शनिबार, ८ वैशाख २०८१

नेपाल नर्सिङ परिषद्को पहलमा  मिडवाइफ्री कार्यक्रम 

समयपोष्ट २०७३ भदौ १८ गते ८:२६

काठमाडौं । नेपाल नर्सिङ परिषद्को पहलमा नेपालमै पहिलो मिडवाइफ्री कार्यक्रम सञ्चालन हुने भएको छ । विश्वको अन्य मुलुकमा यस किसिमका कार्यक्रम सञ्चालनमा आए पनि नेपालमा यस किसिमको कार्यक्रम हालसम्म कुनै पनि क्षेत्रबाट सञ्चालनमा आएको थिएन ।

Advertisement

महिलामा गर्भ रहेदेखि शिशुको जन्म भएको चालीस हप्तासम्म आमा र शिशुको राम्रो हेरविचार गर्ने र महिलालाई सुरक्षित रूपमा सुत्केरी गराउने काम मिडवाइफ्रीले गर्ने गर्छन् । हरेक वर्ष विश्वमा तीन लाख चालीस हजार महिलाको ज्यान बच्चा जन्माउनेक्रममा जाने गरेको छ । त्यसमा पनि विकासोन्मुख देशमा मातृमृत्युको दर ९० प्रतिशत रहेको छ ।

3नेपालमा मातृमृत्युदर पहिलेको तुलनामा कमी त आएको छ र पनि दक्ष स्वास्थ्यकर्मी अभावमा देशका जिल्ला–जिल्लामा यो समस्या यथावत् नै छ । गर्भावस्थामा महिलाको स्वास्थ्यमा हुन  सक्ने जोखिम र प्रसूतिको  समयमा हुनसक्ने मातृशिशु मृत्युदर रोक्न काउन्सिलले यस्तो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको नेपाल नर्सिङ परिषद्की रजिष्ट्रार लक्ष्मी राईले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक आधारभूत मापदण्ड तयार भइसकेको र  सोही कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयबाट पनि बजेट विनियोजन  भइसकेको उहाँले बताउनुभयो  । राईका अनुसार अब नेपालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान  (वीर अस्पताल) ले  मिडवाइफ्री कार्यक्रम सञ्चालनमा ल्याउन सक्नेछन् ।  उल्लिखित संस्थाको पाठ्यक्रमलाई पनि एकैसाथ मिलाएर तयार पारिसकिएको छ  । 
2 copy

विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट प्राप्त पाठ्यक्रमलाई अध्ययन छलफल गरी त्यसलाई पनि एकरूपता  ल्याउने  काम पूरा भइसकेको रजिष्ट्रार राईले बताउनुभयो ।  
एक दशकअघि नेपालमा मातृशिशु स्वास्थ्य क्षेत्रमा सुडेनी क्रियाशील रहेका थिए । सुडेनीले गर्दै आएको कामको जिम्मेवारी अहिले उच्चशिक्षा हासिल गरेका अनमी, स्टाफ नर्स, मातृशिशु कार्यकर्ता र स्नातकमा चारवर्षे कोर्स पूरा गरेका मातृशिशु स्वास्थ्य कार्यकर्ताले सम्हाल्दै आएका छन् । विभिन्न क्षेत्रका स्वास्थ्य कार्यकर्ताले मातृशिशु स्वास्थ्यको क्षेत्रमा यस्ता जिम्मेवारी सम्हाल्दै आए पनि तीनवर्षे कोर्स पूरा गरेका स्टाफ नर्सलाई मातृशिशु क्षेत्रमै विशिष्टता हासिल गराउनका लागि मिड वाइफरी कोर्सलाई अगाडि बढाउन खोजिएको धारणा नेपाल नर्सिङ परिषद्की अध्यक्ष तथा प्राध्यापक चन्द्रकला शर्माको छ ।

4

यस कोर्स अध्ययन गर्नका लागि कम्तीमा पनि स्टाफ नर्स पढिसकेर दुई वर्ष कुनै पनि अस्पतालमा काम गरेको हुनुपर्नेछ । यस किसिमको  कोर्सले नर्सलाई एउटै विषयमा विज्ञ त बनाउँछ नै साथसाथै मातृशिशु क्षेत्रमा काम गर्दा भइपरि आउने जोखिमबाट पनि आमा तथा बच्चा सुरक्षित हुने उनको विचार छ । स्वास्थ्यकर्मीको सानातिना कमीकमजोरीका कारण आमा र बच्चाको ज्यानै जोखिममा पर्न सक्छ । फेरि सम्बन्धित विषयमा विशेष कार्यदक्षता भएको स्टाफ नर्ससँग काम गर्दा डाक्टरलाई पनि मद्दत मिल्ने प्राध्यापक शर्माको तर्क छ । 
देशका जिल्लामा हुने मातृमृत्युदर घटाउनका लागि नेपाल सरकार स्वस्थ्य मन्त्रालयकै नीतिमा हाल मिडवाइफ्री कार्यक्रमलाई समावेश गरिएको छ । यस किसिमको कार्यक्रम सञ्चालन गरी नेपाल सरकारले जिल्ला–जिल्लामा दरबन्दी कायम गरी मिडवाइफ्रीलाई गाउँ–गाउमा पुर्याउन सके मातृमृत्युदर कम गर्न उल्लेख्य भूमिका खेल्न सकिन्छ । 

विश्वविद्यालयहरूलाई पनि अनुमति 
nursing council 

नेपाल नर्सिङ परिषद्ले मिडवाइफ्री कार्यक्रम सञ्चालनमा विभिन्न विश्वविद्यालयलाई अनुमति दिएकोे छ । राजधानीको होटल र्याडिसन मा साउन २३ गते एक कार्यक्रमको आयोजना गरी परिषद्ले उक्त जानकारी दिएको हो ।
 यस कार्यक्रम सञ्चालन भएपश्चात् नेपालमा आमा र बच्चाको सेवामा टेवा पुर्याउने आशा  गरिएको छ । साथै नेपालका विभिन्न अस्पतालमा मिडवाइफ्री कार्यकक्रम सञ्चालित ठाउँमा अनुगमन गरी नर्सिङ परिषद्को मापदण्डअनुरूप कार्यक्रम सञ्चालन गर्ने अनुमति पनि दिन सक्नेछ ।  
हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान  (वीर अस्पताल),  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौं विश्वविद्यालयले उक्त कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका छन्  । 
SONY DSC

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव र योजना विभाग प्रमुख महेन्द्र बहादुर श्रेष्ठ, कानुन सल्लाहकार, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा, उपाध्यक्ष ईश्वरी खनाल, रजिष्ट्रार लक्ष्मी राई, युएनएफ पिएका प्रतिनिधि, डब्लुएचओका प्रतिनिधि, मिडवाइफ्री कमिटीकी कोओअर्डिनेटर प्रमिला देवान, एजुकेसन नेपाल नर्सिङ परिषद्का सदस्यहरू तारा पोखरेल, रत्न गुरागाईं, विन्दा घिमिरे, भारती भेटवाल, नीरा पाण्डे, शान्ता राई, वसन्ती थापा, निता ताम्राकार, राधिका रेग्मी, रामसिंह धामीलगायत नेपाल नर्सिङ परिषद्का सम्पुर्ण सदस्यको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री