शुक्रबार, १६ चैत २०८०

नवलपरासीमा डेङ्गु नियन्त्रण अभियान

rss २०७६ भदौ २४ गते १३:२०

Advertisement

पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ । हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् ।जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् । स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि घर फर्किएका र परासीका अर्का एक व्यक्तिको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएलगत्तै नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्न लागिएको छ । छिमेकी जिल्ला रुपन्देही, नवलपुर, पाल्पालगायत जिल्लामा केही समय पहिलेदेखि नै डेङ्गुका बिरामी भेटिए पनि पश्चिम नवलपरासीमा हालै मात्र यसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डेङ्गु भेटिएकाले जिल्लामा जनचेतना तथा सरसफाइ अभियान सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो ।

“हालसम्म जिल्लामा तीनजना मात्र पीडित भेटिएकाले यसलाई फैलिन नदिन नियन्त्रण अभियान सञ्चालन गर्न सबै सरोकार निकायलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । स्थानीय तहका प्रमुखसहित सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सबै स्थानीय तहहरुले डेङ्गु रोग फैलिन नदिन सरसफाइको विशेष कार्यक्रम सञ्चालन गरिने, लामखुट्टेको बासस्थान र लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो ।यसका लागि सरकारी एवं निजी स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा क्रियाशील रेडक्रसलगायत सङ्घसंस्थाले पनि आवश्यक सहयोग गर्ने, स्वास्थ्य कार्यालयले डेङ्गु रोगको सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रोग नियन्त्रणका लागि कार्ययोजनासमेत तयार गरिने भएको छ ।

यसैगरी जिल्लामा डेङ्गु पीडितको तथ्याङ्क सङ्कलन गरी दैनिकरूपमा प्रतिवेदन पेश गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन गरिएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो । “देशैभर डेङ्गुको त्रास फैलिएकाले जिल्ला प्रशासनले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गर्न सक्रियता देखाएको हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री