बिहीबार, १५ चैत २०८०

किवीमा किसानको जाँगर

rss २०७६ भदौ २५ गते १४:४९

Advertisement

किरण पौड्याल
केही वर्ष अघिदेखि सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी नदिएपछि तारामणिले वाक्क भएर खेतीको विकल्प खोज्नुभएको हो ।

लेकको बारी भएकाले पराम्परागत खेती चट्ट छाड्न पनि उहाँलाई गा¥हो छ । “उहिल्यैदेखि लगाइआएको खेती बिगारेर किवी खेती गरेर के फाइदा ?” भन्ने कुरा पनि धेरै सुन्नुप¥यो उहाँले । तर, पनि मकै र आलु खेतीले वाक्क हुनुभएका तारामणिको नयाँ बाली लगाउने सोच भने परिवर्तन भएन ।

उहाँले केही वर्षयतादेखि बारीमा किवी खेती गर्नुभएको छ । शुरुका वर्षमा राम्रो आम्दानी नदिए पनि अहिले भने किवीले उल्लेखनीय आम्दानी दिइरहेको छ उहाँलाई । कम समय र कम खर्चमा राम्रो आम्दानी हुने बुझेपछि उहाँले आफ्नो बारीको धेरै क्षेत्रमा यही खेती गर्नुभएको छ । “केही वर्षसम्म धान, मकै र कोदोको मात्र उत्पादन हुन्थ्यो, त्यति आम्दानीले बचत त के खान समेत राम्ररी पुग्दैनथ्यो,” खतिवडाले भन्नुभयो – “तर, अहिले किवीका कारण खान मात्रै होइन, आम्दानी पनि भएको छ । छोराछोरी पढाउन पनि सहज भएको छ ।”

इलाममा सबैभन्दा पहिले किवीको खेती गर्ने व्यक्ति नै उहाँ हुनुहुन्छ । आज भन्दा छ वर्ष अघि मात्र तारामणिले काठमाडौँबाट बिरुवा ल्याएर किवीको खेती गर्न शुरु गर्नुभएको हो । त्यही किवी नै अहिले जिल्लाभर फैलिएको छ भने धेरैको कमाइ खाने भाँडो पनि किवी नै बनेको छ ।

गाउँको नाम नै किवी बस्ती

अहिले त तारामणिले मात्र होइन गाउँभर किवीकै खेती गरिन्छ । तारामणिकै खेती शैली अपनाएका छिमेकीका कारण अहिले सबैको घरमा किवी खेती हुने गरेको छ । रोचक कुरा त के छ भने सुलुबुङको यो ताल गाउँको नाम समेत फेरिएको छ । गाउँको नाम नै अहिले ‘किवी बस्ती’ भइसकेको छ ।

तारामणिका अनुसार किवी बस्तीका मात्रै ६० परिवारले अहिले व्यावसायिक किवी खेती गर्दैआएका छन् । “हाम्रो यो क्षेत्रबाट मात्रै वार्षिक २५ देखि ३० हजार किलो किवी उत्पादन हुन्छ,” तारामणिले भन्नुभयो – “अबको दुईदेखि तीन वर्षमा यहाँ तेब्बरले किवी उत्पादन बढ्छ ।”

यस्तै, किवी बस्तीकै अर्का किसान गोपाल खतिवडाका अनुसार पाखो र रुखो क्षेत्रमा पनि किवीको खेती गर्न सकिने भएकाले अधिकतर किसान किवीतर्फ आकर्षित भएका छन् । “किवी भएका ठाउँमा त अन्य खेती पनि गर्न सकिन्छ,” गोपालले भन्नुभयो – “हामी किवी लगाएका ठाउँको बीच–बीचमा अलैँची, अदुवाको समेत खेती गरेका छौं ।”

उहाँका अनुसार दैनिक ४०० जति बिक्रेता किवी किन्न घरमै पुग्न थालेका छन् । उहाँले भन्नुभयो – “बजारको कुनै समस्या छैन, जति पनि बिक्न सक्छ । हाम्रो क्षेत्रको किवी त अत्यन्तै स्वादिलो र भिटामिन पनि हुने भएकाले हारालुछ हुन्छ ।” गोपालले घर वरपरको १० रोपनी जग्गामा किवी खेती गर्नुभएको छ । यस वर्ष मात्रै उहाँले पाँच हजार केजी किवी उत्पादन गर्नुभएको छ ।

किवी जोन घोषणा

अहिले प्रायः किसानले किवी खेती गर्न थालेपछि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका (केही वडा)लाई मिलाएर किवी जोन समेत घोषणा गरिएको छ । सरकारले यस क्षेत्रलाई जोन घोषणा गरेसँगै यहाँका किवी किसानमा पनि किवी खेतीप्रति उत्साह बढेको पाइएको छ । जोन स्थापना भएपछि किवीका प्रविधिज्ञ, बीउविजन र तालीमको समेत व्यवस्था हुने बुझेपछि यहाँका किसान खेती बढाउन लागिपरेका छन् ।

जोन स्थापना भएसँगै किवी खेतीको बजार अझै बढ्ने र खेतीमा समस्या नहुने विश्वास भएकाले खेती थप गर्दै लगेको सन्दकपुर गाउँपालिकास्थित माइमझुवाका किवी किसान पुरण गुरुङ बताउनुहुन्छ । निजी क्षेत्रको मात्र नभई सरकारी क्षेत्रको समेत किवीमा चासो बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “अहिले किवीमा समस्या भनेको खेती गर्ने प्रविधि, मलजलको जानकारी नहुनु र कोल्डस्टोरको समस्या नहुनु हो । यो समस्या पनि जोन निर्माण पछि हल हुन्छ होला ।” जोन कार्यक्रमले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गर्दैछ । किवीकै लागि १० वर्षे परियोजना यहाँ शुरु भएको हो । “किवीको प्राविधिक सीप, दक्षता, किवीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा जोनको कार्यक्रम केन्द्रित छ,” किवी जोनका इलामका अध्यक्ष देउकुमार राईले भन्नुभयो – “किवीको बजारीकरण र स्थानीयस्तरमै प्रशोधन गर्ने, प्रशोधन सिक्ने पनि परियोजनाको कार्यक्रम छ ।”

किवीको पकेट क्षेत्रका लागि १०, किवी ब्लकलाई १००, किवी जोनलाई ५०० र किवीको सुपर जोन घोषणा गर्न एक हजार हेक्टर क्षेत्र निर्धारण गरिएको छ । किवीलाई पनि अलैँची, अदुवा, अम्लिसो, अकबरे र चियाजस्तै व्यावसायिक बनाउन परियोजना सञ्चालन गरिएको हो ।
किवी जोनअन्तर्गत किवीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने कृषि प्राविधिक सहायक केशर मग्रातीको भनाइ छ । इलाममा प्रतिहेक्टर एक दशमलव ५३ मेट्रिक टन किवीको उत्पादकत्व रहेको छ ।

भाउ घटेर समस्या

केही वर्ष अघि किलोको ५०० रुपैयाँसम्म रहेको किवीको मूल्य अहिले सरदर २०० रुपैयाँ झरेपछि किसान केही त्रसित भएका छन् । उत्पादन बढ्दै जाँदा मूल्य कम भएर लागत नै नउठ्ने पो हो कि भन्ने त्रास किसानमा फैलिएको हो ।

“राम्रो भाउ पाइन्छ भनेर खेती गरियो तर, अहिले भने निकै घटेको छ,” सन्दकपुर गाउँपालिकास्थित माइमझुवाका किवी किसान सनतकुमार खतिवडाले भन्नुभयो – “तर, अहिलेसम्म त ठिकै छ । अरू खेतीको भन्दा राम्रो मूल्य हो ।” यता, किवीका अगुवा किसान तारामणि खतिवडा भने उत्पादन नभएको बेला धेरै भाउ आए पनि अहिले भने उचित मूल्य आएको बताउनुहुन्छ । उनले अब किवीको भाउ नघट्ने र घट्दा पनि त्यस्तो असर पर्ने किसिम नघट्ने जिकिर गर्नुभयो । “सबै किसानले राम्ररी किवी खेती गर्दा हुन्छ, हाम्रो क्षेत्रको अर्गानिक किवीको भाउ खासै घट्दैन,” उहाँले भन्नुभयो – “हाम्रो किवीको गुणस्तर राम्रो छ । त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो भाउ पाउन सकिन्छ ।”
जिल्लाका १५ हजार जति किसान किवी खेतीमा संलग्न रहेको तथ्याङ्क छ । समुद्री सतहबाट एक हजार २०० देखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किवी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौँ, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री