बिहीबार, १३ वैशाख २०८१

नेता, व्यवसायी र कलाकारका यस्ता छन् दशैं योजना 

समयपोष्ट २०७४ असोज ११ गते ७:०१

 

Advertisement

निवार्चनको तयारी गर्दै मनाउने योजनामा छु : पम्फा भुसाल, प्रवक्ता, नेकपा माओवादी केन्द्र

pampha bhusal

दशैँमा त्यस्तो योजना खासै केही छैन । चुनाव नजिकिँदै गरेको हुँदा यसपालि म चुनावकै तयारीमा बढी लाग्ने छु । मठ–मन्दिर जाने, पूजाआजा गर्ने गरेकी छैन । तर दशैँमा टीका लगाउँछु । मेरो ९० वर्षकी आमा हुनुहुन्छ । आफन्तहरू घरमा टीका लगाउन आउनुहुन्छ । त्यस कारण टीकाको दिन घरमै बस्छु । दिदी–बहिनी, दाजु–भाईहरू घरमा भएपछि त्यसै रमाइलो हुने नै भयो ।

म खसीको मासु खाँदिनँ र मदिरा पनि लिने गरेको छैन । कुखुराको मासु, माछा त अरू बेला पनि खाने गरिन्छ, त्यसको लागि मलाई दशैँ नै आउनुपर्दैन । दशैँकै लागि भनेर लुगाफाटा किन्ने गरेकी छैन । यसपालिको दशैँ सामान्यतया पुस्तक पढेर र आगामी निवार्चनको तयारी गर्दै मनाउने योजनामा छु ।

परिवारसंगै बसेर मनाउँछु:  डा. मिनेन्द्र रिजाल, नेता, नेपाली काँग्रेस

minendra

मेरो दशैँको लागि विशेष योजना केही पनि छैन । प्रदेशसभाको निर्वाचन आइरहेको छ । त्यसैले निर्वाचनसँग सम्बन्धित कुराहरूमा व्यस्त हुन्छु । आफ्नो निर्वाचनको तयारीका लागि र पार्टीको निर्वाचनको तयारीका लागि समय दिन्छु । त्यसका साथै परिवारसँगै बसेर आमनेपालीले मनाए जस्तै गरी सामान्य ढङ्गले दशैँ मनाउने योजना छ ।

यसपालिको दशैं फिलिपिन्समा : शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ

shekhar

दशैँको समयमा आफ्नो स्वास्थ्यको किल्निजिङ गर्नका लागि हेल्थ फार्म भन्ने एउटा नयाँ कन्सेप्ट छ । त्यसकै लागि दशैँको छुट्टीमा म फिलिपिन्सस्थित हेल्थ फार्ममा जाँदैछु । साथै, यस वर्ष नयाँ प्रडक्ट धेरैभन्दा धेरै कसरी बेच्ने भन्नेमा हालसम्म केन्द्रित छु ।

यसअघिको दशैँ पारिवारिक जमघटमा रमाइलो गर्दै आमनेपालीले भने जस्तो मीठो खाने, रमाइलोका लागि तास खेल्ने, मान्यजनको हातबाट टीका ग्रहण गर्ने त्यसरी मनाइन्थ्यो तर यस वर्ष भने म एक हप्ता फिलिपिन्समै हुन्छु ।

खसीको मासु अति मन पर्छ : कृष्ण दुलाल, महासचिव, नाडा

krishna dulal

मेरो घर मोरङ हो । हरेक वर्ष दशैँमा सपरिवार उतै जाने गरेका छौं । यस वर्ष पनि फूलपातीको दिन सपरिवार उतै जान्छौँ । विराटनगरमा परिवारका साथ बसेर दशैँ मनाइन्छ । दशैँकै लागि भनेर लुगाफाटो हाल्ने, अरूको जस्तो दशैँकै लागि भनेर सपिङ गर्ने पनि गरिँदैन ।

दशैँमा घर गएपछि पुराना साथी–भाइसँग भेटघाट हुन्छ । पहिले पढेका स्कुलका साथीभाइसँग भेटघाट हुन्छ । पुराना विद्यार्थी भेटघाट कार्यक्रमहरू हुन्छन् । स्कुलमा त्यस्ता कार्यक्रमहरू आयोजना हुन्छ । हामी आफैँ पनि हाम्रो एसएलसी व्याचले क्लब जस्तो बनाएर विद्यार्थीहरूलाई सहयोग गर्ने गरेका छौँ । त्यो कार्यक्रममा पनि गइन्छ । 

दशैँमा मलाई रमाइलो लाग्ने भनेको खानपान नै हो । खसीको मासु अति मन पर्छ । दशैँमा साथी–भाइ बोलाएर सँगै बसेर अलि–अलि मदिरा पनि खाइन्छ । तर स्वास्थ्यलाई नै हानि गर्ने हिसाबले लिइँदैन । घरभरि मान्छे बोलाएर खानपान गर्दा मलाई साँच्चै दशैँ आयो जस्तो लाग्छ । 

रमाइलोका लागि घरपरिवारसँगै बसेर तास खेलिन्छ र दशैँको टीकाको दिन घर, मामाघर, ससुराली गएर टीका लगाइन्छ । त्यसपछि टीकाको पर्सिपल्ट म र श्रीमती विदेश जाने योजनामा छौँ ।

मासु र मदिरा नै प्रयोग गरिन्छ : डा. पुकारचन्द्र श्रेष्ठ, मिर्गौलाविद्

pukar 3

यसपालि घटस्थापना पछाडि फूलपातीको दिनसम्म सानो पारिवारिक भ्रमणमा भारत जाने योजना छ । फूलपातीको दिनमा भारतबाट फर्केपछि बुबा–आमासहित हामी तीन दाजु–भाइको सपरिवार एकै ठाउँमा बसेर सँगै खाने र पाहुनाहरूलाई पनि सँगै स्वागत गर्ने योजना छ । यसअघि बुबा–आमालाई पालैपालो तीन दाजु–भाइकोमा बोलाउने गथ्र्यौं तर यसपालि जोइन्ट किसिमले पहिलेको भन्दा फरक ढङ्गले मनाउने योजना बनाएका छौँ । 

दशैँमा सपिङ गर्ने पनि चलन छ । यसपालि सपरिवार भारत जाने हुँदा घरमा आउने पाहुनाहरूलाई पनि उतैबाट लत्ताकपडा ल्याउने विचार छ । मलाई सपिङमा खासै रुचि छैन । मेरी श्रीमतीलाई सपिङ गर्न सहयोग गर्छु । दशैँ भनेको मुख्यतः जमघट नै हो ।  दिदी–बहिनीहरू बाहिरबाट आउँदै हुनुहुन्छ । बुबाका भान्जा–भान्जीहरू आउँछन् । उहाँहरू आएपछि त्यसै रमाइलो हुन्छ । हामी नेवारहरूको मासुका धेरै परिकार बनाउने चलन हुन्छ । आमाले रोटी पनि बनाउनुहुन्छ । तर बढी त मासु र मदिरा नै प्रयोग गरिन्छ । 
दशैँको बेला तास खेलेर रमाइलो गर्ने भन्ने जुन हुन्छ, त्यो हाम्रोमा हुँदैन । टीकाको दिनमा घरको काम सबै सकाएर ससुराली जाने अनि दिउँसभरि उतै बस्ने गरिन्थ्यो, यसपालि पनि त्यस्तै हुन्छ ।

टीका लगाउन कतै जाँदिन : लक्ष्मी राई, रजिष्ट्रार, नर्सिङ काउन्सिल

laxmi rai

यसपालि दशैँ काठमाडौँमै बसेर मनाउँछु । आवश्यकता परेको बेला आफूलाई चाहिने कपडाहरू किनिरहने हुँदा कपडा किन्न दशैँ नै कुर्ने गरेको छैन । तर घरपरिवार र आफन्तहरूलाई उपहार दिनका लागि भने किन्छु । समय नभएकाले दशैँको फूलपातीको दिन सपिङ जाने विचारमा छु । त्यसै दिन आवश्यक पर्ने खाद्य सामग्रीहरू पनि किन्छु । भेज र नन्भेज दुवैखालका पाहुनाहरूको जमघट हुने हुँदा त्यहीअनुसार सामान किन्छु । 

दशैँमा आफू टीका लगाउन कतै जाँदिन । घरमा टीका लगाउन आएका पाहुनाहरूसँगै बसेर दशैँ मनाउने सोच छ । जनजाति परिवारको भएको हुँदा अलि–अलि मदिराको पनि प्रयोग गरिन्छ । चाडपर्वमा रमाइलो गर्ने नाममा जुवा–तास जस्ता कुराको फेरि विरोधी हो म । घरमा परिवारका सदस्यहरू जमघट गरेर दशैँ मनाउने योजना छ ।

क्याजुअल ड्रेस मन पर्छ : स्वस्तिमा खड्का, नायिका

swastima

दशैँको बेला मेरो छक्का–पञ्जा फिल्म रिलिज हुँदैछ । त्यसैले म त्यसमै व्यस्त हुन्छु । दशैँकै लागि भनेर विशेष केही पनि छैन । यसअघि पनि दशैँमा मान्यजनहरूको हातबाट टीका लगाइन्थ्यो, पारिवारिक जमघटहरूमा रमाइन्थ्यो । यसपालि पनि त्यो भन्दा बढी केही हुँदैन । मलाई मन पर्ने थकाली खाना हो । समय मिल्यो भने कहिलेकाहीँ थकाली खाना खान्छु । हरियो साग, नेवारी खाजा पनि मन पर्छ । मलाई सामान्य क्याजुअल खालको ड्रेस मनपर्छ । जुन स्थानमा जाने हो, त्यही स्थानलाई सुहाउने खालको ड्रेस लगाउँछु । 

दक्षिणा हाम्रो संस्कृति हो  : प्रियन्का कार्की, नायिका

priyanka

दशैँ मलाई एकदमै रमाइलो लाग्ने पर्व हो । फूलपातीको दिनबाट छक्का–पञ्जा २ रिलिज हुँदैछ । त्यसैले म दशैँमा हलहरूमा नै व्यस्त हुन्छु । दशैँमा लामो समयसम्म भेटघाट नभएका आफन्तहरूसँग समय मिलेसम्म भेट्ने योजना छ । दशैँको दक्षिणा पाउँदा सानो छँदा एकदमै रमाइलो लाग्थ्यो । दक्षिणा हाम्रो संस्कृति पनि हो ।

किनमेलको लागि दशैँ नै कुर्नुपर्छ भन्ने मेरो धारणा छैन । जुनकुनै समय पनि सपिङ गर्नुपर्ने हुन्छ, त्यो त आवश्यकताले नै निर्धारण गर्छ । दशैँमा धेरै तास खेल्ने र मद्यपान गर्ने पक्ष मलाई मन पर्दैन । म तास पनि खेल्दिनँ, मद्यपान पनि गर्दिनँ । अर्को कुरा दशैँमा दिने पशु बलिको पनि म विरोधी हुँ ।

प्रतुति : प्रमिला बानियाँ

प्रतिक्रिया

सम्बन्धित सामाग्री