शुक्रबार, ७ वैशाख २०८१

नाफा घटे पनि बैङ्क खत्तम नै भए कि भन्ने बेला यो होइन

नबिल बैङ्कका सीईओ अनीलकेशरी शाहको अन्तर्वार्ता

समयपोष्ट २०७७ भदौ १६ गते १३:३४

Advertisement

पछिल्लो समय व्यवस्थापनमा बाहिरबाट सिनियर बैङ्कर भित्र्याइरहनुभएको छ, यो बेला टिम पुनर्संरचनाको आवश्यकता किन पर्‍यो ?

पैँतीस वर्षदेखि नबिल बैङ्कमा ज्यादै राम्रा मान्छे मात्र छन् । यो बैङ्क बैङ्किङ उद्योगमै नम्बर एक बैङ्कका रूपमा गनिन्छ । नेपाल अरब बैङ्क भनेर सुुरुवात भएदेखि नै सबैभन्दा राम्रो बैङ्कर नबिलमै छन् । बैङ्किङ क्षेत्रमा नबिलको योगदान भनेको जनशक्ति पनि हो । धेरै जसो बैङ्कका सीईओ, सिनियर व्यवस्थापक नबिल बैङ्कबाट नै गएका हुन् । हामी त्यसमा गर्व गर्छौं । यसैबीच हामी कहाँबाट मानिस बाहिँरिदै गर्दा हामीले बनाएको जुन योजना छ त्यो धान्नै नसक्ने अवस्था आइपुगेको महसुस गर्यौं । जस्तो जब म नै यहाँबाट पहिलो कार्यकाल पूरा गरेर अर्को बैङ्क स्थापना गर्न जाँदा यहाँबाट १८/२० जना लिएर गएको थिएँ । त्यसपछि अर्को एक जनाले त्यहीँ अनुपातमा कर्मचारी लिएर जानुभयो, बैङ्क स्थापना गर्नुभयो । एक जना गएर सीईओ हुने होइन । फेरि ती १८/२० कर्मचारी म्यानेजमेन्ट टिमबाट नै लगिन्छ । हाम्रो संस्थाको एउटा ग्राहक अर्को संस्थाले लग्यो भने त्यहाँबाट हामी तीन जना ग्राहक ल्याउँछौ तर जनशक्तिमा त्यो कहिल्यै पनि भएन । पैँतीस वर्षको इतिहासमा फाट्फुट एक/दुुई जना आए होलान् नभए नियोजित तरिकाले टिमलाई रिबिल्ट गर्ने भनेर हुँदै भएन । जस्तै संसारका उत्कृष्ट फुटबल टिमले पनि समय समयमा नयाँ–नयाँ खेलाडी लिइरहेका हुन्छन् । त्यो टिम नराम्रो भएर होइन कि अझ राम्रो कसरी हुने भनेर लगेका हुन्छन् । हाम्रो योजना पनि त्यहीँ हो । हामी जहाँ पुग्न चाहन्छौँ त्यो योजना पूर्ण गर्न हामीले कर्मचारी लिएका हौं । अधिकांश टप लेभलमै लिएका छौँ ता कि हाम्रो टिमको करिअरमा कुनै बाधा अड्चन नपरोस् ।

म यस बैङ्कमा आउँदा हाम्रा ५९ शाखा थिए । आज हाम्रा एक सय १९ ब्रान्च छन् । लोअर लेभल र मिडिल लेभलमा हेर्ने हो भने ब्रान्च म्यानेजर, अपरेसन इन्चार्ज, क्यास इन्चार्र्ज कति बढे त ? जुन राम्रो जनशक्ति छ त्यसलाई पहिचान गरेर हामीले दिएकै छौँ । ब्रान्च म्यानेजर हामीले भित्रैबाट लिएका छौँ । करिअर प्रस्पेक्टसलाई ग्रो गर्न पनि संस्थाको ग्रोथ हुनुपर्छ । अहिले स्वस्थ, अस्वस्थ जे भन्नुहोस् संस्थाबीच निकै प्रतिस्पर्धा छ । कोरोनाअघि पनि थियो र झन् कोरोनामा बढेको छ । प्रतिस्पर्धामा नबिल बैङ्कलाई कसले डोर्याएर लैजानेभन्दा नबिल टिमले नै हो । त्यो टिम जति हाम्रो भयो हाम्रो बैङ्क त्यति नै राम्रो हुन्छ । हामी डिजटल वेमा अगाडि जाने, लोन कस्टुमर मात्र होइनन् एसएमई, मिड कोअपरेट, ग्रास रुट लेभलसम्म लिएर जाने, डिपोजिट कस्टुमरमा नयाँ युवालाई कसरी आकर्षित गर्ने भनेर लाग्न हाम्रो जुन टिम छ, यसलाई अझ मजबुत बनाउन हामीले कर्मचारी लिएका हौँ ।

संसारका उत्कृष्ट फुटबल टिमले पनि समय समयमा नयाँ–नयाँ खेलाडी लिइरहेका हुन्छन् । त्यो टिम नराम्रो भएर होइन कि अझ राम्रो कसरी हुने भनेर लगेका हुन्छन् । हाम्रो योजना पनि त्यहीँ हो । हामी जहाँ पुग्न चाहन्छौँ त्यो योजना पूर्ण गर्न हामीले कर्मचारी लिएका हौं ।

कोरोना महामारी र लकडाउनले बैङ्किङ क्षेत्रको कुन पाटोलाई बढी असर गरेको छ ?

पहिलो लकडाउनदेखि अहिलेसम्म भन्नुपर्दा पहिले असार मसान्तसम्म ब्याज नलिने ईएमआई असार मसान्तसम्म पर धकेलियो । त्यसपछि दुुई प्रतिशत ब्याजमा घटाइयो । असार मसान्त आएपछि मौद्रिक नीति आयो । अझ हाम्रा ग्राहकलाई राहत दिएको छ । गभर्नर सर नियुक्त हुनुुभएपछि हामी बैङ्कर सङ्घबाट उहाँलाई भेट्न गएका थियौँ, उहाँले हामीलाई मन्त्र दिनुुभएको छ । अहिलेको समयमा तपाईंहरू पनि बच्नुहोस् तपाईंका ग्राहकलाई पनि बचाउनुहोस् । हामी त्यहीँ मूल मन्त्र लिएर अगाडि बढेका छौँ । पहिले बैङ्क बच्नुपर्यो । अहिले नाफा हेर्ने होइन ब्यालेन्स सिटको स्थिरता हेर्ने हो । त्यसमै अधिकांश वित्तीय संस्था केन्द्रित छौं । ब्यालेन्स सिटको स्थिरता कायम गर्न हामीले हाम्रा ग्राहकलाई स्थिर बनाउनुपर्यो । मुख्यतयाः अहिले नकारात्मक असर गरेको लोनका ग्राहकलाई हो । हामीले अहिले हाम्रो लोन पोर्टफोलियोलाई रातो, एम्बर र हरियो नम्बरमा भाग लगाएका छौँ । सबैभन्दा बढी प्रभावितलाई रातो, अलिकति प्रभाव परेको धेरैजसो एम्बर र प्रभाव नै नपरेको हरियोमा छन् । रातो र एम्बरमा परेका ग्राहकसँग कुरा गरेर उहाँहरूलाई कस्तो किसिमको राहत आवश्यक छ दिइरहेका छौँ । हामीले अहिले प्रस्ट बुझेका छौँ । यदि हामी अहिले नाफाको पछि लाग्यौँ भने छोटो अवधिमा नाफा होला तर मिडियम टर्ममा हामीलाई त्यसले धेरै नकारात्मक प्रभाव पार्छ । त्यसकारण अहिले सर्ट टर्ममा सर्भाइभ, मिडियम टर्ममा रिभाइभ र लङ टर्ममा ग्रोथको योजना बनाएर अगाडि बढेका छौँ ।

मौद्रिक नीतिले हाम्रो नाफा घाटामा प्रभाव पारेको छ, त्यसमा कुनै द्विविधा नै छैन । मलाई विश्वास छ राष्ट्र बैङ्कलाई मलाईभन्दा बढी थाहा छ । उहाँहरूले जुन पोलिसी ल्याउनुभएको छ सर्ट टर्ममा औषधि तीतो भए पनि लङ टर्ममा मेरो क्षेत्रलाई, संस्थालाई स्थिरता दिन्छ ।

मौद्रिक नीतिको सबैले स्वागत गरे तर तपाईं बैङ्करहरुले खासै खुलेर स्वागत गरेको त देखिएन नि ?

म नबिलको सीईओ भएपछि मैले आफ्नो संस्थाको हित हेर्नुपर्ने हुन्छ । राष्ट्र बैङ्कले सम्पूर्ण वित्तीय क्षेत्र, वित्तीय क्षेत्रको प्रभाव अर्थतन्त्रमा हेर्नुपर्यो । उहाँहरूको दृष्टिकोण हामीहरूको भन्दा धेरै फराकिलो छ । त्यसकारण मौद्रिक नीतिमा आएका कुनै–कुनै प्रावधानले हामीलाई नकारात्मक प्रभाव पारेको होला । मलाई के विश्वास छ भने नेपाल राष्ट्र बैङ्कमा त्यो क्षमता छ जसले हामीहरूले नदेखेका कुरा हेरेर मौद्रिक नीति ल्याउनुभएको हो । अहिले हामी सर्भाइभ मोडमै छौँ । यो मोडमा राष्ट्र बैङ्कको धेरै ठूलो रोल छ । उहाँहरूलाई नेपाल सरकारको दृष्टिकोण कसरी कार्यान्वयन गर्ने भन्ने थाहा छ । मौद्रिक नीतिले हाम्रो नाफा घाटामा प्रभाव पारेको छ, त्यसमा कुनै द्विविधा नै छैन । मलाई विश्वास छ राष्ट्र बैङ्कलाई मलाईभन्दा बढी थाहा छ । उहाँहरूले जुन पोलिसी ल्याउनुभएको छ सर्ट टर्ममा औषधि तीतो भए पनि लङ टर्ममा मेरो क्षेत्रलाई, संस्थालाई स्थिरता दिन्छ ।

कोभिड–१९ बाट प्रभावितलाई सरकारले दिनुपर्ने राहत बैङ्किङ क्षेत्रले दिँदा बैङ्किङ क्षेत्रलाई कस्तो प्रभाव पार्छ ?

मलाई पनि यसले हाम्रो बैङ्किङ क्षेत्रलाई अलिकति नकारात्मक प्रभाव पार्छ कि भन्ने त्रास छ । त्यो भन्दाभन्दै पनि मलाई विश्वास छ, मेरो नियामक निकायलाई मलाईभन्दा बढी थाहा छ । महाप्रसादजी राष्ट्र बैङ्कमै करिअर विकास गर्नुभएका व्यक्ति हुनुहुन्छ । त्यसपछि नेपाल इन्भेस्टमेन्ट बोर्ड निजी क्षेत्रको इन्भेस्टमेन्ट कसरी हुन्छ भनेर सबै बुझिसक्नुभएको छ । उहाँले बैङ्क मात्र होइन बैङ्करलाई समेत बुझिसक्नुभएको छ । त्यसकारण मेरो विश्वास उहाँमा छ ।

दौडमा राम्रो खेलाडी छ तर ऊ बिरामी छ भने उसलाई दौडन पठाएर त भएन, उसलाई औषधि उपचारको खाँचो छ । अहिले हाम्रो अर्थतन्त्र पनि त्यस्तै हो ।

भर्खर आर्थिक वर्षको अन्त्य भएको छ । सबै बैङ्कले वित्तीय विवरण प्रकाशित गरेका छन् । अधिकांश बैङ्कको नाफा घटेको छ । बैङ्क खत्तम नै भए कि भन्ने बेला यो होइन । मैले अघि नै भने ब्यालेन्स सिटको स्थिरता हेर्ने हो । दौडमा राम्रो खेलाडी छ तर ऊ बिरामी छ भने उसलाई दौडन पठाएर त भएन, उसलाई औषधि उपचारको खाँचो छ । अहिले हाम्रो अर्थतन्त्र पनि त्यस्तै हो ।

कोरोना भाइरस भनेको संसारको क्यान्सर जस्तो हो । क्यान्सर भयो भने किमो थेरापी, यार्डियसन सबै गर्नुपर्छ । मानिस दुब्लाउँछ, कपाल झर्छ । त्यो देखेपछि हिजोसम्म ठीक थियो, किमो थेरापी गरेपछि खत्तम भयो भन्न भएन । किमो थेरापी गरेपछि मैले क्यान्सर जित्छु र म फेरि स्वस्थ भएर आउँछु भन्ने एउटा विश्वास हुनुपर्यो । अहिले राष्ट्र बैङ्क, नेपाल सरकारबाट आएको प्रावधान भनेको यो किमो थेरापी हो । सरकारले बाहिर ननिस्क, मास्क लगाऊ, सामाजिक दूरी कायम गर भनेको छ । यो भनेको किमो थेरापी हो । सरकारले यस्तो निर्देशन दियो भनेर रिसाउने होइन । त्यो हाम्रै लागि हो । अन्य मुलुकको तुलनामा सङ्क्रमण दर, मृत्युदर कम छ । त्यो त्यसै भएको होइन सरकारले पनि केही गरेको छ । हामी सरकारविरुद्ध छिट्टै बोलिहाल्छौँ । जस्तो नबिल बैङ्ककै विरुद्ध बोल्न पनि धेरै सजिलो छ तर एकपटक आएर चलाएर देखाऊन् न । एउटा बैङ्क चलाउन यति गाह्रो छ भने सरकार चलाउन कति गाह्रो होला । अर्थमन्त्री, गभर्नरले कुनै–कुनै मापदण्डमा योभन्दा राम्रो गर्न सक्नुहुन्थ्यो होला तर धेरै मापदण्डमा योभन्दा नराम्रो पनि हुन सक्थ्यो । अहिले वित्तीय क्षेत्र, अर्थतन्त्र सबैलाई गाह्रो समय हो । यसमा सबै सँगै हिँड्नुपर्छ ।

कोभिड–१९ बाट अर्थतन्त्र र बैङ्किङ क्षेत्रलाई कसरी जोगाउन सकिएला ?

जसरी माननीय ईश्वर पोखरेलको अन्तर्गत स्वास्थ्य र सुरक्षा हेर्न उच्च स्तरीय संयन्त्र बनेको छ । उहाँहरूले राम्रो काम गरेर हाम्रो देशको स्थिति यस्तो भएको हो । स्वास्थ्य र सुरक्षा दस प्रतिशत हो, ९० प्रतिशत भनेको यसको आर्थिक र सामाजिक प्रभाव हो । अब ढिलो नै भइसक्यो । हाम्रा अर्थ मन्त्रीज्यूको नेतृत्वमा एउटा हाइलेभल आर्थिक कमिटी बन्नुपर्छ । त्यसमा अर्थ मन्त्रालय, राष्ट्र बैङ्क, राष्ट्रिय योजना आयोग, एफएनसीसीआई, टान, हान, सीएनआई, एनबीए, चेम्बर अर्थतन्त्रमा लागेका अन्य मन्त्रालय सबै त्यसमा हुनुपर्यो । दुई हप्ता वर्कसप नै चलाएर हाम्रो अर्थतन्त्र अगाडि कसरी लिएर जाने, सर्ट टाइममा सर्भाइभ कसरी गर्ने, मिडियम टर्ममा रिभाइभ र लङ टर्ममा ग्रोथ कसरी गर्ने भनेर छलफल चलाउनुपर्यो  । मलाई वित्तीय क्षेत्र लाग्ला, ट्राभल एजेन्सी, होटललाई त्यहीँ लाग्ला तर सबै जना एकै ठाउँमा बसिसकेपछि देशको सीमित स्रोत कसरी सदुपयोग गर्ने भनेर गुरुयोजना बनाउनुपर्यो ।

कोभिडले आर्थिक रूपान्तरणको सुरुवात गर्यो भनेर हामीले दस वर्षपछि भन्न सकौँ न । त्यो त्यसै हुँदैन । बैङ्क, होटल सबैले आफ्ना लागि मात्र हेरेर हुँदैन । सबै बसेर गुरुयोजना बनायौँ भने यो नहुनुपर्ने केही कारण नै छैन ।

स्वदेश फर्किरहेका लाखौँ युवाहरूलाई पनि एउटा गुरुयोजनामा उद्यमशीलता, रोजगारीमा अगाडि बढाउनुपर्यो । टुरिजम, बैङ्किङ, उत्पादनमूलक क्षेत्रले कति युवा लिन सक्छन् । उद्यमशीलताको विकास कसरी गर्ने त्यो गुरुयोजना बन्नुपर्यो  । म डाइमन्ड लाइनिङ भन्छु किनभने नेपाली युवाको पसिना र बुद्धिले यो देश बन्नुपर्ने हो तर उहाँहरूको पसिना र बुद्धिले अमेरिका, जापान, कतार र कुवेत बनिरहेका थिए भने अब नेपाल बन्ने अवसर आएको छ । यो अवसर नगुमाऔँ, कोभिडले आर्थिक रूपान्तरणको सुरुवात गर्यो भनेर हामीले दस वर्षपछि भन्न सकौँ न । त्यो त्यसै हुँदैन । बैङ्क, होटल सबैले आफ्ना लागि मात्र हेरेर हुँदैन । सबै बसेर गुरुयोजना बनायौँ भने यो नहुनुपर्ने केही कारण नै छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री