दसैंतिहार सुपथ मूल्य बजार कहिलेबाट सञ्चालनमा आउँदै छ ?

बिहीबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंतिहार सहुलियत बजार सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असोज १५ गतेदेखि उपत्यकामा सहुलियत बजार सञ्चालनमा ल्याउने भएको हो ।

Advertisement

जसमा काठमाडौं जिल्लामा कम्पनीको थापाथली कार्यालय तथा रामसाहपथ बिक्री केन्द्रका साथै नख्खुमा आउटलेट रहने बताइएको छ । यस्तै, भक्तपुरको सूर्यविनायक र ललितपुरको लगनखेल बिक्री केन्द्रबाट पनि सुपथ मूल्यमा सामान बिक्री गर्ने कम्पनीले जनाएको छ ।

यसअघि एकिकृत रुपमा सुपथ मूल्य पसल संचालन गरेको खाद्यले यसपटक भने साल्ट ट्रेडिङ र डिडिसीसँगको सहकार्यमा खाद्य सामग्रीको दसैं-तिहार बजार संचालन गर्ने भएको हो ।

जसअनुसार खाद्यले साल्ट ट्रेडिङ र डिडिसीका उत्पादनहरु समेत खरिद गरेर बिक्री गर्नेछ भने खाद्यसँग पनि अरु दुई संस्थानले सामान खरिद गरेर बिक्री गर्नेछन् ।

भीड कम गरेर कोरोना संक्रमणको जोखिम घटाउन सहयोगी होस् भन्नका लागि धेरै संस्थाले बिक्री गर्दै आएका सामान बिक्रीको यस्तो ढाँचामा बजार संचालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले अन्य नियमित समयमा साल्ट ट्रेडिङ र डिडिसीका उत्पादनहरु बिक्री गर्ने गरेको भए पनि चाडपर्व लक्षित सहुलियत बजारमा भने त्यसको व्यापार गरेको थिएन । यसपटक भने सहुलियत बजारमा पनि यसलाई निरन्तरता दिन लागिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री