप्तिपश्चात् यस बैङ्कको बागमती प्रदेशमा ५ वटा, गण्डकी प्रदेशमा ५ वटा तथा लुम्बिनी प्रदेशमा ४८ वटा गरी कुल ५८ वटा शाखाहरु थपिएका छन् । यसैगरी, सिर्जना फाइनान्स प्राप्ति पश्चात् प्रदेश नं. १ मा १४ वटा र प्रदेश नं. २ मा ७ वटा गरी कुल २१ वटा शाखाहरु थपिएका छन् । हाल यस बैङ्कले प्रदेश नं. १ मा २७, प्रदेश नं. २ मा २७, बागमती प्रदेशमा ४३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा ७ वटा शाखा गरी कुल १८४ वटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

हामीले यस प्राप्तिहरुबाट व्यावसायिक, प्रतिस्पर्धात्मक, दक्ष, मानव संसाधन भित्र्याउने मौका पाएका छौं र यसलाई हामीले महत्वपूर्ण सम्पत्तिको रूपमा हेर्दै आएका छौं । कुनै पनि संस्थाको सफलता वा असफलता त्यस संस्थामा काम गर्ने मानव संसाधनमाथि नै भर पर्छ जस्तो हामीलाई लाग्दछ ।

अर्को, सबल पक्ष यस बैङ्कको चुक्ता पूँजी हो । यस एक वर्षको अन्तरालमा चुक्ता पूँजी करिब ४६ प्रतिशतले बढेको छ । यी ३ वटै संस्थाहरु प्राप्तिअघि यस बैङ्कको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, ग्राहक सङ्ख्यामा पनि उल्लेख्नीय वृद्धि भएको छ । एक वर्षको अन्तरालमा ग्राहक सङ्ख्या करिब १०० प्रतिशतले बढेको छ । प्राप्तिअघि यस बैङ्कले करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएकोमा हाल करिब १२ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्को महत्वपूर्ण पाटो भनेको मानव संसाधन हो । हामीले यस प्राप्तिहरुबाट व्यावसायिक, प्रतिस्पर्धात्मक, दक्ष, मानव संसाधन भित्र्याउने मौका पाएका छौं र यसलाई हामीले महत्वपूर्ण सम्पत्तिको रूपमा हेर्दै आएका छौं । कुनै पनि संस्थाको सफलता वा असफलता त्यस संस्थामा काम गर्ने मानव संसाधनमाथि नै भर पर्छ जस्तो हामीलाई लाग्दछ । यस बैङ्कले सहयोगी विकास बैङ्कबाट ८४ जना, तिनाउ मिसन डेभलपमेण्ट बैङ्कबाट ४५४ जना र सिर्जना फाइनान्सबाट १४४ जना गरी कुल ६८२ जना दक्ष मानव संसाधन पाएका छौँ, जुन सबैभन्दा ठूलो सबल पक्ष हो । समग्रमा भन्नुपर्दा, हामीले अत्यन्तै सकारात्मक अनुभव पाएका छौं । आगामी दिनमा अझ थप उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्नका लागि हौसला मिलेको छ ।

अझै पनि नेपालमा वित्तीय साक्षरता कम छ । यसलाई बढाउनका लागि बैङ्कले आफ्नो तर्फबाट के–कस्ता काम गरेको छ ?

वित्तीय साक्षरतालाई यस बैंकले उच्च प्राथमिकतामा राखेको छ । यस बैंकले सबैभन्दा कम वित्तीय पहुच भएको कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड र नाम्खा जस्ता स्थानहरुमा समेत शाखा संजाल विस्तार गरि उक्त प्रदेशमा ९ वटा शाखाहरुबाट वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ। वित्तीय पहुँच अभिवृद्धि गर्ने अभिप्रायका साथ यस बैङ्कले स्थापनाकालदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैङ्कले बैङ्किङसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आफ्नो वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता र्याली गर्दै आएको छ । गाउँ–घरमा रहेका नेपाली जनतालाई बैङ्किङ सम्बन्धी जागरण गराउने अभिप्रायले बैङ्कका विभिन्न शाखाहरुबाट घरदैलो कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ । सर्वसाधारणलाई वित्तीय साक्षरताका निम्ति यस बैङ्कले विभिन्न श्रव्य–दृश्य सामग्रीहरु विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गर्दै आएको छ । यसै आ.व.मा बैङ्कले वित्तीय साक्षरता सम्बन्धी एउटा श्रव्य–दृश्य सामग्री निर्माण गरी सामाजिक सञ्जालको माध्यमबाट प्रसारण गरेको छ । यसैगरी, बैङ्कले २० वटा जानकारीमूलक श्रव्य–दृश्य सामग्री निर्माण गरी सामाजिक सञ्जालको माध्यमबाट प्रशारण गरेको छ ।

केन्द्रीय बैङ्कले सहुलियत व्याजदरको कर्जा बढाउन प्रोत्साहन गरिरहेको छ । सिटिजन्स बैङ्कले ती कर्जालाई कत्तिको प्राथमिकता दिन्छ ?

देशको आर्थिक विकाशको लागि राज्यले लिने नीति र केन्द्रिय बैंकले राज्यको नीतिलाई कार्यान्यवनको लागि दिने निर्देशन पालना गर्नुपर्र्नेे दायित्व सबै बैंक तथा वित्तीय संस्थाको हो र यस बैंकले पनि यस्ता सबै खाले निर्देशनहरुको उच्च प्राथमिकताक साथ पालना गर्दै आईरहेको छ। कृषि, घरेलु तथा साना उद्यमलगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन यस बैङ्कले विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ । वित्तीय साधन परिचालनलाई आर्थिक क्रियाकलाप विस्तार, रोजगारी सिर्जना र दीगो आर्थिक विकास प्रवद्र्धन गर्नेतर्फ बैङ्कले कार्य गरिरहेको छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जा नीतिलाई सजिलो ढङ्गले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैङ्कले देशैभरि छरिएका १८४ वटा शाखाहरुबाट विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

मिहिनेत गर्न सक्ने उमेर, जोश–जाँगर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौं  ।

यसै सिलसिलामा सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालका बीच सहुलियतपूर्ण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको सङ्ख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका बैङ्कले यो सम्झौता गरेको छ । मिहिनेत गर्न सक्ने उमेर, जोश–जाँगर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौं  । व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यावसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न बैङ्कले विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ । यसैगरी, महिला उद्यमी महासङ्घ, नेपालका बीच सहुलियत पूर्ण महिला उद्यमी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी भएको छ ।

बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कसरी निर्वाह गरेको छ ?

समाजमा संचालित कुनै पनि संस्था समाजप्रति उत्तरदायी हुनु पर्दछ। यस प्रति कसैको दुइमत नहुनसक्दछ । बैंक तथा वित्तीय संस्थाको हकमा त झन् नेपाल राष्ट्र बैंकले नै निश्चित मापदण्ड तोकेर समाज प्रतिको उत्तरदायित्वको प्रावधान तोकेको छ । यसै अनुरुप नै यस बैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्दै आएको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मूलतः यस वर्ष बैङ्कले सामाजिक उत्तरदायित्व कोषको रकम हालको अवस्थामा देखा परेको महामारी कोरोना भाइरसको रोकथामका लागि खर्च गरेको छ ।

बैङ्कका आगामी योजना के–के छन् ?

यस बैङ्कले सम्पूर्ण सरोकारवालाहरुको हितलाई मध्यनजर राख्दै तथा विगतमा देखेका र भोगेका कमिकमजोरीबाट महत्वपुर्ण पाठ सिक्दै अत्यन्त परिस्कृत भावी योजनाहरु सञ्चालन गर्ने लक्ष्य राखेको छ । समय जति गतिशिल छ त्यति संस्था पनि गतिशिल हुन नितान्त आवश्यक हुन्छ । बैङ्क समयको वेगसँग चल्नुपर्ने हुन्छ ।सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग यस पुस्तालाई साक्षात्कार गराउन यस बैङ्कले समयानुकूल सेवा–सुविधा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहक महानुभावहरुलाई घरबाट नै बैङ्किङ सेवा–सुविधा प्रदान गर्ने ध्येयका साथ विभिन्न आधुनिक प्रविधिमैत्री सेवा–सुविधा सार्वजनिक गर्दै आएको कुरा विद्वितै छ । बैङ्कले आगामी दिनमा digitalization लाई केन्द्रबिन्दुमा राखेर कार्य सम्पादन गर्ने योजना बनाएको छ । बैङ्कको आन्तरिक काम–कारवाहीको प्रक्रियालाई अझ थप प्रभावकारी तथा ग्राहकमैत्री बनाउन केही दिनमा नै हामी कल सेन्टरको स्थापना गर्दैछौं । ग्राहकहरुका गुनासो तथा सुझावलाई यथासम्भव चाँडोभन्दा चाँडो सम्बोधन होस् भन्ने उद्देश्यका साथ चुस्त–दुरुस्त संयन्त्रको विकासका निम्ति हामीले हाम्रो स्रोत–साधनलाई परिचालन गरिसकेका छौं ।

यसैगरी, बैङ्कमा आबद्ध लगानीकर्ताहरुलाई उचित प्रतिफल अथवा भनौँ ‘कन्सिस्टेन्ट रिर्टन’ दिने नीति अँगाल्दै अत्यन्त सजगताका साथ गुणस्तरीय व्यापार विस्तारमा हामी होमिएका छौं । यसका साथ साथै यस बैङ्कमा कार्यरत कर्मचारीहरुलाई अझ राम्रो काम गर्ने वातावरण सिर्जना गर्ने एवम् उनीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई वृद्धि गर्दै ग्राहकवर्गलाई अझ गुणस्तरीय तथा भरपर्दो बैङ्किङ सेवा सुविधा प्रदान गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री