बिहीबार, १३ वैशाख २०८१

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

समयपोष्ट २०७३ साउन ३० गते १४:०९

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको छ ।

Advertisement

नेदरल्यान्डको आमस्ट्रडमस्थित भिआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३८.१ ओभरमै सबै विकेट गुमाएर मात्र ९४ रन मात्र बनाउन सक्यो ।

पञ्चानब्बे रनको सहज लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १६.५ ओभरमै मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य पूरा ग¥यो । नेपालका लागि वसन्त रेग्मी, सागर पुन र करण केसीले समान एक विकेट लिए पनि टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि नेपालका प्रायः सबै ब्याट्सम्यान असफल रहेका थिए । उनीहरु नेदल्यान्ड्सको कसिलो बलिङसामु निरीह बनेका थिए । ओपनर अनिल मण्डलले बनाएको २० रन नै नेपालको सबैभन्दा उच्च स्कोर रह्यो ।

चारबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । सो क्रममा शरद भेषवाकरले १४, आठौँ क्रममा आएका सोमपाल कामीले १२, ओपनर ज्ञानेन्द्र मल्लले ११ बनाएका थिए ।

त्यस्तै विनोद भण्डारीले नौ, नवौँ क्रममा आउँदै अविजित रहेका वसन्त रेग्मी र विनोद अविजित सात÷सात रन जोडेका थिए । तीबाहेक अन्य ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे । जसमा राजु रिजालले तीन, सन्दीप लामिछानेले एकमात्र बनाए भने कप्तान पारस खड्का र करण केसी दुवै झन शून्य रनमा आउट भएका थिए ।

जारी लिगको शीर्ष स्थानमा रहेको टोली नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको नेपाल आज पक्कै दबाबमा थियो । आठ टोलीमध्ये छैटाँै स्थानमा रहेको नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्न पनि आजको खेल जित्नैपर्ने हुन्थ्यो । हारले अब सोमबार हुने खेल जित्दै प्रतियोगितामा जमिइराख्न नेपाललाई थप दबाब हुने भएको छ ।

जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये चार शीर्ष टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चारमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री