शनिबार, २८ असार २०८२

तीन करोड लगानीमा पाइप उद्योग सञ्चालनमा,दैनिक ७०० किलो पाइप उत्पादन हुँने

समयपोष्ट २०७४ साउन २५ गते १०:४९

दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटस्थित गोपीटारमा तीन करोड रुपैयाँको लागतमा प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ।  

Advertisement

दोलखा भीमेश्वर मल्टिट्रेडिङ कम्पनी प्राइभेट लिमिटेडले मंगलबारबाट पाइप उत्पादन शुरु गरेको सञ्चालक सुरेश उप्रेतीले जानकारी दिए। दोलखा, रामेछाप, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र तराईका केही जिल्लामा पाइप खपत गर्ने उद्देश्यले सञ्चालन गरिएको यो उद्योगले दैनिक ७०० किलो पाइप उत्पादन गर्ने बताइएको छ। 

उद्योगबाट हाल १६ एमएमदेखि आठ इन्चसम्मका पोलिपाइप उत्पादन गर्ने उप्रेतीले बताए। उद्योगमा गार्डेन पाइप, ढलान पाइपलगायत अन्य पाइपका सामग्री उत्पादन गरी बिक्री वितरणको तयारी भइरहेको छ। प्रयोग गरी फालेको फोहरजन्य प्लास्टिकलाई जम्मा गरी त्यसैलाई कच्चा पदार्थका रुपमा पेलेर पाइप उत्पादन गरिने उप्रेतीको भनाइ छ।  

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र युवा व्यवसायी सुरेश उप्रेतीको संयुक्त लगानीमा खुलेको सो उद्योगले आफ्नो लगानी २७ महिनाभित्र असुल गर्ने लक्ष्य राखेको छ। सञ्चालक कार्कीले यो प्लास्टिक उद्योगका कारण सहर तथा गाउँ सफा हुने विश्वाश व्यक्त गरे। 

'सहर र गाउँघरमा जथाभावी फालेको फोहर प्लास्टिकलाई जम्मा गरेर उद्योग सञ्चालन गर्ने हो,' उनले भने। जिल्लाको कच्चा पदार्थ अपुग हुने भएपछि ५० प्रतिशत बाहिरबाट ल्याइने कार्कीले बताए। 

Advertisement

उद्योगका लागि भारतबाट मेसिन आयात गरी प्रयोगमा ल्याइएको छ। उद्योगलाई वातावरणीय र सरसफाइका दृष्टिकोणले सहज हुने छ। उद्योग सञ्चालन भएपछि स्थानीय कामदारले रोजगारी पाउने छन्। उद्योगलाई दैनिक ७०० किलो पाइप उत्पादन गर्न ८०० किलो कच्चा पदार्थको आवश्यक पर्नेछ। उद्योगले प्रतिमहिना १५ टन पाइप उत्पादन गर्ने बताइएको छ। 

रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री