बिहीबार, ६ वैशाख २०८१

महाकालीको तटीय क्षेत्रमा परियोजना सञ्चालन हुने

समयपोष्ट २०७४ साउन १७ गते ५:५३

महाकाली नदीको पानी तथा नदीका अन्य स्रोेत व्यवस्थापनका लागि परियोजना लागू हुने भएको छ । 

Advertisement

नदीको तटीय भूभाग क्षेत्रमा बसोबास गर्ने समुदायको पहुँच वृद्धि र नदी अतिक्रमण नियन्त्रणमार्फत नदी तटीय समुदायको गरिबी न्यूनीकरणमा सहयोग पुर्याउँने उद्देश्यका साथ डडेल्धुरामा दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) सञ्चालन हुने भएको छ । 

पाँच वर्षसम्म सञ्चालनमा आउने परियोजनाको कार्यक्षेत्र डडेल्धुराको परशुराम नगरपालिका र भागेश्वर गाउँपालिकाको महाकाली नदी प्रभावित क्षेत्रमा रहने ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)ले सोमबार आयोजना गरेको परियोजना परिचय कार्यक्रममा रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी गराउनुभयो । परियोजनाको लक्षित वर्ग महाकाली नदी प्रभावित समुदाय रहने जनाइएको छ । 

परियोजनाका चारवटा उद्देश्यमा आधारित भई तटीय क्षेत्रका समुदायका गरिब किसान र उक्त नदीमाथि आश्रित समुदायको सशक्तीकरण र जीवनस्तर सुधार गर्ने रहेको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक खड्काले बताए  । 

चारवटा उद्देश्यअन्तर्गत पानीसम्बन्धी सरकारी नीति तथा अभ्यासको सुधार, पानीसम्बन्धी निजी तथा सम्बन्धित क्षेत्रका नीति तथा अभ्यासको सुधार, नदीको तटका समुदाय र नागरिक समाजको सवलीकरण, निर्णायक तहमा महिलाको आवाजलाई सवलीकरण गर्नु रहेको निर्देशक खड्काको भनाइ रहेको छ । 

परियोजनाको कार्य रणनीतिअन्तर्गत पानीका स्रोतहरुको वितरण, विकास र व्यवस्थापन समुदाय, राष्ट्र तथा क्षेत्रीयस्तर कसरी गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि, जीविकोपार्जनका लागि पूर्वाधार निर्माण, अध्ययन तथा तथ्य प्रमाण संकलन, पानीसम्बन्धी नीति र सुरक्षित अभ्यास तथा संवाद वृद्धि गरिने जनाइएको छ । परियोजनाका सहयोगी संस्था सिडा, अक्सफाम र साझेदार संस्था रुडुक, डडेल्धुरा रहेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री