शुक्रबार, १४ वैशाख २०८१

नेपाल – भारत सहकार्यमा नयाँ युग : अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको समुद्घाटन

समयपोष्ट २०७६ भदौ २४ गते १५:४४

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा भारत–नेपाल अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको संयुक्त रुपमा आ–आफ्नो राजधानीबाट रिमोटद्वारा उद्घाटन गरिएको छ ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाका रुपमा रहेको यस ६९ किमी लामो पेट्रोलियम पाइपलाइन भारतको मोतहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको छ ।

सन् २०१४ अगस्टमा भएको सम्झौता अन्तर्गतको प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय आयल निगम लिमिटेडले नेपाल आयल निगम लिमिटेडसँगको सहकार्यमा ३२४ करोड भारतीय रुपैंया भन्दा बढीको लगानीमा उक्त पाइपलाइनको निर्माण गरेको हो ।

यी दुवै कम्पनीहरुले अमलेखगञ्ज डिपोमा थप भण्डारण सुविधाको निर्माण गरिरहेका छन् जसले नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई वृद्घि गर्नेछ । उक्त भण्डारण सुविधाको निर्माणका लागि नेपाल आयल निगम लिमिटेडलेअनुमानित रकम ७५ करोड भारतीय रुपैंया लगानी गर्ने प्रतिबद्घता जनाएको छ ।

नेपाल आयल निगम लिमिटेड र भारतीय आयल निगम लिमिटेड दुवैले वीरगञ्ज महानगरपालिका सडक विभाग, वातावरण तथा वन विभाग लगायत विभिन्न सरकारी विभागहरुसँग सहकार्य गरी काम गरेको छ ।

नेपालमा पेट्रोलियम पदार्थको, सुनिश्चित, निर्वाध, किफायती, गुणस्तरीय तथा वातावरण मैत्री आपूर्ति कायम गर्नका लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको परिकल्पना गरिएको हो ।

हाल भारतबाट नेपालतर्फ ट्याङ्कर÷ट्रकद्वारा विभिन्न १३ स्थानबाट  (७ इन्धन तथा ६ एलपिजी)  पेट्रोलियम पदार्थको ढुवानी भइरहेको छ । रक्सौल–वीरगञ्ज नेपाल र भारतबीचको सबैभन्दा प्रमुख व्यापारिक नाका हो ।

पाइपलाइनबाट इन्धनको आपूर्ति भएसँगै दुई देशबीचको व्यापारिकनाकाहरुमा ट्याङ्कर तथा ट्रकहरुको आवागमनमा कमी आउने अपेक्षा गरिएको छ । १० इन्च व्यास भएको उक्त पाइपलाइनको क्षमता प्रति वर्ष २ मिलियन मेट्रिक टन रहेको छ । भारतीय आयल निगम लिमिटेडबाट नेपाल आयल निगम लिमिटेडतर्फको आपूर्ति सन् १९७४ मा सुरु भएको हो । यस अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सञ्चालनले दुई देशबीच पेट्रोलियम पदार्थको क्षेत्रमा रहेको सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाएको छ ।

यस पाइपलाइनमा SCADA Tele-Supervisory System तथा चुहावट पत्ता लगाउने अत्याधुनिक प्रणाली जडान गरिएको छ । पाइपलाइनमा कुनै समस्या देखिएमा वा मर्मत गर्नुपरेमा सोको सूचना अमलेखगञ्ज डिपो लगायत कन्ट्रोल सेन्टरहरुले अप्टिक फाइबर केवलमार्फत प्राप्त गर्नेछन् ।

पाइपलाइनको सुरक्षाको सुनिश्चितताका लागि नेपाल सरकारले पाइपलाइनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । भारतीय आयल निगम लिमिटेडले नेपाल आयल निगम लिमिटेडका २५ भन्दा धेरै कर्मचारी तथा प्राविधिकहरुलाई पाइपलाइनको सञ्चालन तथा मर्मतका विषयमा तालिम पनि प्रदान गरेको छ । साथै भारतीय आयल निगम लिमिटेडले कमसेकम एक वर्षसम्म प्रत्यक्ष रुपमा सहयोग गर्नेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्२०१४ अगस्टमा भएको पहिलो औपचारिक नेपाल भ्रमणका क्रममा भारत तथा नेपालले पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण गर्ने घोषणा भएको थियो । नेपालका प्रधानमन्त्रीको सन् २०१८ अप्रिलमा भएको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले उक्त परियोजना निर्माणको संयुक्त रुपमा उद्घाटन गरेका थिए । यस परियोजनाको निर्माण तोकिएको निर्माण अवधिभन्दा पन्ध्र महिना अघि नै सम्पन्न भएको हो । ‘नेपाल र भारतबीचको द्विपक्षीय परियोजनाले द्विपक्षीय सहकार्यको नवीन युगलाई प्रतिबिम्बित गर्दछ’ -भारतीय दूताबासद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री