शनिबार, १५ वैशाख २०८१

एकवर्षमा लोडसेडिङ अन्त्य गर्ने दाबी ‘हावा गफ’ – उर्जामन्त्री शर्मा

समयपोष्ट २०७३ भदौ १६ गते ४:४८

उर्जामन्त्री जनार्दन शर्माले तीन वर्ष अगाडि लोडसेडिङ अन्त्य गर्न सम्भव नरहेको बताएका छन् । अघिल्लो सरकारले नौ महिना पहिले एक वर्षभित्र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्ने दाबी गरेकामा उर्जामन्त्री शर्माले त्यो दाबी हावादारी र सस्तो प्रचारबाजी मात्र भएको बताएका हुन् ।

Advertisement

अघिल्लो सरकारले एक वर्षभित्र लोडसेडिङ अन्त्यको दाबी गर्दा उर्जा मन्त्रालय नेकपा माओवादी केन्द्रले नै सम्हालेको थियो । तर उर्जामन्त्री शर्माले भने दिनको १२ घण्टाका दरले काम गरे लोडसेडिङ अन्त्य गर्न तीन वर्ष लाग्ने अन्यथा त्यो पनि सम्भव नरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले उर्जा क्षेत्रका समस्याबारे छलफलका लागि बुधबार काठमाडौमा गरेको अन्तक्र्रियामा उर्जामन्त्री शर्माले सरकार र निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको काम निकै सुस्त रहेको तर विद्युतको माग भने दिनहुँ बढिरहेको अवस्थामा प्रचार गरिए जसरी लोडसेडिङ हटाउन सम्भव नरहेको बताए ।
उर्जामन्त्री शर्माले लोडसेडिङ अन्त्यका लागि जलविद्युतका नयाँ आयोजना सुरु गर्न आवश्यक रहेको भन्दै लगानीका लागि निजी क्षेत्रसँग आग्रह गरे । उनले लगानीकर्ताहरुले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै पीपीए र विद्युत खरिद् दरका बारेमा आफूले अहिले कुनै प्रतिक्रिया नदिने बताए ।
उर्जामन्त्री शर्माले कतिपय उद्योगी व्यवसायीहरुले विद्युत प्राधिकरणका कर्मचारीलाई प्रभावमा पारेर विद्युत चोरी गरिरहेको भन्दै अब चोरीका सबै लाइन काट्ने र चोरीमा संलग्नको उजुरी सुनुवाई नगर्ने बताए ।
अन्तक्र्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उर्जाको अभावमा उद्योगी व्यवसायीहरुले भोग्दै आएका समस्याबारेमा जानकारी गराएका थिए । उनले त्यसक्रममा विद्युत प्राधिकरणले भनेको भन्दा कम विद्युत दिएर उपभोक्ताहरुलाई ठगी गरिरहेको बताए ।
अन्तक्र्रियामा सहभागी उद्योगी व्यवसायीहरुले बजार प्रतिस्पर्धी भएकाले विद्युत वितरणमा जिल्ला अनुसार विभेद नगर्न मन्त्री शर्मासँग आग्रह गरे । उद्योगी व्यवसायीहरुले विद्युत प्राधिकरणले वितरण गर्ने कुल विद्युतको ४० प्रतिशत उपभोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री