आइतबार, १६ फागुन २०७७

उल्लास र उमंगको चाड दशैं

समयपोष्ट २०७४ असोज ११ गते ६:०९

prabhu-narayan-basnetप्रभुनारायण बस्नेत
चाचाहुई……..सरररररर….. गर्दै पिङमा मच्चिनुको मज्जा नै बेग्लै हुन्छ । दौँतरीहरूसँग नारिएर लिङ्गे पिङ, रोटे पिङ खेल्नु, नयाँ–नयाँ लुगा लगाएर घुमफिर गर्नु, मीठो–मसिनो खानु दशैँका विशेषता हुन् । टीका–जमराले सिँगारिएर केटाकेटीहरू गाउँभरि डुल्दा देखिने दृश्य निकै मोहक हुन्छ । 

Advertisement

राजधानी उपत्यकाका मुख्य चोक, बजार, मल अहिले ग्राहकहरूको चापले खचाखच भरिएका छन् । जागिरे, व्यवसायी, मजदुर, सामाजिक कार्यकर्ता सबै–सबै आफ्ना परिवारका साथकिनमेल गर्न व्यस्त हुन थालेका छन् । सधैँ भीडभाड हुने असन बजारमा अहिले खुट्टा हाल्ने ठाउँ छैन । इन्द्रचोक, सुन्धारा, भृकुटीमण्डप, बानेश्वर, लगनखेल, मङ्गलबजार, भक्तपुर जस्ता व्यस्त बजार थप व्यस्त बनेका छन् । सबै वर्ग, क्षेत्र र तहका मानिसमा देखिएको यो चटारोले दशैँ आइसकेको सङ्केत दिन्छ । 

दशैँका लागि किनमेल गर्नेको अहिले जति भीडभाड छ, त्यो भन्दा कैयौँ गुणा बढी भीडभाड लामो दूरीका यातायातमा छ । काम, रोजगारी, अध्ययन र व्यवसायका लागि घरबार छाडेर लामो समयदेखि बाहिर बसेकाहरूलाई मान्यजनबाट र दशैँको टीका थाप्न र भेटघाट गर्न घर पुग्नै पर्ने हुन्छ । तर यातायातको उचित प्रबन्ध नहुँदा तिनले अनेक कठिनाइ भोग्नुपर्छ । बालबच्चासहित घर जानुपर्नेका लागि त दशैँको यात्रा थप कष्टकर र जोखिमपूर्ण हुने गर्छ । एकातिर बसको टिकट काट्ने झन्झट, अर्कोतिर सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु र सामान राखेर हैरान । त्यस्तै, कालोबजारीमा टिकट बेच्नेको बिगबिगी, काउन्टरमै पनि अघि–पछि भन्दा टिकटको डबल मूल्य भनेर बस व्यवसायीहरूले दशैँका यात्रुलाई हैरान पार्ने गरेका छन् । यस्तो अवस्थामा कतिको आमाबाबु, परिवार र आफन्तलाई भेट्ने उत्साहसमेत मरेर जान्छ । दशैँको चर्चा गर्दा हामी जहिले पनि उत्साह, उमङ्ग, उल्लास जस्ता रमाइला पक्षको मात्र ख्याल गर्छौं । दशैँको बेला नै महँगी बढाउने, खाद्य वस्तुमा मिसावट गर्ने, गुणस्तरहीन सामान भित्र्याउने जस्ता कार्य यही बेला बढी हुन्छन् । तिनले चाडवाडको बेला रमाइलो गर्ने, सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । अघि–पछि सहज उपलब्ध हुने सामान पनि लुकाएर कृत्रिम अभाव सिर्जना गरी भाउ बढाउनेहरू दशैँ–तिहारमा बढी नै सक्रिय हुन्छन् । यही मौकामा कमाइहाल्नुपर्छ भन्ने भावना भएकाहरूले दशैँलाई उल्लासको पर्व होइन, कमाउ धन्दा गर्ने अवसरमा परिणत गर्छन् । 

Advertisement

Flying-Kites-01

सम्पत्ति हुनेले आफ्नो औकात देखाउने सुअवसर ठानेर दशैँलाई अत्यन्त भड्किलो ढङ्गले मनाउने र कम आम्दानी भएका निम्न र मध्यमवर्गले पनि त्यसको देखासिखी गर्दा अनेक समस्या उत्पन्न हुने गरेका छन् । दशैँ–तिहार मात्र होइन, अन्य कुनै पनि चाडपर्वलाई  भड्किलो ढङ्गले मनाउने, आफ्नो औकात देखाउन खोज्ने, पैसा खर्च गरेर शान बढाउन खोज्नेको कमी रहेको हुँदैन । त्यस्ताले नै पर्वहरूको महत्व घटाउने काम गर्दछन् । 

कुनै पनि पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक, पौराणिक आदि पक्ष हुन्छन् । दशैँको पनि अनेक पौराणिक, ऐतिहासिक, धार्मिक पक्ष छन् । यसलाई हिन्दूको चाड, पहाडेहरूले मनाउने पर्व, जनजातिविरोधी, जनजातिहरूलाई राक्षस ठानी बाहुन–क्षेत्रीले तिनीहरूमाथि विजय हासिल गरेको दिन भएकाले पनि त्यसलाई बहिष्कार गर्नुपर्छ भन्ने गलत प्रचार नियोजितरूपमा भइरहेको छ । तर यथार्थ त्यस्तो देखिँदैन । दशैँ सद्भाव, सहिष्णुता र हार्दिकता साटासाट गर्ने पर्वको रूपमा परिचित छ । यसले सबै पक्षलाई समान व्यवहार गरेर विश्वमै नमुना चाडको स्थान बनाउन सफल भएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमले के देखाउँछ भने अरू मुद्दा नकाम भएपछि धर्म, संस्कृति र तिनले कायम राखेका सद्भाव बिथोलेर आफ्नो स्वार्थ पूर्ति गर्नेको चलखेल बढ्दैछ । नेपालको राष्ट्रिय पर्व मानिएको दशैँ–तिहारलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने प्रयत्न पनि निकै चर्को रूपमा देखिएको छ । कतिपय  चाडपर्वहरू जाति, धर्म, समुदाय, क्षेत्र विशेषका पनि हुन्छन् । नेपालकै तराई प्रदेशमा छठ पर्व धुमधामसँग मनाइन्छ । सुदूरपश्चिममा गौरा पर्वको महत्व त्यत्तिकै छ । पूर्वी नेपालमा किरातहरूले साकेला, उँधौली, उँभौली धुमधामसँग मनाउँछन् । काठमाडौँ उपत्यकामा मात्र मनाइने गठेमङ्गलदेखि इन्द्रजात्रासम्मका चाडको आफ्नै विशेषता छ । तर दशैँ र तिहारलाई न त भूगोलले नै छुट्ट्याएको छ न जाति, समुदाय, धर्मले नै सीमित गरेको छ, न कुनै वर्ग र समुदाय विशेषमा मात्र यसको महत्व छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराईसम्म दशैँलाई उत्तिकै उल्लासपूर्ण रूपमा मनाइन्छ । यसलाई हिन्दूको चाड भनेर खुम्च्याउनेको आफ्नो स्वार्थ होला । तर यो विश्वका समस्त हिन्दूको नभई सम्पूर्ण नेपालको साझा पर्वको रूपमा विकास भएको छ । एउटा बुद्धिष्ट तामाङले जुन उमङ्गका साथ दशैँ  मनाउँछ, त्यस्तै र त्यही उमङ्गका साथ शाक्य र बज्राचार्य जस्ता नेवार बुद्धिष्टले पनि मनाउँछन् । दशैँमा कतिपय नेपाली क्रिष्चियनहरूले पनि टीका लगाएको देखिन्छ । कतिपय स्थानका मुसलमानले समेत दशैँको शुभकामना आदान–प्रदान गर्ने चाडपर्वको रूपमा यसलाई मनाउने गरेको पाइन्छ । देशभित्र रहेकाले मात्र होइन, सारा संसारमा रहेका नेपालीले दशैँलाई नेपालीको मौलिक पहिचानका रूपमा लिने र त्यसलाई आफ्नो गच्छेअनुसार मनाउने गरेका छन् । 

हिजोआज दशैँ बहिष्कारको नारा लगाउने कथित जनजातिको सक्रियता बढेको छ । तर त्यो विदेशी डलरको खेतीको परिणाम मात्र हो । नेपालीको दशैँ जस्तो संसारमा कुनै पनि देशको साझा चाड छैन । क्रिश्चियनको क्रिसमस, मुसलमानको रमजान त धार्मिक पर्व भए । ल्होछार नयाँ वर्ष मनाउने परम्परा भए पनि त्यसकै अनेक रूप छन् र भिन्नाभिन्नै तिथिमा त्यसलाई मनाइन्छ । तर दशैँ देवी भगवती, दुर्गा शक्ति रूपको पूजा–आरधना गरिने पर्व हो र यसलाई आजकाल धार्मिक भन्दा सामाजिक महत्वका रूपमा बढी हेरिन थालिएको छ । सबै नेपालीले उत्तिकै उल्लासमय ढङ्गले मनाउने यो पर्वलाई आर्थिक गतिविधिका हिसाबले पनि महत्वपूर्ण मानिन्छ । अहिले सहर बजारमा मात्र होइन, दुर्गम गाउँहरूमा पनि राम्रो लगाउन, मीठो खान दशैँ आउनुपर्दैन । तर कुनै बेला यस्तो पनि थियो, राम्रो लगाउन र मीठो खान दशैँ नै आउनुपथ्र्यो । यातायात, सञ्चार, विद्युत् जस्ता सुविधा नहुँदा नेपालका अधिकांश दुर्गम गाउँमा केटाकेटीलाई नयाँ लुगा लगाउन र चामलको सेतो भात र मासु खान दशैँ नै पर्खिनुपथ्र्यो । आज त्यो अवस्थामा परिवर्तन आए पनि धेरै कुरा दशैँलाई थाती राख्ने परम्परा भने कायम नै छ । 

CRwVWhxUwAA7Og-

कसैले कुनै कुराको भुक्तानी लिनुपर्ने छ भने दशैँको भाका राखिन्छ । साहुले आसामी उठाउन जाँदा दशैँलाई तिर्ने भाका राख्छ, दशैँमा अवश्य तिर्छु भन्छ । यसरी दशैँ खानपान, रङ्गीचङ्गी उल्लास, रङ्ग–रहुस, रमाइलो खेलमेलका लागि मात्र होइन, उठ्तीपुठ्ती उठाउन, बाँकी रहेको भुक्तानी चुक्ता गर्न र तिरनतारन गरेर ऋणमुक्त गर्नका लागि पनि महत्वपूर्ण रहेको छ । 
यसरी दशैँ सामाजिक, धार्मिक, सांस्कृतिक रूपमा झैँ आर्थिक रूपले पनि एउटा महत्वपूर्ण चाड भएको छ । जिन्दगीमा कहिल्यै पैसाको मुख देख्न नपाएका केटाकेटीले मान्यजनबाट टीका–जमरासँगै दक्षिणा पनि प्राप्त गर्छन् । यस हिसाबले सबै उमेर, वर्ग र तहका लागि दशैँ आर्थिक पर्व पनि हो । सँगै यसको साहित्यिक, सामाजिक, राजनीतिक महत्व पनि देखिन्छ । लामो समयदेखि बाहिर रहेका युवाहरू दशैँमा गाउँ फर्केपछि तिनले राजनीतिक गतिविधिमा सरिक हुने, साहित्यिक जमघट र भेलाहरूको आयोजना गर्ने काम दशैँको रमाइलोसँगसँगै गर्दछन् । यसले दशैँको बेला गाउँघरमा नयाँ रौनक ल्याइदिन्छ । गाउँ चलायमान र जीवित बन्छ । यसरी दशैँ ग्रामीण समाजमा शिक्षा, स्वास्थ्य, चेतनाका मुद्दामा छलफल गर्ने अवसरको रूपमा पनि प्रयोग हुन्छ । 

हुन त कुनै पनि चाडका दुइवटा पाटा हुन्छन् । राम्रै कुरा मात्र कतै सम्भव हुँदैन । दशैँका पनि अनेक विकृत पक्ष छन् । अहिले बलि प्रथाविरुद्ध उठेको चेतनाले त्यही देखाउँछ । विकृतिलाई नै दशैँको महत्व ठान्नेहरूले यसका उज्याला पक्षलाई नकार्न खोजिरहेका छन् । तर नयाँ पुस्ताले दशैँका विकृतिलाई हटाएर यसलाई संसारमा नेपाल चिनाउने सबै नेपालीको साझा पर्वको रूपमा विकास गराउँदै लैजान सक्नुपर्छ । दशैँको हाम्रो तर्फबाट यही शुभेक्षा, शुभकामना । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री