बुधबार, १२ वैशाख २०८१

अब विकास बैंकले पनि कमर्सियल बैंकसरह काम गर्न पाउनुपर्छ

समयपोष्ट २०७३ भदौ १८ गते ९:१३

तपार्इं विकास बैंक एसोसिएसनको अध्यक्ष हुनुहुन्छ । अहिले विकास बैंकको अवस्था कस्तो छ ?
पोहोर सालको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्यायो । सुरुको अवस्थामा बढाएको पुँजी वृद्धि गर्न गाह्रै हुन्छ कि भन्ने लागिरहेको थियो । पछिल्लो समय सबै विकास बैंकले यसरी पुँजी पर्याउँछु भनेर राष्ट्र बैंकमा पुँजी योजना पेस गरेका छन् । त्यहीअनुरूप पुँजी पर्याउन सबै बैंक लागिपरेका छन् । कुनै मर्जर गरेर, कुनै राइट इस्यु त कुनै बोनस सेयर जारी गरेर पुँजी पर्याउँदै छन् । मेरो विचारमा सबै विकास बैंकले तोकिएको समयमा पुँजी पर्याउँछन् । अलिकति मर्जरका कारणले पनि पहिला ८६ अर्ब भएको विकास बैंक अहिले ६८ अर्बमा झरेको छ । बिस्तारै घट्दै जान्छ । नम्बर घट्छ तर पुँजी बढ्दै जान्छ । सबैले पुँजी पर्याउँछन् । 
पुँजी वृद्धिसँगै साना एकजिल्ले, दुईजिल्ले बैंक मर्जका रूपमा हराउने भए ? अब पुँजी वृद्धिपछि विकास बैंकहरू पनि अहिलेका कमर्सियल बैंकसरह नै हुने भए, त्यो भएपछि विकास बैंकको भविष्य के हुन्छ ?
हिजोका दिनसम्म दुई अर्ब, साढे दुई अर्बका कमर्सियल बैंक थिए । अबको एक वर्ष पुग्दा नपुग्दै विकास बैंक पनि साढे दुई अर्बका विकास बैंक हुन्छन् । यस हिसाबले कर्मसियल बैंकसरह नै पुँजी हुने भएपछि विकास बैंक किन चाहियो भन्ने कुरा छ । यसो हुँदा अब हामीलाई पनि कमर्सियल बैंकसरह काम गर्न दिए भयो । हुन त धेरै होइन, एक,दुईवटा कारोबार मात्र फरक छ । यही विषयमा अध्ययन गर्न फाइनान्सियल सेक्टर डिभेलपमेन्ट स्ट्राटेजीको रिपोर्ट पनि गइसकेको छ । त्यहाँ क, ख र ग भन्ने बैंकिङ चाहिँदैन, बैंक भनेको बैंक नै हो भनिएको छ । हामीले दिएको सुझाव पनि त्यही नै हो । त्यही भएर वर्गीकरण हुन जरुरी छैन, सबैको साइज ठूलो भइसक्यो । पुँजी बढेको अनुपातमा सबैले ठूलो कारोबार गर्न सक्छन् । राष्ट्रियस्तरका विकास बैंक कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन् त्यो भएर वर्गीकरण जरुरी छैन । 
अहिलेको मौद्रिक नीतिले विकास बैंकलाई कस्तो प्रभाव पारेको छ ?
यो मौद्रिक नीतिलाई हामीले अत्यन्तै सराहना गरेका छौं । हामीले उठाएका मुख्य विषय सबै सम्बोधन भएका छन् । हामीले नेपालको जिडिपीमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान छ । त्यसका लागि कृषि क्षेत्रमा व्यापक लगानी बढाउन आवश्यक छ भनेर सुझाव दिएका थियौं । नेपालमा ठुल्ठूला कृषि कर्जाभन्दा स–साना कृषि कर्जा बढाउन जरुरी छ । प्रायः मान्छे आफ्नै केही रोपनी जग्गामा फलफुल तरकारी खेती गरिरहेका हुन्छन् । त्यस्तो कर्जा लगानी गर्नलाई १० लाख रुपैयाँसम्म विपन्न वर्गमा गणना गरियोस् भन्ने कुरा सुरुदेखि उठाइरहेका छौं । राष्ट्र बैंकले त्यो सम्बोधन गरिदियो । १० लाखसम्मको कृषि सेवा कर्जालाई विपन्न वर्गमा लगानी गर्नुपर्छ ।

Advertisement

krishna raj lamichane 1

अर्को अहिले अलि अस्वाभाविक रूपमा काठमाडौंमा भन्दा अलि बाहिरै पनि घर–जग्गाको मुल्य बढेको छ । यदि बढेकै मूल्यमा बैंकले त्यही धितो राखेर लगानी गर्न थाले भने भोलि जोखिम आउन सक्छ भन्ने हिसाबले जग्गामा गर्ने लगानीमा निरुत्साहित गरियोस् । बेलैमा नियन्त्रण गरियोस् भनेका थियौं । त्यो पनि टोटल मूल्यांकनमा ५० प्रतिशतभन्दा पाइँदैन । अर्को शाखा खोल्न सरलीकरण गर्दियोस् भनेको थियो । अहिले त्यो पनि सदरमुकाम, महानगरपालिका, उपनगरपालिकाबाहेक अन्यत्र स्वीकृति लिन नपर्ने भन्ने आएको छ । अहिलेको जोखिम व्यवस्थापन गर्नका लागि पनि बसेल टु आवश्यक हुन्छ । बसेल टु भनेको रिपोर्टिङ सिष्टम हो । त्यो लागू होस् भनेका थियौं । यो पनि भएको छ । धेरै कुरा छन्, जस्तो कृषि र जलविद्युत् क्षेत्रमा १२ बाट १५ प्रतिशत पुगेको छ । हामीलाई धेरै पुगेन भन्ने छैन । केही सुझावमात्र नपुगेका हुन् । हामीले अहिलेको मौद्रिक नीतिलाई अत्यन्तै राम्रो भनेर सराहना गरेका छौं । 
विपन्नवर्ग कर्जा तपार्इंहरूले माग राख्नुभयो । कमर्सियल बैंकले त त्यो विरोध गरिरहेका छन् नि ?
 एकैचोटि २ प्रतिशतमा लगानी गर्न गाह्रो हुन्छ । वर्ष–वर्षमा बढाउँदै लगेको भए हुन्थ्यो । डेढ अर्ब भन्दा बढी एकै वर्षमा लगानी गर्नुपर्छ त्यो गाह्रो हुन्छ । लघुवित्तमा लगानी गर्ने भनेको यो अरूभन्दा फरक प्रकारको बैंकिङ हो । हामी यहाँ सुट टाई लगाएर बैंकिङ गर्छौं भने गाउँमा जाने भनेको त चप्पल लगाएर, झोलामा मकै हालेर बैंकिङ गर्नुपर्छ । त्यसकारणले उनीहरूको भनाइ गर्दै गर्दैनन् भन्दा पनि फेज वाइज गरे हुन्थ्यो । एकैचोटि गर्न गाह्रो हुन्छ भन्ने हो । 
तपार्इंहरूले विभिन्न संस्थासँग मर्ज गर्नुभयो । कैलाशको अवस्था कस्तो छ र पुँजी पुग्न कति बाँकी छ ?
कैलाश विकास बैंकले दुई संस्थालाई लिनुभन्दा पहिले पनि हामी ठूलो विकास बैंक हो । हाम्रो मुनाफा निक्षेप पुँजी कर्जा लगानी सबै हिसाबले हामी ठूलै थियौं । तथापि हामीले दुईवटा बुटवल र पोखरा बेस स–साना संस्था लियौं । यो लिइसकेपछि हाम्रो पुँजी एक अर्ब ५८ करोड पुगिसक्यो । यो वर्ष पनि हामीले ४४ करोड खुद मुनाफा गर्यो । त्यो पनि विकास बैंकभन्दा धेरै बढी हो । यसबाट पनि करिब २५ प्रतिशत हामी लाभांश दिन सक्छौं । अर्को २० प्रतिशत राइट सेयर दिने निर्णय बोर्डले गरिसकेको छ । यो सबै गर्दा हाम्रो अर्को वर्ष दुई अर्ब ३० करोडभन्दा बढी पुँजी पुग्छ । अर्को वर्षको नाफा जोड्दा हामीलाई सजिलै नगद पनि दिन पुग्छ । त्यसकारण राष्ट्र बैंकले तोकेको पुँजी वृद्धि हामी सहजै पर्याउँछौं । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री