शनिबार, १५ वैशाख २०८१

उद्यमशीलताका लागि बीमा नै सबैभन्दा ठूलो लगानी हो 

समयपोष्ट २०७३ भदौ १७ गते ४:०६

गत वर्ष भूकम्प, तराई आन्दोलनलगायतका घटना भए त्यसले बीमा क्षेत्रलाई कत्तिको प्रभाव पार्यो ? 
गत वर्षको भूकम्प हाम्रो जीवनकै त्रासदी थियो । यसले सम्पूर्ण नेपाली र नेपालप्रति आस्था राख्ने सबैलाई प्रभाव पार्यो । त्यसबाट बीमा उद्योग पनि अछुतो रहने कुरा भएन । गोरखा भूकम्पले ठूलो आर्थिक क्षति गर्यो, त्यसमा पनि बीमा उद्योगमा त्यसले ठूलो प्रभाव पार्यो । हामीकहाँ करिब–करिब अठार हजार दाबी जानकारीमा आएका थिए । अठार अर्ब रुपैयाँको अनुमानित दायित्वको जानकारी आएको थियो । अठार अर्बको दायित्व बीमा कम्पनीले फछ्र्यौट गर्न सक्छन् कि सक्दैनन् भन्नेमा बीमाकै सामथ्र्यमामाथि प्रश्न उठिरहेको अवस्थामा बीमा अप्ठेरो दिनबाट गुज्रिएकै हो । तर, सम्पूर्ण बीमा कम्पनीले आफ्नो जोखिमको पुनर्बीमा गरेका हुन्छन् । पुनर्बीमकले पनि सदासयता देखाए र बीमा कम्पनीले आफ्नो दायित्व सकेसम्म समयमै फछ्र्यौट गर्न सकून् भनेर पेस्की पनि उपलब्ध गराए । त्यही पेस्की र आफ्नै आन्तरिक स्रोतले कम्पनीले दाबी फछ्र्यौट गरे । 
आजको दिनमा नब्बे प्रतिशतभन्दा बढी दाबी फछ्र्यौट भइसकेको छ । बीमा कम्पनी प्रभावित त भए तर त्यसको सफल ब्यवस्थापन पनि गरे । त्यसले गर्दा बीमकप्रति आमजनताको विश्वास एक्कासि बढेर आयो । अहिले ब्यवसायमा जे जति अभिवृद्धि भएको छ त्यसको प्रमुख कारण मध्य बीमा कम्पनीले गोरखा भूकम्पबाट सिर्जित दाबीको सफल व्यवस्थापन गरेको कारण पनि हो । 
बाँकी दाबी के कारणले गर्दा रोकिएको छ ?
केही दाबीको हकमा विवाद पनि हुन सक्छ । केही दाबीको प्रतिवेदन पनि आउन बाँकी छ । केही दाबी अलि जटिल किसिमका भएको हुनाले तिनको मूल्यांकन पनि नभएको अवस्था छ । अब एघार सय जति दाबी बाँकी छन् । तिनीहरू यसैको सेरोफेरोमा रहेको अवस्था हो । केही दाबीको सम्पूर्ण क्षतिको मूल्यांकन भइसकेको छैन । मिडियामा पनि आएको र धेरै मानिसले पनि सुनेको के हो त भन्दा होराइजन अपार्टमेन्टको इन्स्योरेन्स धेरै कम्पनीसँग भएको छ । केही अपार्टमेन्ट हामीले पनि बीमा गरेका छौं र केही स्ट्रक्चरको एउटा बीमा कम्पनीले बीमा गरेर केही हिस्सा अरू कम्पनीलाई बेचेको अवस्था पनि छ । तर, एउटा ठूलो क्लाइन्टको दाबी अड्किनेबित्तिक्कै त्यसले २५औं अरू दाबीलाई प्रभाव पारेको हुन्छ । त्यसैले कुनै विवाद भएर होइन कि कुनै प्रक्रियागत कारणले केही याक्ससेप्सनल केसमा गरेको दाबी मूल्यांकनमा चित्त नबुझेको कारणले गर्दा ढिलो भएको हो । तर, मलाई के लाग्छ भने अब गोरखा भूकम्पको दाबी आउने कुरो भएन । अनुमानित दाबी क्रमशः न्यून हुँदै गइरहेको छ । 
bijay bahadur saha 1

Advertisement

दाबी भुक्तानीको अवस्थाबाट तपाईं आफू कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म असाध्यै सन्तुष्ट छु । संसारमा यस्ता किसिमका महाप्रलय आउँदा दाबी भुक्तानी गर्न जति समय लगाउँछन्, त्योभन्दा धेरै छिटो नेपालमा हामीले सम्पन्न गर्न सक्यौं । उदाहरणका लागि पाँच वर्ष अगाडि थाइल्यान्डमा बाढी आएको थियो । त्यसका दाबी अझै बाँकी छन् । भारतमै पनि कास्मिरमा बाढी आयो, त्यसका दाबी बाँकी नै छन् तर नेपालमा हामीसँग पर्याप्त साधन, स्रोत नहुँदा नहुँदै पनि बीमा कम्पनीले जुन किसिमको सक्रियता देखाए, बीमा समितिले जसरी सहजीकरण गरिदियो । सबै मिलेर यो राष्ट्रिय विपत्तिबाट पीडित व्यक्तिलाई पालबाट सुरक्षित बासतर्फ लैजान सक्यौं, त्यसले हाम्रो उद्योगको साख वृद्धि भएको छ । हामीले आफ्नो व्यवसायका साथसाथै हाम्रो समाज र देशप्रति कर्तव्य निर्वाह गर्छौं भन्ने भावना राखेर जसरी स्वस्फूर्त रूपमा बीमा कम्पनीले दाबी फछ्र्यौट गर्न लागे त्यसको सराहना जति गरे पनि कमै हुन्छ । 
भूकम्पपछि बीमा कम्पनी डुब्छन् भन्ने हल्ला थियो । तपाईंले भन्नुभयो ३४ प्रतिशतले वृद्धि भयो । यो कसरी सम्भव भयो ?
भूकम्पपछि धेरै दाबी हामीले त्यस्तो पार्यौं, जहाँ व्यापक मात्रामा अन्डर इन्स्योरेन्स भएको थियो । अन्डर इन्स्योरेन्स भनेको यस्तो सम्पत्ति जुन बैंक, वित्तीय संस्थाबाट ऋण लिएर घर, उद्योग, होटल बनाइएको हुन्छ । त्यो ऋण लिने सन्दर्भमा जति ऋण लिएको हुन्छ त्यति नै बैंकले ऋण दिँदैन । त्यसको केही अंशमात्र दिन्छ । बीमा गर्दा बैंकको ऋण रकमको मात्र बीमा गरिएको रहेछ । त्यसले गर्दा धेरै अन्डर इन्स्योरेन्स भएको रहेछ । जब क्षति भइसकेपछि उहाँहरूले त्यही अनुपातमा क्षतिको भुक्तानी पाउनुभयो । एउटा ठूलो पाठ सबैलाई के भयो भने अन्डर इन्स्योरेन्स गर्नुहुँदैन रहेछ भन्ने भयो । त्यसैले बैंक वित्तीय संस्थाले पनि अब अन्डर इस्स्योरेन्स नगराउने भनेर लाग्नुभयो । ग्राहकले पनि मैले जति बीमा गर्छु, त्यसकै दामासायीले पाउने रहेछु, त्यसकारण एउटा सानो रकम बचाउन यति ठूलो जोखिम किन भनेर ग्राहक पनि शिक्षित हुनुभयो । त्यसले गर्दा व्यवसायमा ठूलो अभिवृद्धि भयो । तर, कुनै एउटा घटनाले ट्रिगरको काम गर्दोरहेछ । बुस्टरको काम गर्दोरहेछ । त्यसले गर्दा अग्नि बीमामात्र होइन अरू बीमामा पनि यो जोखिम हस्तान्तरण गर्नुपर्ने चीज हो । प्रिमियमको दर असाध्यै न्यून छ । यो जोखिम हस्तान्तरण गर्न सक्छौंभने किन नगर्ने भन्ने एककिसिमको जुन जनचेतनामा वृद्धि भयो, त्यसले बीमामा असाध्यै ठूलो सहयोग पुर्यायो । त्यसैको परिणाम हो यो । 
भनेपछि यो भूकम्पले बीमा कम्पनीलाई फाइदै भयो ?
भूकम्पले बीमा कम्पनीले फाइदा भयोभन्दा पनि भूकम्पले बीमाबारे एक्कासि जनचेतना अभिवृद्धि गर्यो । सरकार, विद्यालय, बीमा कम्पनी, बीमा कम्पनीका नियामक निकाय सबै लागेर पचासौं वर्ष लगाएर बीमाको प्रचार–प्रसार गरेर पनि जुन चेतना अभिवृद्धि गर्न सकिरहेका थिएनन् । गोरखा भूकम्पले सबैलाई एकैचोटि ठूलो पाठ सिकाइदियो । 
बीमा सञ्चालनका मुख्य चुनौती के–के हुन् ?
यसको मुख्य चुनौती भनेको प्रविधि हो । आजको दिनमा धेरै व्यवसाय परम्परागत हिसाबमा गरेका छौं। सबैभन्दा ठूलो नयाँ–नयाँ प्रविधि ल्याउने, त्यसलाई आत्मसात् गर्दै प्रविधिलाई लेबोरेज गर्दै बीमाको पहुँचमा अभिवृद्धि गर्ने प्रमुख चुनौती हो । हामीकहाँ आजको दिनसम्म पनि बीमाको पहुँच करिब–करिब सात प्रतिशत जति जनसंख्यासँग मात्रै छ । त्यसैले बीमाको पहुँच अभिवृद्धि गर्नका लागि व्यापक जनचेतना अभिवृद्धि कार्यक्रम चलाउनुपर्छ । त्यो कुनै एउटा कम्पनी या कुनै संघ–संस्थाले मात्रै गर्न सक्दैन । यो राज्यकै प्रमुख प्राथमिकतामा पर्नुपर्छ । जबसम्म हामीले जोखिम हस्तान्तरण गर्न सक्ने उपायबारे बुझाउँदैनौ, तबसम्म यो देशमा उद्यमीको विकास न्यून गतिमा हुन्छ । जसले त्यो बुझेका हुन्छन्, उनीहरू सफल उद्यमी हुन्छन्, जसले बुझेका हुँदैनन् । उनीहरूले सबै जोखिम आफैं लिन्छन् । त्यसैले यो देशमा उद्यमशीलता विकास गर्ने हो भने बीमाको व्यापक प्रचार–प्रसार गरिनुपर्छ ।

उदाहरणका लागि पशु बीमा गर्दा कसैसँग एक लाख रुपैयाँ गोजीमा छ भन्यो भने उसले एउटा गाई किन्न सक्छ । त्यो गाई मर्नबित्तिकै उसको जहाजै डुब्छ । तर, कसैसँग त्यही एक लाख रुपैयाँ छ र गाईको पनि बीमा हुन्छ भन्ने बुझ्यो भने उसले बैंक, वित्तीय संस्थाबाट चार गाई किन्न सक्छ । यो भनेको एक लाख रुपैयाँ उसको सिटमुनि हुन्छ बाँकी तीन लाख रुपैयाँ बैंकले उसलाई ऋण दिन्छ । कुनै भवितव्य पर्यो भने बीमा कम्पनीले त्यसको नब्बे प्रतिशतसम्म बैंकलाई भुक्तानी दिन्छन् । एउटा गाई पाल्यो भने त्यो गाईको दूध आफैं खाला या उसलाई तुलनात्मक रूपमा फाइदा नहोला । तर, उसले चार गाई पाल्यो भने तीनवटा गाईको शतप्रतिशत दूध बजारमा लैजान्छ । एउटा गाईको बचेको दूध पनि लैजान्छ । त्यसले उसको आयआर्जन एकको चार होइन कि एकको दस हुन्छ । किनभने पहिलो गाईको त केही सानो अंशमात्र न उसले बजारमा लैजान्थ्यो । त्यही नै उद्यमशीलता हो । चार गाई हुनेबित्तिकै उसले बायोग्यास प्लान्ट राख्न सक्छ । आफ्नै घरमा उसको गोबर उत्पादन हुन्छ । बायोग्यास प्लान्ट राख्दा सम्भवतः स्वस्थबद्र्धक घरमा उसको खाना पाक्न सक्छ । चार गाईको मल करेसाबारीमा हाल्यो भने तरकारी उत्पादन गर्न सकिने भयो । भोलिको दिनमा चौथोमा दूध लिएर जाने मान्छे ग्यालेनमा दूध लिएर जान सक्छ । त्यतिमात्र होइन, उसले तरकारी पनि बिक्री गर्न लैजान सक्छ । यसरी नै उद्यमशीलता विकास हुन्छ ।

यदि उद्यमशीलता विकास गर्ने हो र यो देशको मुहार फेर्ने हो भने सबैभन्दा पहिले बीमाबारे व्यापक प्रचार–प्रसार हुनु जरुरी छ । दुर्भाग्यवश आजको दिनसम्म वित्तीय साक्षरता कार्यक्रमलगायत धेरै कुरा सुन्छौं, धेरै लगानी पनि भएको छ तर वित्तीय साक्षरताकै कार्यक्रममा बीमालाई सौतेलो छोरोको व्यवहार गरिन्छ । यसको शक्तिबारे व्यापक प्रचार–प्रसार गर्नुपर्छ । यसमा राष्ट्रले कन्जुस्याइँ गर्नुहुँदैन । उद्यमशीलताका लागि बीमा नै सबैभन्दा ठूलो लगानी हो । 
बीमा साक्षरता बढाउनका लागि तपाईंहरूको संघबाट कुनै योजना बनाउनुभएको छ ?
यस वर्षको बजेटमा आर्थिक वर्ष २०७३,०७४ को बजेटमा लघुबीमाले सेल गर्नुपर्ने र आफ्नो कुल व्यवसायको पाँच प्रतिशत लघुबीमाबाट जेनेरेट गर्नुपर्ने भन्ने आएको छ । त्यो पोलिसी स्टेटमेन्ट कत्तिको रियालिस्टिक छ । त्यो समयले बताउँछ तर बीमा कम्पनी व्यापारिक संस्था भएको कारणले गर्दा बीमा कम्पनीले निश्चय पनि आफ्नो व्यवसाय अभिवृद्धि गर्न, अरू नपुगेको ठाउँमा आफ्नो उपस्थिति जनाउन चाहन्छन् । तर, सत्य के हो भने त्यो कमर्सियल्ली भायबल छ कि छैन त्यो हेर्नुपर्छ । बीमामा प्रविधिको प्रयोग अत्यन्तै कम छ । त्यो फाइनान्सियल्ली, कर्मसियल्ली भायबल त्यति बेला हुन्छ, जब हामीले प्रविधि प्रयोग गर्छौं । होइन भने सय रुपैयाँको प्रिमियम लगाउनका लागि मैले मान्छे पठाउनुपर्यो भने त्यो इकोनोमिकल्ली फिजियबल नहोला । तर, यो बजेटले के अब बीमा कम्पनी मासमा जानुपर्छ भन्ने जुन अवधारणा ल्याएको छ । त्यसलाई बीमा कम्पनीले गहन तरिकाले सोचिरहेको अवस्था छ । त्यसैले निकट भविष्यमा त्यस्ता प्रडक्ट पनि आउँछन् जो रुलर माससम्म पुग्न सकून् । 
bijayआजको दिनमा आमनेपालीले सबैभन्दा बढी शिक्षा र स्वास्थ्यमा खर्च गर्छ । भोलि एउटा मान्छे बिरामी भयो भने उसको वर्षभरिको ब्यालेन्स डिसब्यालेन्स हुने अवस्था छ । त्यस्तो अवस्थाबाट जोगिनका लागि बीमा नै एउटा भरपर्दो उपाय हो किनभने बीमाले धेरैजनासँग पैसा उठाउँछ र जसलाई अप्ठेरो पर्छ उसलाई दिन्छ । जुन बेला स्वास्थ्य बीमाको कुरा आयो त्यतिबेला हामी असाध्यै उत्साहित थियौं । बीमाले यो गर्न पाए केही समयपश्चात् आमनेपालीको आधारभूत स्वास्थ्य बीमा हुन्छ भन्ने हामीलाई लागेको थियो तर सरकारले यसपटक हामी आफैं गर्छौं भनेर पर्ख र हेरको नीति लिएको छ । हिजोसम्म सरकारका कर्मचारीको निवृत्तिभरण आफै तिर्नुपथ्र्यो, पेन्सन आफैं तिनुपथ्र्याे आजको दिनमा उहाँहरूले नै पटक–पटक भनिरहेको अवस्था छ । निवृत्तिभरण अब हाम्रो काबुभन्दा बाहिर जान थाल्यो । त्यसकारण यो कन्ट्रिब्युट, पार्टिसिपेटरी हुनुपर्छ र कुनै फाइनान्सियल प्रडक्ट आयो भने त्यसकोमार्फत यसलाई हस्तान्तरण गर्नुपर्छ भन्ने सोच आइरहेको छ । हामीकहाँ सोच ढिलो आउँछ । त्यस्तै भोलिको दिनमा सरकारले स्वास्थ्य बीमा आफैं गर्छु भन्यो भने त्यो थेग्न नसक्ने अवस्था नआओस् । किनभने यसको प्रपर डाटा बेस हुनुपर्छ । त्यसको मनिटरिङ हुनुपर्छ । रिस्क ट्रान्सफर गर्ने मेकानिजम भयो भने आफ्नो दायित्व सीमित पार्न सकिन्छ । रिस्क ट्रान्सफर गर्ने मेकानिजम भएन भने त्यो नहुन सक्छ । त्यसैले चुनौती छन् । बीमाको बजार बढ्दोक्रममा छ । कम्पनी उत्साहित छन् । कम्पनी थप लगानी गर्नका लागि पनि अभिप्रेरित छन् । हामीले राम्रो पहुँच बनाउनुपर्छ भन्ने लाग्छ । कम्पनी प्रविधिमा पनि लगानी गर्न तयार छन् । यसले खालि कसले लिड गर्ने भनेर कुरिरहेकोजस्तो मलाई लाग्छ । 
तपाईंहरूको पुँजी वृद्धिको कुरा कहाँ पुग्यो ? 
बीमा कम्पनीको पुँजी वृद्धि गर्नुपर्छ भनेर बीमा ऐनमा उल्लेख भएको छ । त्यो बीमा समितिबाट अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालय र कानुन मन्त्रालयबाट फेरि अर्थ मन्त्रालय र त्यसबाट सदनमा जाने हो । मलाई लाग्छ– बीमा समितिबाट अर्थ मन्त्रालयमा पुगिसकेको अवस्था छ । तर, अर्थ र कानुनबीचमा कतातिर अल्झिएको छ, मलाई थाहा छैन । बीमा कम्पनीले आफ्नो क्षमता अभिवृद्धि गर्दै लैजानुपर्छ । मैले हिजो जे काम गरेको थिएँ, त्यही काम म भोलि गर्छु भनेर लागें भने म सफल नहुन पनि सक्छु । मेरो कम्पनी पनि सफल हुँदैन । उद्योग पनि त्यही नै हो । त्यसैले बीमा कम्पनीले क्षमता अभिवृद्धि गर्ने परिप्रेक्ष्यमा आर्थिक वर्ष २०७१ –०७२ देखि जुन मुनाफा सेयर होल्डरलाई वितरण गरिन्थ्यो त्यो मुनाफा नगदका रूपमा होइन, बोनस सेयरका रूपमा वितरण गर्ने भनेर बीमा कम्पनीले हामीलाई निर्देशन दिएको छ । त्यहीअनुसार आर्थिक वर्ष २०७२–०७३ मा सम्पूर्ण कम्पनीले बोनस सेयर जारी गरे । मलाई लाग्छ– हुन त त्यो बीमा समितिले निर्णय लिने क्षेत्र हो तर पनि सम्भवतः आर्थिक वर्ष २०७२–०७३ को अकाउन्ट फाइनलाइज्ड गर्दा यो वर्ष पनि कन्टिन्यु हुन्छ कि भन्ने मेरो अपेक्षा हो । त्यसो भयो भने कम्पनीले आफ्नै आर्जनबाट क्रमशः चुक्ता पुँजी वृद्धि गर्दै लैजान्छन् । तर, होइन त्यो कम भयो त्यसलाई अलिकति वृद्धि गर्दै लैजानुपर्छ भन्ने किसिमको नियामक निकायबाट निर्देशन आयो भने सम्बन्धित कम्पनी आ–आफू बसेर रणनीति बनाउलान् । आफ्नो सार्मथ्र्यभित्र भयो भने आफैंले पुर्याउलान् भएन भने दुई÷तीनवटा मिल्लान् । त्यसैले त्यो कति हुन्छ भन्ने निक्र्याैल नभएको हुनाले आजको दिनसम्म अन्योल छ । तर, चुक्ता पुँजी क्रमशः वृद्धि गर्दै लैजानुपर्छ भन्नेमा कम्पनी धेर–थोर कन्भिन्स भएको मैले पाएको छु । 
पुँजी वृद्धि कत्तिको औचित्यपूर्ण छ ?
पुँजी वृद्धि कत्ति हुने भन्ने कुरा महत्वपूर्ण कुरा हो । अहिले हाम्रो पच्चीस करोड छ । पच्चीस करोडबाट कति हुनुपर्ने हो, त्यो निक्र्यौल नभएसम्म औचित्य छ कि छैन भन्न अप्ठेरो छ । आजको दिनसम्म जे–जति सुझाव गएका छन्, तिनीहरू अपरिवर्तनीय होइनन् । तिनीहरू अपरिवर्तनीय भएको भए यो ठीक या बेठीक भनेर भ्यु दिनुहुन्थ्यो । आजको दिनमा तिनीहरू सुधारक्रममा भएको हुँदा म यसै भन्न सक्दिनँ । तर, बीमाको सौन्दर्य भनेको हामीले आफूले बोक्न सक्ने जति जोखिम बोक्छौ र आफूले बोक्न नसक्ने जोखिम पुनर्बीमा गरेर हस्तान्तरण गर्छौं । यदि पुँजी धेरै भयो भने कम्पनीले पुनर्बीमालाई कम देलान् । यदि पुँजी कम भयो भने धेरै ट्रान्सफर गर्छन् । त्यसैले यो प्रकृया चलिराख्छ । 
एनएलजी इन्योरेन्सको अवस्था कस्तो छ ?
समष्टिगत रूपमा भन्नुपर्दा एनएलजीको अवस्था असाध्यै राम्रो छ । हामी निकै उत्साहित छौं। भर्खरैमात्र हामीले आर्थिक वर्ष २०७२–०७३ को हिसाब क्लोज गर्यौं । कुल बीमा शुल्क १ सय २१ करोड रुपैयाँ जम्मा गरेर बजारमा टप लाइनको हिसाबमा दुई नम्बरमा रहेको देखियो । त्यसबाट व्यवसायमा हुने मुनाफामा त्योभन्दा पनि माथि जान सकिने देखियो । एनएलजी यही बीमा उद्योगको एक्टिभ प्येलयर भएको हुनाले हामी पनि उत्साहित छौं। 
कम्पनीले लगातार आफ्ना सेयरधनीलाई कर कटाइसकेपछि बीस प्रतिशतको दरले लाभांश दिइराखेको छ । कम्पनीले आफ्ना विवरण ट्रान्सप्यारेन्ट रूपमा राखिराखेको छ । भर्खरैमात्र हामीलाई नेपाल चार्टर एकाउन्टेन्ट इन्स्टिच्युटले बेस्ट प्रेजेन्टेड अकोन्ट भनेर पुरस्कार पनि दिएको छ । बीमामा हामीले मात्र पायौं र गत वर्ष पनि हामीलाई यहप् पुरस्कार प्राप्त भएको थियो । गत वर्ष नै त्यही प्रतिवेदनलाई सार्कस्तरीय हाम्रो एउटा संस्था छ– साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट । त्यसले हामीलाई सर्टिफिकेट अफ मेरिट पनि प्रदान गरेको छ । हामीले निरन्तर रूपमा एकपछि अर्को माइलस्टोन अचिभ गरिराखेका छौं। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री