बुधबार, १२ वैशाख २०८१

‘बूढी पोल्ने’ पर्व आज मनाइँदै , पर्वबारे यस्ता छन् रोचक कुरा

समयपोष्ट २०७४ असोज १ गते ६:१०

सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ । 

Advertisement

विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पं दयाकृष्ण पन्तले बताए । 

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको भनाइ छ । सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । 

ओल्के संक्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन् । दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छ । गाई गोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन् । दोबाटामा जलाइएको पुतनाको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ । 

ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका अलिक उँचो टाकुरामा सबै मिलेर रूखका हाँगाबिगा, झ््याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । सो थुप्रालाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ । सो बूढीलाई नै आज असोज संक्रान्तिका दिन साँझ प्रत्येक घरघरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ । 

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटामा लगेर जलाउने गरिन्छ । गोठालाहरुसाँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने गर्छन् । 

त्यस्तै बूढी पोलेर घर फर्किने क्रममा बाटा बाटामा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री