बिहीबार, १३ वैशाख २०८१

भूकम्पपीडितका नाममा विद्युत् चोरी बढ्यो

समयपोष्ट २०७४ भदौ २१ गते ८:१०

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ । 

Advertisement

जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए ।  मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो । 

विद्युत् चोरी बढेपछि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको र उनीहरुले पनि विद्युत् चोरी हुन नदिन प्रतिबद्धता व्यक्त गरेको जनाउँदै वितरण केन्द्र प्रमुख यादवले पुनः निर्माण प्राधिकरणलाई समेत जानकारी दिइएको बताए । उनले भने, “चेतनाको कमीले कानुनी अपराध गरेको देखियो यसको अन्त्य जरुरी छ ।” 

आव २०७३/७४ मा विद्युत् चोरीको आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ गरेको उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा विद्युत् चोरी गर्दैनौँ भन्ने मानसिकताको विकास हुनुपर्ने बताए ।

केन्द्र प्रमुख यादवले विद्युत्लाई पनि मौलिक हकका रुपमा व्याख्या गर्नुपर्ने तर्क गर्दै मिटरबाट मात्रै चोरी भएका ग्राहकको सङ्ख्या ५१ पुगेको जानकारी दिए । उनले विद्युत् चोरीमा कडाइ गरेपछि हुकिङ घट्दो अवस्थामा देखिएको छ भने । 

यसैबीच नमोबुद्ध नगरपालिकाको भकुण्डेमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरी विद्युत् प्राधिरकरणको काउण्टर स्थापना हुने भएको छ । त्यसका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, तिहारसम्ममा सञ्चालन हुन्छ केन्द्र प्रमुख यादवले जानकारी दिए । 

त्यस्तै जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि क्षेत्रका लागि विद्युत् सबस्टेसन बनाउने तयारी भएको छ । त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारको कामसमेत भएको बताइएको छ । प्राविधिक हिसाबले विद्युत् वितरणको विषय यो जिल्लामा मिलेको छैन, त्यसको गम्भीरतालाई ध्यानमा राखेर काठको पोल हटाउने तयारी पनि भएको छ केन्द्र प्रम्ख यादवले भने । 
रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री