शुक्रबार, १४ वैशाख २०८१

प्रमुख दलका नेताहरु भन्छन्– ‘अख्तियार प्रमुखलाई  महाअभियोग लगाउने पक्षमा छैनौं ’

समयपोष्ट २०७३ भदौ ६ गते १२:४२

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा पार्टी नरहेको स्पष्ट पारेका छन् । 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले भने,‘काँग्रेस यसबारेमा स्पष्ट छ, अहिले हामीले डा. गोविन्द केसीले उठाएका शिक्षा र स्वास्थ्यसम्बन्धीको माग पुरा हुनुपर्छ भन्ने पक्षमा छौं, त्यो बाहेक हामीले केही सोचेका छैनौं, राजनीतिक मुद्दामा अहिले हामी छलफल गर्न तयार छैनौं ।’
नेकपा एमालेका नेता रघुविर महासेठले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने हल्लाप्रति टिप्पणी गर्दै भने,‘यसबारेमा पार्टीले स्पष्ट रुपमा भनिसकेको छ, यो जरुरी छैन, डा. केसीका राजनीतिक माग पूरै गलत छन् ।’ उनले डा. केसीलाई महाअभियोग लगाउने कुरा गरेकोमा आक्रोश पोख्दै भने,‘उहाँले कि त राजनीतिक गर्नुपर्यो अनि उहाँले यो कुरा उठाउन मिल्छ, होईन भने किन यस्तो बहस गरिरहनुभएको छ ?’
नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले अहिलेको आवश्यकत्ता महँगी नियन्त्रण गर्नु, कालोबजारी बन्द गर्नु र सुशासन कायम गर्नु भएकाले अख्तियार प्रमुख आयुक्तलाई महाभियोग लगाउनुपर्छ भनेर बखेडा झिक्न नहुने बताए । उनले अघि थपे,‘यो अहिले बहस गर्नुपर्ने मुद्दा नै होईन् ।’
मधेशी मोर्चाका नेता अनिल झाले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने पक्षमा मोर्चा नभएको स्पष्ट पारेका छन् । झाले भने,‘यो बेमौसमको बाजा हो, यस्तो मुद्दामा मोर्चाको कुनै चासो छैन, महाअभियोग लगाउनु अहिले आवश्यकत्ता नै छैन, न त यसको कुनै औचित्य नै छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक पर्शुराम तामाङ्ले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर अनावश्यक बहस गरिएको बताउँदै भने,‘अख्तियारले सुशासन र भ्रष्टाचार उन्मुलन गर्नेगरि काम गरिरहेको छ, हामीले आयोगलाई सघाउनुपर्छ ।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री