शुक्रबार, १६ चैत २०८०

अब एक वर्षमा सिमेन्टमा आत्मनिर्भर हुन्छौं 

समयपोष्ट २०७३ भदौ २२ गते ४:१३

अहिले नेपालको समग्र सिमेन्ट उत्पादनको अवस्था कस्तो छ ?
सिमेन्टमा नेपाल आत्मनिर्भर हुँदै छ । सिमेन्ट निकै नै छोटो समयमा सुरु भएको उद्योग हो । सरकारी क्षेत्रका एक÷दुई उद्योगबाहेक निजी क्षेत्रको सुरुवातको इतिहास नै पन्ध्र वर्षको छ । यस अवधिमा आत्मनिर्भर हुनु भनेको खुसीको कुरो हो । तर, विकास निमार्णको काम द्रुत गतिमा अगाडी नबढेकाले सिमेन्टको मार्केट नेपालमा जति बढ्नुपर्ने हो त्यति बढिराखेको छैन । अहिले थुप्रै सिमेन्ट उद्योग बढिरहेका छन्, प्रतिस्पर्धा अत्यन्तै धेरै छ । पहिले आत्मनिर्भर हुने भन्नेमा लागियो, अहिले आत्मनिर्भर भएपछि बढी प्रतिस्पर्धा भएर सिमेन्ट उद्योगलाई गाह्रो पर्ने अवस्था छ । त्यसमा पनि विदेशी लगानी भित्र्याउने नाममा विदेशी लगानीबाट पनि ठुल्ठूला उद्योग आउने भन्ने कुरा छ । त्यसले गर्दा स्वदेशी लगानीका उद्योगलाई कठिनाइ पार्न सक्छ । त्यो एउटा डर पनि छ । 
पन्ध्र वर्षको अवधिमा पनि सिमेन्ट उद्योग आत्मनिर्भर नहुनुको कारण के हो ?
उद्योग भनेको अहिले चामल किनेर भात पकाउनेजस्तो होइन । आफ्नै कच्चा पदार्थमा उत्पादित उद्योग विस्तार गर्नुपर्यो । नेपालमा उद्योग धन्दा सञ्चालन गर्नु भनेको फलामको चिउरा चपाउनुजस्तै हो । सबैभन्दा पहिलो कुरा बिजुली असुविधा छ । शान्ति सुरक्षाको व्यवस्था राम्रो छैन । बन्द–हडताल र मजदुर समस्या छ । त्यस्तो अवस्थामा पन्ध्र वर्षमा आत्मनिर्भर कसरी हुन सक्छ । पन्ध्र वर्षभित्रमा आत्मनिर्भर हुन लागेको भन्ने कुरा त एकदमै सकारात्मक र अचम्म मान्नुपर्ने कुरा छ । त्यो पनि निजी क्षेत्रमात्रै लागेर जसमा सरकारी क्षेत्रको कुनै पनि योगदान छैन । सरकारी क्षेत्रका जुन उद्योगहरू छन् ती अलि–अलि चलिरहेका छन् । निजी क्षेत्रले ग्राइन्डिङ उद्योगबाट सुरु गरेर बिस्तारै आफ्नै कच्चा पदार्थमा आधारित उद्योग आत्मनिर्भर हुन गइरहेका छन् । 
विदेशी लगानीका सिमेन्ट उद्योग खुल्दै छन् । सरकारी अवधारणा पनि ०७४ बाट सिमेन्ट आयात रोक्ने भन्ने छ, त्यतिबेलासम्म नेपाल पूरै आत्मनिर्भर होला त ?
dhurba thapa 2

Advertisement

विदेशी उद्योग आउनुभन्दा पहिलेनै डेढ वर्षमै आत्मनिर्भर हुन्छ । विदेशी आयात रोक्ने भनेको क्लिन्कर हो । सिमेन्ट नै भनेको छैन । त्यसका लागि उद्योगलाई क्लिन्कर उत्पादन गर्न सक्नैपर्छ भन्ने बाध्यकारी अवस्था छैन । स्वदेशी क्लिन्कर उत्पादन गर्नुपर्ने भन्ने कुरा छ । त्यो आफैंमा विरोधाभासपूर्ण कुरा हो । कसैले एउटा ग्राइन्डिङ उद्योग राख्यो क्लिन्कर पाएन भने त उसले भारतबाट ल्याएर गर्नैपर्यो। जे भए पनि यस आर्थिक वर्ष नभए अर्को आर्थिक वर्षमा हामी सिमेन्ट क्लिन्कर दुवैमा आत्मनिर्भर हुन्छौं । 
सिमेन्टको खानी किनबेच हुन्छ भन्ने कुरा छ नि त्यो के हो ?
अहिले त त्यति धेरै छ जस्तो लाग्दैन । पहिले–पहिले सिमेन्ट उद्योग राख्ने लाइसेन्स मान्छेसँग थिएन । लाइसेन्स बाहिरका मान्छेले लिएर बसिरहेको अवस्था थियो । अहिले त्यसमा सुधार हुँदै छ । हामी पनि कराइरहेका छांै । जसको सिमेन्ट उद्योग छैन अथवा तुरुन्त लगानी गरेर सिमेन्ट उद्योग सञ्चालन त्यस्तालाई लाइसेन्स दिनुहुँदैन भनिरहेका छौं । होल्ड गर्ने प्रवृत्ति बन्द गर्नुपर्छ भनिरहेका थियौं । अहिले त्यसको शुल्क बढाएको हुनाले त्यो कम भइरहेको छ । त्यसले खासै धेरै अप्ठ्यारो नपर्ला । 
सिमेन्टमा के छ र विदेशी लगानी आकर्षित देखिन्छ ?
स्वदेशी उद्योगले विस्तार स्क्र्याचबाट सुरु गरेर अनेक कठिनाइ झेल्दै बाधा व्यवधानलाई पर सार्दै आत्मनिर्भर हुने अवस्थामा आयो । नेपाली सिमेन्टको मार्केट बन्ने बेलामा विदेशी लगानीकर्ता आकर्षित त हुने नै भए । उनीहरूको के पनि सोच हुन सक्छ भने स्वदेशी लगानीको साना स्केलका उद्योगलाई विस्थापित गर्न सकिन्छ भन्ने पनि होला । विजनेसका रणनीति अनेक हुन्छन् । नभए नेपालको बजार हेरेर त्यति धेरै ठुल्ठूला सिमेन्ट उद्योग आउनुपर्ने अवस्था छैन । सरकारले पनि जुन कुरामा देश आत्मनिर्भर हुन गइरहेको छ त्यही क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने होइन । विदेशी लगानी आकर्षित गर्ने धेरै क्षेत्र छन्, जस्तो हाइड्रो, विकासका पूर्वाधारका अरू प्रोजेक्ट छन् । खोई यसमा आएको ? स्वदेशी उद्योग व्यवसायीले धेरै कठिनाइ झेलेर बनाएको बजार बिगार्ने हिसाबले प्रोत्साहित गर्नुहुँदैन भन्ने मेरो धारणा हो ।
सिमेन्ट उद्योगबीच तीव्र प्रतिस्पर्धा छ, तर देशका ठूला परियोजनामा किन विदेशबाटै सिमेन्ट ल्याइन्छ ?
निजी क्षेत्रको उद्योगमा नेपाली सिमेन्ट नै प्रयोग भइरहेका छन् । सरकारी लगानीका विदेशी बैंकका लगानी भएका ठुल्ठूला सरकारी योजनामा कन्ट्र्याक्टरले विदेशबाट ल्याएको सामग्री विशेषगरी सिमेन्टमा भन्सार छुट व्यवस्था छ । भन्सार छुट गरेर ल्याउँदा नेपाली सिमेन्टभन्दा पनि सस्तो मूल्य पर्न जान्छ । त्यही भएर त्यस्तो भएको हो । हुन त हामीले त्यसका लागि पनि पहल गरिरहेका छांै । नेपाल सरकारसँग बारम्बार पहल गरिरहेका छौं र अब नयाँ प्रोजेक्टमा यस्तो नहुने आश्वासन पनि पाएका छौं । अर्को गुणस्तरको कुरामा धेरै सिमेन्टमा यहाँ गुणस्तर थिएन । ओपिसी सिमेन्ट भनेर एउटै गुणस्तर सिमेन्टमात्र थियो । सायद अब निकटभविष्यमा यो अन्तिम चरणमा छ, केही हप्ताभित्रै विभिन्न ग्रेडका गुणस्तर तथा नापतौल विभागले प्रकाशन गर्छ । त्यसो गरेपछि अहिले गुणस्तर तेत्तीस, त्रिचालिस, त्रिपन्न ग्रेडका भन्ने सिमेन्ट नेपालमै उत्पादन हुन सक्ने भएपछि त्यो क्षमता त नभएको होइन । गुणस्तर अभावका कारणले गर्दा त्यो नभइरहेको थियो । कुनै ठाउँमा तेत्तीस ग्रेडको हाल्नुपर्छ भनेको छ भने मापदन्डअनुसार तेत्तीस ग्रेडको सिमेन्ट लेखेको नभएर पनि सिमेन्ट आयात भइरहेका थिए । अब त्यो बन्द हुन्छ । 
सिमेन्ट उत्पादनका मुख्य समस्या के–के हुन् ?
समस्या धेरै छन् । सबैभन्दा पहिले बिजुली समस्या छँदै नै छ । सिमेन्ट उद्योग चुन ढुंगामा आधारित उद्योग भएको हुनाले चौबीसै घन्टा चल्नुपर्ने हुन्छ । यसमा एक मिनेट पनि रोकिनुहुँदैन । एक मिनेट रोकिँदा त्यसले धेरै ठूलो नोक्सान गर्छ । त्यस्तो उद्योगमा बिजुली छैन । अर्को खानी क्षेत्रहरू सबै वनमा परेको हुनाले वनको स्वीकृति लिन अत्यन्तै गाह्रो छ । खानी क्षेत्र र उद्योग क्षेत्र दुवैमा धेरै जग्गा चाहिने हुन्छ । त्यसमा जग्गाको निकै समस्या परिरहेको छ । तीन सय पाँच सय रोपनीसम्म सिमेन्ट उद्योगलाई दिने भनेर खानी तथा खनिज ऐनले भन्छ अर्कोतिर भूमिसुधार ऐनले नदिने हदबन्दी स्वीकृति लिनुपर्छ भन्छ । हदबन्दी स्वीकृति लिन हामीलाई त्यस्तै गाह्रो छ । त्यसपछि स्थानीयस्तरमा शान्ति सुरक्षाका समस्या छन् । जसले पनि तर्साउने, धम्काउने गर्छन् । पूर्ण रूपले कानुनी राज्यको स्थापना नभइसकेको अवस्थाले गर्दा साना–साना कुरालाई पनि ठूलो बनाएर बाधा अड्चन आउने गरेको र कैयौं दिनसम्म उद्योग बन्द हुने गरेको स्थिति छ । देशका भइरहने बन्द–हडतालले पनि समस्या पारेको छ । त्यसमाथि मजदुर युनियनका समस्या भोगिरहनुपरेको छ । यी सबै कारणले गर्दा असाध्यै जटिल अवस्थामा सिमेन्ट उद्योग छ । यसले गर्दा लागत पनि बढिरहेको छ । लागत कम गर्नुपर्ने हाम्रो बाध्यता हो । लागत कम गर्न सके निर्माणको सबै कष्ट कम हुन्छ । निर्माण आयोजनाको चाहे त्यो सरकारी होस् या निजी क्षेत्रको । यी कारणले गर्दा हामीलाई निकै समस्या छ । 
तपाईंले उत्पादन गर्दै आएको कसमस सिमेन्टको अवस्था कस्तो छ ?
कममस सिमेन्टको क्षमता सात सय टनको हो । विगतमा हाम्रो बजार चार सय टन क्षमताको थियो– ग्राइन्डिङमात्रै अहिले सात सय टन बनायौं । यसको बजार पूर्वतिर छ र अवस्था सरदरमा ठिकै छ । जसरी अरू सिमेन्ट उद्योग चलिरहेका छन्, त्यही हिसाबले ठिकै छ । अब आउने दिनहरूमा यसलाई बढाएर दिगो बनाउनेमा हामी लागिपरेका छौं । हामी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने हुँदा यसको बजारको समस्या हामीलाई छैन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री