मंगलबार, ४ वैशाख २०८१

 दशैं तथा तिहारका लागि सुपथ मूल्य पसल सुरु , ७० प्रतिशतसम्म छुट

समयपोष्ट २०७३ असोज २ गते ४:०८

 दशैं तथा तिहारका लागि उपभोग्य सामानमा छुट दिने उद्देश्यले सरकारले २४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको छ । नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ,दुग्ध विकास संस्थान र नेपाल खाद्य संस्थानलगायतका सस्थाले यस्ता पसल शुरु गरेका हुन । 
खाद्य संस्थानले आफूले बिक्री गर्ने सबै खाद्य वस्तुमा पाँच प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडले ३० देखि ७० प्रतिशत तथा निजी क्षेत्रबाट सञ्चालित ठूला डिपार्टमेन्टल स्टोरले १५ प्रतिशत छुट दिने छन । 
नेसनल ट्रेडिङको भवनमा ११ वटा बिक्री कक्ष  तथा सहरका विभिन्न भागको २४ स्थानमा सुपथ मूल्यका पसल तथा ‘मोबाइल भ्यान’बाट पनि सहरको चोकचोकमा सुपथ मूल्यमा उपभोग्य सामग्री बिक्री गर्ने व्यवस्था मिलाइएको छ । सुपथ मूल्य पसल आगामी कात्तिक २१ गतेसम्म चल्नेछ। 
काठमाडौ उपत्यकाभित्र बौद्ध, बुढानिलकण्ठ, नयाँ वानेश्वर, रामशाहपथ, थापाथली, टेकु, कालिमाटी, बल्खु, सतुंगल, नख्खखु, जावलाखेल, जडिबुटी र सुर्यविनायक लगायतका स्थानमा र काठमाडौ उपत्यकावाहिर साल्ट ट्रेडिङका क्षेत्रीय कार्यालय तथा डिपो रहेका बनेपा, विराटनगर, सुनसरी, झापा, सिरहा, जनकपुर, हेटौंडा, वीरगञ्ज, पोखरा, नेपालगञ्ज धनगढी लगायतका स्थानमा सुपथ मुल्यका पसल संचालनमा ल्याइएको छ ।
सुपथ मुल्यका पसलमा चामल, चिनी, नुन, घ्यू, तेल, गेडागुडी लगायतका उपभोग्य वस्तु राखिएका छन् । साल्ट ट्रेडिङले बजारमा २० रुपैयाँ तिर्नुपर्ने नुन १६ रुपैयाँमा उपलब्ध गराएको छ । खाने तेल प्रतिलिटर १ सय ७ रुपैयाँमा विक्री गरिरहेको साल्ट ट्रेडिङले ७८ प्रकारका खाद्यवस्तुमा छुटको व्यवस्था गरेको छ । 
सुपथ मूल्य पसल उदघाटन गर्दै आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गरे। उनले भने– बजारमा आफू खुसी मूल्यवृद्धि गरी सामान बिक्री गर्ने व्यापारीलाई कडा सजाय हुने कानून तर्जुमा गर्ने गृहकार्यमा सरकार लागेको छ ।
  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री