शुक्रबार, १४ वैशाख २०८१

४७ बर्षपछि लामीडाँडा विमानस्थल कालोपत्रे हुँदै,आगामी माघ मसान्तभित्र काम सम्पन्न हुँने,स्थानीय हर्षित

समयपोष्ट २०७४ भदौ २१ गते ५:५१

खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । 

Advertisement

विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । 

गत बर्ष असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी रहेको छ । 

भौतिक निर्माणको काम भइरहेको विमानस्थलमा अहिले ग्यावियन वाल भर्ने, धावन मार्गमा ग्राभेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम भइरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले जानकारी दिए । “हामीले समयमै थालेर समयमै सक्ने गरी काम गरिरहेका छौँ,” उनले भने, “आगामी माघ मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने तयारीमा लागिपरेका छौँ ।” 

लामो समयसम्म कच्ची अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । विमानस्थल कालोपत्रे गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सन प्रालिले साझेदारीमा लिएको हो । 

विमानस्थल कालोपत्रे थालिएसँगै गत वैशाखदेखि नै उडान तथा अवतरण अवरुद्ध भएको स्टेशन प्रमुख रमेश श्रेष्ठले बताए । निकै व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाई यातायात अवरुद्ध भएपछि सबैभन्दा बढी अस्पतालले जिल्ला बाहिर पठाएका बिरामीलाई समस्या भएको छ । 

कालोपत्रे गर्नेक्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर परेको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुंगा र सोलुखुम्बुका स्थानीयले समेत सेवा लिँदै आएका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री