शनिबार, १५ वैशाख २०८१

हिज्जेमा हमला : भाषा सिध्याउने खेल

समयपोष्ट २०७४ भदौ २२ गते ५:३९

पातलो ‘स’ को लहडबाजीमा दुई दशक भन्दा बढी समयसम्म आफ्नो नाम ‘तानासर्मा’ लेख्तै आएका, झर्रोवादका प्रखर अभियन्ता डा. तारानाथ शर्मा अकस्मात् ‘शर्मा’ मा किन फर्किनुभयो, धेरैलाई थाहा थिएन । २०६९ वैशाख २१ गते ‘नेकशुले–२०६९’ को घोषणा कार्यक्रममा बडो निश्छलताका साथ उहाँले आफ्नो कहानी सुनाउनुभयो— ‘म त झर्रोवादी भइटोपलेर ‘तानासर्मा’ लेखिरहेको थिएँ; पछि पो थाहा पाएँ, पातलो स भएको ‘सर्मा’ त कुकुर्नीको नाम पो हुँदोरहेछ । त्यसपछि त म ‘सर्मा’ छोडेर ‘शर्मा’ तिर आइहालें नि !’

Advertisement

‘सर्मा’ कै मेसोमा, राजा वीरेन्द्रको शासनकालमा, विश्वविद्यालयमा ह्रस्ववादी उन्माद लादिएको थियो । त्यसले तिनै वीरेन्द्रको ‘नेपाललाई शान्तिक्षेत्र (पीस जोन) घोषित गरियोस्’ भन्ने महत्वाकांक्षी प्रस्तावलाई ‘पिस जोन’ (पिसाब फेर्ने ठाउँ) को प्रस्तावमा परिणत गरिदियो । सोचिहेर्नोस् त, पंच नेताहरूले ‘नेपाललाई पिस जोनको मान्यता दिइयोस्’ भनेर विदेशीहरू सामु आग्रह गर्दा उनीहरू मनमनै कति हाँस्थे होलान् ? 

‘बुझ्दो न सुझ्दो, टुँडिखेलतिर कुद्दो’ को पारामा हिज्जेलाई चलाउँदा त्यसले यस्तै लाजमर्दो अवस्थामा पुर्याई दिन्छ । के बिग्रियो भन्ने तत्काल थाहा नहुन पनि सक्छ । डा. तारानाथ शर्मा त स्वयं सत्यान्वेषी भाषासाधक भएकाले तैबरु अढाइ दशक भित्रै आÏनो नामको सत्यानाश भइरहेको थाहा पाउन र भूलसुधार गर्न सफल हुनुभयो । अरूलाई त यस्तो कुरा थाहा पाउन पाँच दशकमा पनि सम्भव नहुन सक्छ । थाहा पाउँदासम्म कुरो बिग्रिसकेको हुन्छ— सुधार्न, सम्हाल्न नसकिने गरी । 

भाषा यसका प्रयोगकर्ताले निर्माण गर्छन् र भाषाका सम्पूर्ण नियम–कानून त्यही प्रयोगभित्र अन्तर्निहित हुन्छन् । व्याकरणकारको काम शिष्टपरम्परा एवम् लोकव्यवहारबाट स्थापित शब्द र तिनको हिज्जेलाई जड सूत्रहरूको हवाला दिंदै अवैध घोषित गर्ने होइन, तिनको सम्मान गर्ने र त्यस्तो शब्द वा हिज्जे कसरी बन्यो त भनेर त्यसको व्युत्पत्ति देखाइदिने हो । भाषाशास्त्रीको काम मानवीय भाषाको वैज्ञानिक अध्ययन गर्ने हो । भाषा शिक्षकको काम निर्धारित पाठ्यवस्तुलाई निर्धारित प्रक्रिया अन्तर्गत विद्यार्थीको दिमागसम्म पु¥याउने हो । उनीहरूको अधिकतम सीमा त्यही हो । त्यसलाई नाघेर वर्णहरूको संहार गर्ने, प्रचलित शब्दलाई अवैध घोषित गर्ने, हजारौं शब्दको हिज्जे एकमुष्ट फेरबदल गर्ने अधिकार उनीहरूलाई हुँदैन । यस्तो अधिकार कुनै संस्था, विश्वविद्यालय, एकेडेमी, सरकार, संसद आदिलाई पनि हु“दैन । न एक्लै, न त संयुक्त वा सर्वसम्मत रूपमा नै । 

संसारभरिका व्याकरणकार र भाषाशास्त्रीले यो मान्यता आत्मसात् गर्दै आएका छन् । कहीं नभएको जात्रा हाँडीगाउँमा भनेझैं हामीकहाँ मात्र कतिपय कथित व्याकरणकार र भाषाशास्त्रीहरू यसको ठीक उल्टो बाटोमा हिंडिरहेका छन् । राज्यशक्तिको आडमा शब्द र हिज्जेमाथि निरंकुश आक्रमण गर्नु अनि भाषालाई संकुचित, कमजोर, असहिष्णु र अनुदार बनाउँदै लैजानु उनीहरूको साझा धन्दा बन्न पुगेको छ ।

शब्दमाथि हमला
भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, शुद्ध–स्वाभाविक शब्दहरूको हिज्जेमाथि एकमुष्ट हमला गर्ने काम दुनियाँको कुनै पनि जीवन्त भाषामा हुँदैन । स्वीकारिंदैन । हामीकहाँ भने बारम्बार यही मात्र हुने गरेको छ । सर्वप्रथम उर्दी जारी गरियो— संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै लेख तर अन्य भाषाबाट आएका त्यस्तै शब्दमा चाहिं शुरू र बीचमा रहेको दीर्घ इकार–उकार हटाएर ह्रस्व मात्र लेख, श–ष हटाएर पातलो स मात्र लेख्ने गर । बाउबाजेका पालादेखि दीर्घ लेखिंदै आएकामध्ये समीप, शरीरलाई नचलाऊ; शहीद, गरीबलाई ह्रस्व बनाऊ । पूर्व, मूर्ख, उन्मूलनलाई दीर्घ नै लेख; झूट, बूट, स्कूल, कार्टून, कानूनलाई ह्रस्व पार । शोषण, षडयन्त्र र अशिष्टतालाई यथावत् कायम राख; जोश, होश र खुशीलाई ताछेर पातलो (स) बनाऊ । नत्र फेल गरिदिन्छौं ।

अलिक पछि अर्को उर्दी आयो । अघिल्लो दिनसम्म तीतो, पीरो, मीत, मीठो, बूढो, दूध, फूल, जून आदि शब्दहरू यति–यति कारणले दीर्घ हुन्छन् भनेर व्युत्पत्ति पढाइरहेका गुरुहरू भोलिपल्टदेखि भन्न थाले— यी सबै शब्द ह्रस्व लेख, नेपाली शब्दमा दीर्घ ई–ऊ हुँदैन । सबैमा पातलो स लेख, नेपालीमा श–ष हुँदैन । केही दिन पछि फेरि तिनले भने— पूर्व र पश्चिम लेखे पनि पूर्वेली र पश्चिमेली लेख्न पाउँदैनौ, ‘पुर्बेली÷पस्चिमेली’ लेखेपछि मात्र शुद्ध हुन्छ । 

यो अराजकतालाई पुष्टि गर्न उनीहरूले दिने गरेको तर्क सुन्दा मिर्गौला दलालको झझल्को आउँछ । दलालहरू सोझा गाउँलेलाई भन्छन्— मान्छेलाई एउटा मिर्गौलो भए पुग्छ, दुइटाको के काम ? एउटा बेच ! गुरुहरू भन्छन्— नेपालीलाई एउटा पातलो स भए पुग्छ, तीन–तीनवटा स को के काम ? दुइटालाई फालिदेऊ ! ह्रस्वले पुग्छ, दीर्घ इकार–उकारको के काम ? तिनको सफाया गर ! ‘ण’ भन्ने अक्षर नेपालीले उच्चारणै गर्दैनन्, त्यसलाई नामेट पार । संयुक्त अक्षरको अस्तित्व समाप्त गर, एक–तिहाइ अक्षरहरूलाई मृत्युदण्ड देऊ । अनि पो नेपाली भाषा उँभो लाग्छ, अक्षरको हत्या नगरेसम्म भाषा कसरी समृद्ध हुन्छ ?

अक्षरहरूको सफाया
हुुन पनि, उनीहरू हिज्जे बदल्न मात्र होइन, अनेकौं स्वर र व्यञ्जन विरुद्ध मृत्युदण्डकै घोषणा गर्न समेत हिचकिचाएका छैनन् । कथित ‘उच्चार्य वर्णमाला’ हेर्नोस्— हाम्रा १४ वटा वर्णले सिलटिम्बुर खाइसके । त्यहाँ ई, ऊ, ऋ, ऐ, औ, अं, अः को अस्तित्व छैन; ञ, ण, श, ष, क्ष, त्र, ज्ञ को नामोनिशान छैन । पहिले व्यञ्जन मात्र ३६ वटा हुन्थे, अब त सारा स्वर र व्यञ्जन वर्ण जोड्दा पनि ३६ पुग्दैनन् । कति ठूलो पराक्रम !

हालसम्म जारी भएको सबभन्दा पछिल्लो उर्दीले भन्छ— ‘संयुक्त’ अक्षरलाई संयुक्त रूपमा नलेख्नू । संयुक्त अक्षरहरू मात्र होइन, ‘संयुक्त अक्षर’ भन्ने अवधारणाकै सफाया गर्नू । जोडिएको अक्षर खुट्टा काटेर लेख्नू । जस्तै : रक्त को सट्टा ‘रक्त’, विद्वान् को सट्टा ‘विद्वान्’, बुद्धि को सट्टा ‘बुद्धि’, विद्या को सट्टा ‘विद्या’, ‘द्वन्द्व’ को सट्टा ‘द्वन्द्व’ । शिक्षकले विद्यार्थीलाई यस्तै सिकाउनू । जसले यसरी लेख्तैन, त्यसलाई फेल गर्नू । यसै क्रममा नवमुद्रित पाठ्यपुस्तकहरूमा लेखनाथ, सम र देवकोटादेखि गोपालप्रसाद रिमाल र भूपि शेरचनसम्म, गुरुप्रसाद मैनालीदेखि पारिजातसम्म, सबै–सबैका रचनाबाट तिनले लेखेर गएका संयुक्त अक्षर भत्काइएको छ; तिनले प्रयोग गरेको हिज्जे भत्काएर ध्वस्त पारिएको छ । मानौं हाम्रा सम्पूर्ण स्वनामधन्य लेखक–साहित्यकार, जसले नेपाली वाङ्मयलाई यो उँचाइ दिए, अर्धसाक्षर थिए र तिनले संयुक्त अक्षर अनि शुुद्घ हिज्जे लेखेर अक्षम्य गल्ती गरे । त्यसैले आजका ‘पूर्णसाक्षर’ सरकारी विद्वानहरू त्यो गल्ती सुधारिदिएर उनीहरूमाथि कृपा गर्न लागिपरेका छन् ! (राज्यशक्तिको आडमा जारी गरिएको यो उर्दी प्रयोगकर्ताहरूको व्यापक विरोधपछि नेपाल प्रज्ञा प्रतिष्ठानले फिर्ता लिएर आÏनो शब्दकोश नै बदर गरे पनि शिक्षा मन्त्रालयको कानमा बतास लागेको छैन र ऊ आज पनि धमाधम विकृत र गलत हिज्जेकै पाठ्यपुस्तक छापेर विद्यालय तहमा पढ्न–पढाउन लगाइरहेको छ ।)

चौतर्फी घात 
हिज्जे बिगार्ने उन्मादले नेपाली भाषालाई पुर्याएको नोक्सान हरेक दृष्टिले घातक छ । 
एक : यसले सरलताका नाममा नेपाली शब्दको हिज्जेलाई झन् झन् अस्थिर, जटिल, अव्यवस्थित, अन्योलग्रस्त र अराजक बनाउँदै लगेको छ । त्यही क्रममा दुई कदम अघि बढेर ‘उच्चार्य वर्णमाला’ बाट दर्जन भन्दा बढी वर्ण हटाउने र संयुक्त अक्षर ध्वस्त पार्ने दुस्साहस गरेको छ । 

दुई : संसारका उन्नत भाषाहरू अन्य भाषाका शब्दको सम्मान गर्ने र पुरानो चलन त्यागेर तिनको शुद्ध रूप (हिज्जे र उच्चारण दुवैमा) लाई अँगाल्ने बाटोमा अघि बढेका छन् । अंग्रेजीले ‘ग्यांगेज्’ लेख्न छोडेर ‘गंगा’ लेख्न थालेको छ, हिन्दीले ‘नैपाली’ भन्न छोडेर ‘नेपाली’ भन्न थालेको छ । नेपाली भाषालाई भने छँदाखाँदाका, प्रचलित शुद्ध रूपलाई बिगारेर अशुद्ध रूप प्रयोग गर्न विवश बनाइएको छ । यो भाषाबाट भाषिकातर्फको यात्रा हो । 

तीन : यसले नेपाल र भारतको नेपाली भाषालाई एक–अर्काका लागि बिरानो र अनौठो बनाइदिने बाटो पक्रेको छ । संसारभरि एक प्रकारले लेखिने शब्दहरू नेपालभित्र मात्र अर्को प्रकारले लेख्न लगाएर विश्व समुदायमा फैलने होइन, साँघुरो घेरामा खुम्चिंदै जाने परिस्थिति तर्फ धकेलेको छ । 

चार : ‘नेपालीमा पातलो स मात्र र ह्रस्व मात्र हुन्छ’ भन्ने फरमानका कारण ‘तत्सम’ शब्दहरूलाई पनि स्रोता, सुन्य, सिल्प, मयुर, नविन, अनसन, लेख्ने लहर तीव्र हुँदै गएको छ । सिकार, सायरी र फेसन; स्कुल, जागिर र बेलुन लेखाउन थालेपछि सिसिर, सारदा र निर्देसन; स्तुप, जिबन र पुरक लेखिन थाल्नु अस्वाभाविक भएन । भोलि नेपाली भाषाको अनुहार कस्तो होला, संझँदा पनि आङ जिरिंग गर्ने भएको छ । 

पाँच : देवनागरी रोमन (अंग्रेजी लिपि) जस्तो ‘वर्णात्मक’ होइन, ‘अक्षरात्मक’ लिपि हो । रोमनमा ‘ब’ भन्नुपर्दा व्यञ्जन र स्वर वर्ण बेग्लाबेग्लै ९दब० लेखेर उच्चारण मात्र एकमुस्ट गरिन्छ । देवनागरीमा भने ब् र अ दुवै वर्ण मिलाएर एउटा अक्षर ‘ब’ बनाइन्छ; ‘ब’ लेखेर ‘ब’ नै उच्चारण गरिन्छ । बाह्रखरी त्यही हो । संयुक्त अक्षर त्यसैका अनुक्रम हुन् । संयुक्त अक्षर मास्ने कृत्यले हाम्रो लिपिको अक्षरात्मक चरित्रमा आघात पार्दै यसलाई वर्णात्मकतातिर मात्र धकेल्नेछैन, अन्ततोगत्वा देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई नै समाप्त पार्नेछ । 

छ : सामान्य प्रयोगकर्ताको त कुरै छाडौं, सधैं शब्दसँग खेल्नुपर्ने लेखक, साहित्यकार, पत्रकार आदि पनि    (जसको प्रयोगलाई मानक मानेर दुनियाँका उन्नत भाषाहरू अघि बढ्छन्) यस जुनीमा शुद्ध नेपाली लेख्न नसक्ने अवस्थामा पुगेका छन् । ‘म शुद्ध नेपाली लेख्न सक्छु’ भन्न सक्ने शिक्षित नेपालीको संख्या आधा प्रतिशत भन्दा पनि एकदमै तल खस्तै गएको छ । आफ्नै मातृभाषाका सामु नेपालीले आफूलाई निरीह, असहाय र हीनताबोधग्रस्त महसूस गर्नुपर्ने भएपछि भाषाको भविष्य कस्तो होला ?

सात : नेपाली भाषा अन्य राष्ट्रिय भाषाहरूमाथि हाबी भयो भन्ने गुनासो आज देशका सबैजसो समुदायमा व्याप्त छ । यो गुनासो वस्तुतः नेपाली भाषाप्रति नभएर राज्यप्रति लक्षित हो र राजनीतिक प्रकृतिको हो । भाषाका रूपमा नेपालीलाई सबैले खुला दिलले स्वीकारेकै छन् । तर मैथिली, अवधी, भोजपुरी, बज्जिका, नेवारी, राई, लिम्बू, तामाङ, मगर, शेर्पा, गुरुङ आदि राष्ट्रिय भाषाहरूबाट नेपालीमा आएका र भविष्यमा आउने शब्दलाई समेत हिज्जेको निहु“मा अंगभंग र विरूपीकरण गर्ने यो हठले तमाम राष्ट्रिय भाषाभाषीहरूको मनमा सोझै चोट पुर्याउने काम गर्दैछ र नेपाली भाषाप्रति नै नकारात्मक भावना जगाउन मन्दविषको भूमिका खेलिरहेको छ । 

समावेशिता, उदारता र सबै भाषाको अस्मिता तथा पहिचानको सम्मान नेपाली भाषाको नैसर्गिक प्रवृत्ति हो । तर यस उन्मादले त्यस प्रवृत्तिलाई बलात् ध्वंस गरेर नेपाली भाषामा जातिवादी–साम्प्रदायिक मानसिकता बोकेको, शासकीय अहंकारले ग्रस्त, सामन्ती चरित्र आरोपित गर्नेछ । राष्ट्रिय भाषाहरूप्रति हेपाहा र अपमानजनक व्यवहार गर्ने यस्तो प्रवृत्तिले जातीय तथा भौगोलिक समुदायहरूमा नेपाली भाषाप्रति अपनत्वको भाव समाप्त गर्दै पृथकताको भाव मात्र होइन, द्वेष र घृणा समेत बढाउने काम गर्नेछ— जसले राष्ट्रिय एकतामा ज्यादै गहिरो आघात पार्नेछ । 

sarach

हेक्का राख्नुपर्ने कुरा के हो भने, यसको योजना पंचायतकालको उत्कर्षमा, जुनवेला उसलाई अनुकूल प्रतीत नहुने कुनै पनि प्राज्ञिक गतिविधि पूर्णतः निषिद्ध थियो, कतिपय ठाउँमा गोष्ठी प्रायोजित गरी बुनिएको थियो । त्यसै क्रममा छरछिमेक र समुद्रपारिबाट मात्र होइन, राष्ट्रिय भाषाहरूबाट नेपालीमा आएका र भविष्यमा आउने शब्दलाई समेत अंगभंग, विरूपीकरण एवम् अपमानित गर्ने र तिनको पहिचानलाई अस्वीकार गर्ने भाषिक नीति तय गरियो । शासकीय अहंकारका साथ लादिएको त्यस नीतिलाई पहिले विश्वविद्यालयमा लागू गरियो र त्यसपछि प्रज्ञा–प्रतिष्ठानको शब्दकोशमा कार्यान्वयन गराउने प्रयास गरियो । मुलुकका विभिन्न भाषाभाषी समूह, समुदाय र क्षेत्रमा नेपाली भाषाप्रति अपनत्वको भाव ध्वंस गर्दै घृणाभाव जगाउने दिशातर्फको पहिलो निर्णायक कदम थियो त्यो ।

समय र समाजले स्वीकार गरेका मान्यताबाट भाषा पृथक् रहन सक्तैन । पृथक् रहन खोज्दा उसको अस्तित्व कमजोर हुँदै जाने मात्र होइन, कालान्तरमा उसले डरलाग्दो दुर्घटना समेत भोग्नुपर्ने हुन्छ । आजको नेपाल जातिगत विभेदलाई अस्वीकार गर्छ; सबै वर्ग र समुदायको अस्मिता र पहिचानको सम्मान अनि राष्ट्रिय मूलधारमा आदरपूर्ण समावेशले मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ भन्ने मान्यता राख्छ । तर भाषिक ठेकेदारहरू नेपाली भाषालाई यसको विपरीत ध्रुवमा उभ्याउन प्रतिबद्ध देखिएका छन् । 

अब के गर्ने ?
    नेपाली भाषालाई क्षयीकरणबाट जोगाउन सर्वप्रथम हिज्जेमाथिका अनधिकृत हस्तक्षेपहरू अस्वीकार गर्नुपर्छ, शिष्ट परम्परा र प्रचलनबाट स्थापित शुुद्घ र सही हिज्जेलाई मान्यता दिएर हिज्जेको विवाद अन्त्य गर्नुपर्छ; अरू भाषाबाट आउने शब्दको अनुहार बिगार्ने दम्भ परित्याग गर्नुपर्छ र त्यसै अनुरूप मानक शब्दकोश तथा ‘स्पेलचेकर’ को निर्माण गर्नुपर्छ । दोस्रो कुरा, वर्णविन्यासका नाममा वर्णविनाश गर्ने र संयुक्त अक्षर नामेट पार्ने दुष्प्रयास बन्द गर्नुपर्छ । तेस्रो कुरा, नेपाली भाषालाई जातिवादी तथा विभेदभुखी बनाउने प्रक्रिया र भाषिक कलहको बीउ रोप्ने षडयन्त्र उल्टाउनुपर्छ । 

तत्काल प्रयोगका निम्ति हामीले गर्नुुपर्ने कुराहरूको सार, सरलीकृत रूपमा, निम्न तीन बुँदाहरूमा स्मरण गर्न सकिन्छ :
क. दशैं, कोशी, खुशी, शहर, फेशन, शहीद, गरीब, जीप, स्कूल, कार्टून, कानून, दूध, फूल जस्ता शब्दको श र दीर्घ ई–ऊ नबिगारी शुद्ध रूपमा लेख्ने । 
ख. संयुक्त अक्षर खुट्टा काटेर नलेख्ने ।
ग. अर्थमा फरक पर्दैन भने लामा समस्त शब्द र नामयोगी छुट्याएर लेख्ने ।

अन्त्यमा
कुनै पनि जाति र राष्ट्रलाई परास्त गर्न त्यसको धर्म, संस्कृति र भाषालाई समाप्त गर्नुपर्छ भन्ने अनुभवसिद्ध रणनीति अन्तर्गत बाह्य तत्वहरू देशमा सक्रिय रहेको हामी सबैले अनुुभव गरिरहेकै छौं । डेढ–दुुई दशक अघिसम्म कल्पनै नगरिएका, हामीले नचाहेका कैयौं कुरा हाम्रै नामबाट आज हामीमाथि जसरी थोपरिएका छन्, त्यसले पनि यसलाई प्रमाणित गरिसकेको छ । हिज्जेका नाममा मच्चाइएको अराजकता यही ग्र्यान्ड डिजाइनको पछिल्लो र सम्भवतः निर्णायक कडी हो । नेपाली भाषालाई चरम विवाद, अन्योल र द्वन्द्वको भुुमरीमा पारेर यसलाई विदेशी भाषा मार्फत विस्थापित गर्ने षडयन्त्र विभिन्न घटनाक्रम मार्फत अब नेपाली जनताका सामुु उदांगो भइसकेको छ । हामी समयमै जागरूक र सक्रिय भएनौं भने यो षडयन्त्र सफल भएको देख्न धेरै दिन कुुर्नुुपर्ने छैन । त्यसबेला पछुुताउनुुको कुुनै अर्थ पनि हुुनेछैन ।
नेपाल पत्रकार महासंघ, ललितपुरको (ललितपुर पत्रकारिता) बाट साभार


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री