बिहीबार, ६ वैशाख २०८१

लगानी भित्र्याएर यसरी फेर्न सकिन्छ देशको मुहार : राधेश पन्तको बिष्लेषण

समयपोष्ट २०७४ असोज ९ गते ८:१२

नेपालमा लगानी गर्ने क्षेत्रहरू र सम्भाब्यताहरू धेरै छन् ।  लगानी गर्न लगानीकर्ताहरू इच्छुक पनि छन् । अहिलेको सन्दर्भमा दुई चरणमा स्थानीय निर्वाचन भइसकेको छ । चुनाव हुनु भनेकै त्यहाँका मेयरहरू स्थानीयस्तरको विकासमा लाग्छन् । अब लगानीमा वृद्धि हुने देखिन्छ तर यसको निम्ति लगानी सजिलैसँग आउँदैन भन्ने कुरा बुझ्न आवश्यक छ । लगानीको लागि लगानीमैत्री वातावरण बन्नुपर्छ । राजनीतिक दलहरू लगानी ल्याउने कुरामा एकै ठाउँ उभिनुपर्छ । व्यूरोक्रेसीले बाधा अड्कल फुकाइदिनुपर्छ । स्थानीय निजी क्षेत्रले पनि पार्टनरसीपमा लगानी भित्र्याउन उत्सुकता देखाउनुपर्छ । गएका दिनहरूमा पूर्वाधारहरूमा हाम्रो लगानी नभएका कारण आज हामी यो अवस्थामा छौँ । वर्षौंदेखि रेल र जलविद्युत्को कुरा गरिरहेका छौँ । यसमा सबैको जिम्मेवारी छ । हामीले राजनीतिक दललाई मात्र गाली गरेर हुँदैन । हामी सबै मिलेर लगानी भित्र्याउने वातावरण तयार गरिदिनुपर्छ । प्राक्टिकल्ली लगानीकर्ताले नाफा कमाउनुपर्छ र अरू नेपालकै हितमा मोबिलाइज्ड गर्नुपर्छ । 

Advertisement

लगानी परिचालनका चुनौती 

हाम्रो देशमा हरेक नौ महिनामा सरकार परिवर्तन भइरहेको छ । नियमावलीहरू बन्छन् तर कार्यान्वयन राम्रोसँग हुँदैन । अहिले पनि एउटा हाइड्रो प्रोजेक्ट गर्नलाई पैँतीस–छत्तीसवटा सरकारी निकाय धाउनुपर्छ । त्यसरी कसरी लगानी आउँछ ? अन्य मुलुकमा प्रक्रिया पुर्याउन र अनुमति लिन दुई दिन लाग्छ भने हामीले एक दिनमै गराउन सक्नुपर्छ । हाम्रो नियम, कानुनले दिँदैन भनेर हामी भाग्नुहुँदैन । साँच्चिकै लगानी भित्र्याएर देशको मुहार फेर्ने हो भने ती सबै कुराहरू परिवर्तन गर्न सक्नुपर्छ । यो नबुझेकालाई बुझाइदिन सक्नुपर्छ । मुख्य कुरा जवाफदेहिता हुनुपर्यो। सरकार आउँछ–जान्छ । कर्मचारीहरू परिवर्तन भइरहन्छन् । त्यो प्रोजेक्ट अगाडि नबढ्नुमा कसको जवाफदेहिता छ भन्ने कुरा नै पारदर्शी छैन । अब त्यो हुनुपर्छ । त्यसो भयो भने मानिसमा जिम्मेवारीबोध हुन्छ । 

radhesh panta 5

नीतिगत र व्यवहारिक समस्या 

कतिपय नीतिहरूमा स्पष्टता नै छैन । जे–जसो भए पनि यो मन्त्रालयले यो निकायले गर्न सक्ने छ भन्ने शब्दहरू आउँछ । त्यो भन्नाले के त ? कि त त्यो प्राक्टिस गर्नुपर्यो ती कुराहरू पनि प्राक्टिस हुँदैनन् । हाम्रा ठूला निकाय मन्त्रालयबीचमा समन्वय छैन । एउटा मन्त्रालयसँग कुरा गर्यो, अर्कोमा जाऊ भन्छ । अर्कोमा गयो, अर्कोबाट ल्याऊ भनेर आफू पन्छिने परम्परा छ । यी कुराहरूमा वान विण्डो सिस्टम ल्याउनुपर्छ । लगानी बोर्ड, डिपार्टमेन्ट अफ इण्डष्ट्रीमा छिर्ने बित्तिक्कै उसको सबै समस्या समाधान हुनुपर्छ । उसको ईआईए गर्ने कुरादेखि लिएर वनका कुराहरू, अन्य निकाय र मन्त्रालयका कुराहरू एकै ठाउँबाट गरिदिन सक्नुपर्यो। हामी सक्दैनौँ भन्नै मिल्दैन । अन्य मुलुकले गर्न सक्ने, हामीले त्यही कुरा कानुनले दिँदैन भन्ने अवस्था हुनुहुँदैन । नेपालमा प्रचुर मात्रामा सम्भाव्यताहरू छन् । हामीकहाँ एउटा फ्ल्याई ओभर, ट्रेन, मेट्रो केही छैन । मलाई लगानीकर्ताहरूले प्रश्न गर्छन्– हामी किन नेपालमा लगानी गर्ने ? 

नेपालमा एड्भेन्चर टुरिजमदेखि जलविद्युत्लगायतका क्षेत्रमा लगानीका सम्भाव्यताहरू छन् । पहिले विद्युत्मा ८३ हजार मेगावाट भनिन्थ्यो, अहिले डेढ–दुई लाख मेगावाट भन्न थालिएको छ । हामीले जम्मा आठ–नौ सय गरेका छौँ । हामी मात्र गफ गर्ने भयौँ । देशमा लगानी भित्र्याउने कुरामा सबैको एकमुख हुनुपर्छ । लगानीकर्ता नेपालको विमानस्थलमा अवतरण गर्दा विमानस्थल राम्रो हुनुपर्यो। यो मेरो जिम्मेवारी हैन, त्यो मन्त्रालय, त्यो विभाग जानुहोस् भनेर लन्ठ्याइदिने हो भने लगानीकर्ता अन्य मुलुकमा लगानी गर्न जान्छ । लगानीकर्ता त्यसै आउँदैनन् । उनीहरूलाई हामीले आकर्षित बनाउनुपर्छ । त्यसको निम्ति हामीले काम गर्नुपर्यो। हामीले लगानीकर्तालाई पन्छाइदिने र दुःख दिने काम मात्र गर्नुहुँदैन । 

निजी क्षेत्रबाट अपेक्षा

निजी क्षेत्रहरूले पूर्वाधार, लङटर्म इनभेष्टमेन्टमा लगानी गर्नुपर्छ । अहिले प्रायःजसो निजी क्षेत्र ट्रेडिंगमा मात्र केन्द्रित छ । उद्योग स्थापना गर्ने भन्ने कम नै सुनिन्छ । धेरै भनेको एक रूपैयाँमा माल ल्याउने र एक रूपैयाँ पचास पैसामा बिक्री गर्ने अनि त्यसको नाफा खानेमा मात्र केन्द्रित छ । त्यसले अर्थतन्त्र दिगो हुँदैन । रेमिटेन्सले हामीलाई सस्टेन गरिरहेको होला । तर सधैँ त्यो पैसा बढ्दै जाँदैन । त्यसकारण निजी क्षेत्रलाई हामीले स्ट्रोङ भ्वाइस बनाउनुपर्यो। एफएनसीसीआई, सीएनआई, नेपाल चेम्बर एउटै भ्वाइस हुनुपर्यो। एफएनसीसीआई, सीएनआईको आफ्नो मात्र स्वार्थ हुनुभएन । एउटै भ्वाइस भएर जाने हो भने जनताको भ्वाइस एकदम स्ट्रोङ हुन्छ । नेपालको दीर्घकालीन विकासको निम्ति यो हुनुपर्छ भनेर ठोकेर भन्न सक्नुपर्छ । पोलिटिसियनले गरेन भनेर मात्र अब हुँदैन । पोलिटिसियनलाई गराउन लगाउनुपर्छ । केही लागेन भने उसलाई संविधानसभाबाहिर बसेर यो कारणले नेपाललाई यो फाइदा छ भनेर प्रेसर दिन सक्नुपर्छ । व्यूरोक्रेसीले काम नै गरेन भनेर हुँदैन, व्युराक्रेसीलाई पुनर्गठन गर्न सक्नुपर्छ । निजी क्षेत्रले पनि यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

ठूला परियोजनामा लगानी

ठूला परियोजनाहरूको जेस्टेसन पिरियड एकदम लामो हुन्छ । एक हजार मेगावाटको प्रोजेक्ट पायो भने त्यो प्रोजेक्ट सुरु मात्र गर्न पाँच छ वर्ष लाग्छ । ईआईए गर्नुपर्यो डिजाइन गर्नुपर्यो वातावरणका कुराहरूदेखि लिएर सबै गर्नुपर्यो। कन्ट्र्याक गर्नै पाँच छ वर्ष लाग्छ । भनेपछि दश–एघार वर्ष लाग्यो । फेरि नेपालमा पोलिसी चेञ्ज भइरहन्छ । दश वर्षअगाडि लगानीकर्ताले साइन गरेको सम्झौता पत्रअनुसार उसले सुविधा पाउने कि नपाउने, त्यो त हामीले दिनुपर्यो। बीचमा व्यवधानहरू आए भने नेपाल सरकारले फुकाइदिनुपर्यो।

म लगानी बोर्डमा भनिराख्थेँ कि यी ठूला परियोजना भनेका देशका मुहार बदल्ने कुराहरू हुन् । यसमा नेपाल सरकारले, लगानीकर्ताले पार्टनरसीपको रूपमा अगाडि बढनुपर्छ । उनीहरूलाई गाह्रो परेका कुराहरू सल्टाइदिनुपर्छ । ठूला परियोजनाहरू सम्पन्न भएपछि त्यो पच्चीस वर्षपछि नै भए पनि आखिर नेपाल सरकारलाई नै हस्तान्तरण गर्ने हो । त्यसैले प्रोजेक्ट हुनुमा सबैभन्दा बढी फाइदा नेपाल सरकारलाई नै छ । हामी जनताले त्यो बुझ्नुपर्यो। हामीले भाषण गरेर हिँडेका छौँ । ५ वर्ष भइसक्यो नेपालमा यति मेगावाट छ, उति मेगावाट छ भन्न थालेको तर कुरा मात्र भयो, काम अगाडि बढेन । यसमा कसैलाई दोष दिने ठाउँ छैन, सबैको उत्तिकै जिम्मेवारी छ । अव मेरो देशमा सगरमाथा छ, पशुपति छ भनेर हुँदैन । हामी सबै एकजुट भएर ठूला परियोजना ल्याउनतिर लाग्नुपर्छ । विकास ल्याउने हो भने गम्भीरतापूर्वक नेपालको हितमा काम गर्नुपर्छ । 

radhesh panta 4

लगानीका सम्भावना 

नेपालमा सम्भावना धेरै छन् । तर ठूला प्रोजेक्टहरूमा लगानी गर्नु भनेकै जोखिम हो । जोखिमको सर्टेन पार्ट नेपाल सरकारले फुलफिल गर्न सक्छ । भोलि त्यहाँ गएर कुनै बद्मासहरूले आगो लगाइदिए भने नेपाल सरकारले समाउन सक्नुपर्छ । भोलि बन्द–हड्ताल भइरहे नेपाल सरकारले त्यसलाई रोक्न सक्नुपर्छ । लगानीकर्ताले हरेक दिन ‘इट इज द म्याटर अफ लस’ हेरेको हुन्छ । आज कर्णाली प्रोजेक्ट ढिलो भइरहेको छ । नेपाल सरकारले कसरी हेर्नुपर्यो भने एक दिन ढिलो हुँदा ५ देखि ८ करोड रेभिन्यु हराइरहेको छ । त्यो प्रोजेक्ट दश दिनअगाडि भए नेपाल सरकारलाई ५ देखि ८ करोड एउटा प्रोजेक्टबाट फाइदा हुन्छ । तर हामी त्यसरी हेर्दैनौँ र मतलबै गर्दैनौँ । खालि उसले काम गरेन भन्छौँ, अड्काइदिन्छौँ । दिन्छु भनेको कुराहरू दिँदैनौँ । यो नेपालको हो भन्छौँ, झण्डा लिएर हिँड्छौँ । मान्छेहरूले दुःख पाईरहेकै छन् ।

हामीले ४ वर्ष अगाडिदेखि प्रमिस गरेका छौँ तर अब त्यसरी हुँदैन । रिस्कको पनि रिस्क रिवार्ड भन्ने हुन्छ । रिस्क लिएबापत रिटर्न पनि हो । त्यो सबै हिसाब गरेर उसलाई चाहिने नाफा हो । हामीले त्यसै छाडेर नाफा लेऊ भन्यौँ भने त उनीहरूले थोत्रो प्लान्ट बनादिन्छन् । बीस बर्ष चल्ने प्लान्ट बनाइदेलान् अनि हामीलाई नै दुःख पर्छ । हामीले त्यसलाई मनिटर गर्नुपर्छ । प्रायःजसो धेरै प्रोजेक्टमा कमी के छ भने हामी कन्ट्र्याक म्यानेजमेन्ट एण्ड मनिटरिङ गर्दैनौँ ।  कन्ट्र्याकमा के लेखेको छ र उसले के गर्नुपर्ने हो, गरेको छ कि छैन ओभर अल रिभ्यु गर्नुपर्ने कसैले गर्दै गर्दैन । भटाभट साइन गरेको हेरेका छौँ तर कसले त्यो काम गर्ने हो, कसको जिम्मा हो, कसैलाई मतलब छैन । त्यसो हुँदाबित्तिकै कस्ट र टाइम दुवै ओभररन हुन्छ । उसको इन्टरनेसनल लयरहरू लिएर आउँछ, नेपाल सरकार फस्छ । त्यसैले रिटर्न लगानीकर्ताले खोज्छन् तर रिटर्नमा हामीले र लगानीकर्ताले पाउनुपर्नेजति नेगोसियट गर्नुपर्छ । त्यो इन्डष्ट्रीमै थाहा हुन्छ । म्यानमारको त्यस्तैखालको प्रोजेक्टले कति पाएको छ । अर्कोले कति पाएको छ, नेगोसिएट गर्नुपर्छ । नेगोसिएसन नेपालको हितमा गर्नुपर्छ । आजसम्म खालि पोलिटिकल रिफम खालका कुरा मात्र गर्यौं । तीन–चार जना नेताहरू खाली कोठामा बस्यो, ल यसो गर्दिउँ न भन्यो । पार्लियामेन्टमा अनाउन्स गर्दियो । वास्तवमा जनतालाई चाहिएको त आर्थिक विकास हो । डेमोक्रेसी भएर हाम्रो स्ड्याण्डर्ड अफ लिभिङ बढोस् भन्ने हो । त्यतातिर हामीले ध्यान नै दिन सकेका छैनौँ । खालि को पावरमा जाने भन्ने मात्र छ । 

radhesh panta 3

छिमेक नीतिमा स्पष्टता

नेपालको विकास गर्न हामी एक हुनुपर्छ । अहिलेको अवस्थामा प्रधानमन्त्री पनि तीन–चार जना मात्रै हुने हो । नौ महिना भनेको छ, एक वर्ष भनेको छ । उहाँहरू एक हुनुभयो भने यो पोलिटिक्सले हामीलाई केही गर्न सक्दैन । वी क्यान अल वी वान । समस्या के भने उहाँहरूकै उत्तरदायित्व परिवर्तन हुन्छ । भिजन हुनुपर्यो। ट्वान्टी–ट्वान्टीमा देशलाई मिडियम इनकममा लग्छौँ भनेर भाषण ठोकेको छ, खोई त हु इज वर्किङ अन द्याट ? त्यो छैन । जियो पोलिटिक्स छ । यसले हामीलाई इफ वी नेगोसिएट वेल भारत, चाइना इभन अमेरिकासँग हाम्रो एक भ्वाइस हुने हो भने हामी डेलिभर गर्न सक्छौँ । तर एउटा नेता भारतपट्टि गएको छ, एउटा चाइनापट्टि गएको छ । फेरि एक वर्षपछि त्यो परिवर्तन हुन्छ । उनीहरूलाई नेताहरूको कमजोरी थाहा छ । पहिला हामी सबै नेताहरू बसेर लगानी ल्याउने, कति ल्याउने ? २५ अर्ब डलर लगानी हामी बाहिरबाट ल्याउँछौँ, भित्रबाट १ अर्ब डलर मोविलाइज गर्छौं । यो २ वटा प्रोजेक्ट पाँच वर्षमा सम्पन्न गर्छौं । कुन पार्टीले नेतृत्व गर्छ, त्यसलाई निरन्तरता हामी दिन्छौँ । लगानीकर्तासँग साइन गरेर यसलाई प्राथमिकतामा राख्छौँ भन्ने हो भने सक्छौँ । किनभने नेपाल एकदम सक्षम छ । नेपालबाहिरका नेपालीलाई भेट्दा उनीहरू नेपाल फर्केर आउन चाहन्छन् । उनीहरूसँग काम गर्ने अनुभव छ ।  ठूला–ठूला पूर्वाधारहरूको काम अगाडि बढाउने हो भने अन्य मुलुकमा छरिएर रहेका नेपाली आउँछन् । 

जस्तो– नेपालीहरू मलेसिया, इजरायलमा कृषिमा, अमेरिकामा ठूला–ठूला डाक्टर होलान् । हाम्रो लोकेसन त अल मोष्ट थ्री विलियन पपुलेसन । एउटा बाटो हामीले बनाउन सकेका छैनौँ । बाटो कसले बनाउने भन्ने छ । हामीले रुचि राख्नुपर्यो। हामीले उताबाट के भन्छ, के दिन्छ भन्ने होइन । उदाहरणका लागि उसले एउटा कम्पनी खडा गर्यो नेपाल, चाइना र इण्डियाको । ३३ प्रतिशत इच त्यो कम्पनीमा । त्यो कम्पनी नेपाल आउने बाटो खुलिसक्थ्यो । गर्ने हो भने गर्न सकिन्छ । नेपालमा मानिसको मानसिकता नै के गर्ने के हुन्छ र यहाँ भन्ने भयो । दिनभरि अरूको कुरा गर्यो– यो भएन, त्यो भएन । उसले यो गरेन, त्यो गरेन भन्यो । बेलुका भेट्दा पोलिटिसियन मेरो पालामा यो गरेको, त्यो गरेको मात्र भन्छ । कसैले म मन्त्री हुँदा, म सचिव हुँदा, म प्रधानमन्त्री हुँदा साइन गरेको भन्छ । साइन गरेर मात्र भएन, काम हुनुपर्यो। त्यसले गर्दा त्यो मानसिकता पनि नेगेटिभ भयो । हामी बाहिर जाँदा नो वान नोज द गर्भमेन्ट, नो वान डिपेन्ड अन गर्भमेन्ट ।  आ–आफ्नै समुदायमा छन् । अब केही हुँदैन भन्ने मानसिकतालाई एउटै कुराले मात्र परिवर्तन गर्न सक्छ  । त्यो भनेको हामीले विकास गरेर देखाइदिनुपर्छ ।  प्रोजेक्ट ल्याएर त्यसको निर्माण सम्पन्न गरेर जनताले त्यसको स्वाद पाएपछि अनि विकास सुरु हुन्छ यो देशमा । आजसम्म विकासको स्वाद भनेको पाएकै छैन । 


हाइड्रो र पूर्वाधारमा लगानी

नेपालको साँच्चिकै आर्थिक विकास गर्ने हो भने हामीले हाइड्रो र पूर्वाधारमा लगानी बढाउनुपर्छ । हामीसँग धेरै हाइड्रो छन् र लोकल्ली पनि हामीलाई चाहिन्छ । कुनै पनि उद्योग सञ्चालन गर्न हाइड्रो पावर चाहियो । विकास भयो भने हाइड्रो पावर धेरै आवश्यक छ । इट इज क्लिन इनर्जी । दोस्रो, हामीलाई कनेक्टिभिटीहरू चाहियो । त्यो पूर्वाधारहरू हामीले अगाडि गर्नुपर्यो। दाङमा मानौँ, कुनै ठूलो उद्योग खोलियो तर त्यसलाई एक्सपोर्ट गर्ने पूर्वाधारहरू नै छैन भने त्यसको अर्थ हुँदैन ।

नेपाली सिमेन्ट एकदम राम्रो मानिन्छ । भोलि यहाँ ठूलो सिमेन्ट उद्योग आयो भने बढी भएको सिमेन्ट चाइना, इण्डिया कसरी पुर्याउने ? संसारमा कतै नपाउने जुम्लाको कालो चामल तगडा छ भन्छौँ, त्यो काठमाडौँमै पनि पाइँदैन । किन पाइँदैन भन्दा त्यो ल्याउँदा–ल्याउँदै कुहिन्छ । स्टोरेज छैन, बाटो छैन । त्यसै गरी सुन्तलाको कुरा गरिन्छ । हामीले खाने सबै सुन्तला आयातीत हुन्छ । नेपालमै उत्पादन भएका कुराहरू बजारमा लैजान सकेका छैनौँ । त्यसैले कनेक्टिभिटी भन्नाले रोडको मात्र होइन इन अल सेन्स एयर कनेक्टिभिटीदेखि लिएर विद्युत्को निम्ति ट्रान्समिसन पनि हुनुपर्यो। जहिले पनि समस्या के हुन्छ भने ठूला–ठूला प्रोजेक्ट हामीले बनाउनै सक्दैनौँ । ६० किलोमिटर ट्रान्समिसन ल्याउनुपर्छ भनिन्छ । सबै पूर्वाधारहरू बन्दै गएको अवस्थामा त्यो रोडको साइडमा व्यापार पनि हुन्छ । कुनाकाप्चाका जडीबुटीलाई बजारमा लैजान सक्छौँ । नेपालबाहिर चाइना, इण्डियामा पठाउन सक्छौँ । त्यहाँबाट बाहिर जान सक्छ । त्यसैले मुख्य कुरा भनेको पूर्वाधारहरू नै हुन् । 

radhesh panta 2

 राष्ट्रवादका कुराले मात्र​ देशलाई कहीँ लैजाँदैन 

नेपालमा केही नभएको होइन, काम भइरहेको छ ।  ९० मेगावाटको अरूणको कन्स्ट्रक्सन अब दुई–तीन महिनामा हुन्छ । पाँच वर्षमा यो पूरा हुन्छ । हाम्रो टोटल कमिटमेन्ट आठ–दश अर्बको थियो पोर्टफोलियोमा । अहिले होटलहरू पनि धेरै आइरहेका छन् । पोखरा एयरपोर्ट छ, भैरहवा छ, निजगढको फास्ट ट्र्याकको कुरा पनि भइरहेको छ । यति प्रोजेक्ट मात्र समयमै भइदियो भने नेपालको जीडीपी डबल नै हुन्छ । सिमेन्टकै प्रोजेक्टमा कम्तीमा पनि १ सय ५ अर्बजति लगानी भित्रिँदै छ । त्यो पाइपलाइनमा छ । फ्रर्टिलाइजर प्लान्ट, मेट्रो सबै जोड्ने हो भने करिब २५ देखि ३ खर्ब डलरकै आउँदैछ । यो गराउनका निम्ति त्यसै हुँदैन । हामीले मेहनत गर्नै पर्छ । इन्भेष्टर भनेको हाम्रो पार्टनर हो भन्ने बुझ्नुपर्छ । इन्भेष्टटर भनेको हामीभन्दा मुनिको मान्छे हो । यसलाई हामीले चुस्नुपर्छ भन्न थाल्यो भने केही हुनेवाला छैन । राम्रो लगानीकर्ता आउँदैन । चोरखालका आउँछन्, उनीहरू हामीभन्दा खप्पिस भइदिन्छन् । नेपाल सरकारलाई बेवकुफ बनाएर गइदिन्छन् । त्यसैले हामीले आह्वान गर्नुपर्यो– नेपाल लगानीको लागि तयार छ । तपाईंहरूको आवश्यकता हामी पूरा गर्छौं भनेर एक–एकलाई सहयोग गर्नुपर्छ । 

लगानीकर्तालाई पार्टनर जस्तो व्यवहार गर्न सिक्नुपर्छ । खालि राष्ट्रवादका कुराले मात्र यो देशलाई कहीँ लैजाँदैन । हामी यो देशमा विकास चाहन्छौँ । हामीसँगैका कतिपय देशहरू कहाँ पुगिसके । थाइल्याण्डलाई नै हेरौँ न । के थियो १९६० मा ? कोरिया र नेपालको जीडीपी १९६० मा एउटै थियो । तिनीहरूलाई कम्प्येर गर्नुपरेन ? हामीले धोती–धोती भन्ने भारत नै हेरौँ, कहाँ पुगिसक्यो । हामीले गफ गरेर बितायौँ, काम गरेनौँ । उनीहरू युरेनियम फ्याक्ट्रीदेखि लिएर, गाडीदेखि लिएर सबै बनाउँछन् । सत्र–अठार सालतिर काँग्रेसले सियोदेखि प्लेनसम्म बनाउँछु भनेको थियो क्यारे, तर आजसम्म हामीकहाँ सियो पनि बन्दैन । अव काम गर्नुपर्यो मेहनत गर्नुपर्यो। यो सही समय हो । 

अहिले धेरै राम्रो सीप सिकेका धेरै नेपाली नेपालबाहिर छन् । योङ्गर जेनेरेसनले नेपालमा केही गर्न रुचि देखाएको छ । नेपालमा काम गर्न धैर्यता अति आवश्यक हुन्छ । धैर्यता भएन भने दुई दिनमै फर्किने खतरा छ । फर्केका पनि छन् मान्छेहरू । त्यसैले त्यसलाई स्ट्रेनथेन गर्नुपर्छ । अवसर भनेको जहाँ पनि छ । नेपालमा एजुकेसन, नेचुरल रिसोर्ससेस, पूर्वाधार, म्यानुफ्याक्चरिङ, आईटी देखि लिएर सबैमा अवसर छ । त्यस्ताखालका मान्छेहरूको लिडरसीपमा आएर सरकारसँग पनि कन्फ्रन्ट गर्न सक्ने, सरकारसँग अलिकति पैसा खर्च गरेर लिने त्यस्तोखालको होइन कि वि निड पिपल टु बी मोटिभेटेड । त्यस्ताखालका मानिस आए भने लगानी यहाँ राम्रो हुन्छ । देखिने इम्प्याक्ट नेपालमा गर्न सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री