बिहीबार, १३ वैशाख २०८१

उपभोक्ता ठग्ने ठूला व्यापारिक फर्मविरुद्ध मुद्दाको तयारी

समयपोष्ट २०७३ भदौ २४ गते ३:१०

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी प्रोडक्ट्स, बिगमार्ट प्रालि, सेलवेज र अर्गानिक किचन मार्टलगायत ठूला ७ व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । 

Advertisement

विभागको नेतृत्वमा १५ दिनसम्म भएको विशेष अनुगमनबाट यी सुपरमार्केटको बिक्री कक्षमा खानअयोग्य तथा म्याद नाघेका खाद्यवस्तु भेटिएका थिए ।

अनुगमनमा म्याद नाघेका वस्तु भेटिएका ७ व्यापारिक फर्मविरुद्ध मुद्दा दायरका लागि कानुनी राय-सुझाव लिन आपूर्ति मन्त्रालयमा फाइल पठाइसकेको विभागका प्रवक्ता तथा अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

विभागमा कानुन अधिकृत नभएकाले रायका लागि मन्त्रालय पठाइएको हो । विभाग स्थापनादेखि कानुन उपसचिवस्तरको पद दरबन्दी भए पनि हालसम्म पूर्ति भएको छैन ।

“सुपरमार्केटमा म्याद नाघेका वस्तु उपभोक्तालाई बिक्री गर्नका लागि बिक्री कक्षमा राखिएको भेटिएको थियो,” उनले भने, “उपभोक्तालाई स्वास्थ्यमा असर पर्ने अखाद्य वस्तु बिक्री गर्न लागेकाले मुद्दा दायर गर्न लागिएको हो ।”

उपभोक्ता संरक्षण ऐन २०५४ बमोजिम सुपरमार्केटलाई मुद्दा दायर गर्ने तयारी गरेको हो । उपभोक्ता संरक्षण ऐनबमोजिम १४ वर्षसम्म जेल सजायको व्यवस्था छ ।

सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगन्ज, भाटभाटेनी सुपरमर्केट चाबहिल, बिगमार्टको गोदाम कालोपुल, बिगमार्ट प्रालि शान्तिनगर, तिमिल्सेना खाद्य स्टोर्स बालकुमारी, अर्गानिक किचन मार्ट नयाँबजार र फेसन फ्लो प्रालि महाराजगन्जविरुद्ध मुद्दा दायर गर्न लागेको विभागले जनाएको छ ।

व्यापारीहरूको दबाबमा यी फर्मलाई सिलबन्दी गरेको एक साता नबिन्दै खोलिएको थियो । आपूर्ति मन्त्रालयले सिलबन्दी खोल्न निर्देशन दिएप्छि विभागले धमाधम सिलबन्दी खोल्न सुरु गरेको थियो । कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री