नाडा अटो शोमा जिनपेङको स्मार्ट सिटी कार सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आजदेखि भदौ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ ।
उक्त शो मा जिनपेङ कम्पनीको सानो र स्मार्ट कार प्रदर्शनीमा राखिने भएको छ। जिनपेङको नेपालका लागि आधिकारिक वितरक ठाकुर मोटर्स नेपाल प्रालिले लिङवक्स ईसी ०१ मोडलको मिनी विद्युतीय कार आज लन्च गर्न लागेको हो। ठाकुर मोटर्सकी बजार व्यवस्थापक सुनिता ढुङ्गानाले उक्त कार सिटी र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुने र यसको मूल्य १९ लाख ९९ हजार र २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको जानकारी दिइन्।
उक्त कारमा १९.२६ किलोवाट आवर र ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा क्रमशः २४० र ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कारले डिसी फास्ट चार्जरलाई समेत सपोर्ट गर्छ। लिङवक्सको लम्बाइ ३५८४ एमएम, चौडाइ १४७५ एमएम, उचाइ १६१५ एमएम र ह्विलबेस २४५५ एमएम छ। यसमा ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले १०५ एनएम टर्क जनेरेट गर्छ र अधिकतम १०५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिन्छ।
कारमा १०.१ इन्चको आकर्षक टचस्क्रिन, कनेक्टिभिटी सुविधा, एड्भान्स ब्रेकिङ सिस्टम र इन्टेलिजेन्ट कोलिजन डिटेक्सन जस्ता प्रिमियम फिचर छन्। ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको यो कारमा चार जनाले आरामदायी यात्रा गर्न सक्ने ढुङ्गानाले बताइन्। जिनपेङ चीनको प्रतिष्ठित अटो निर्माता हो, जसले इलेक्ट्रिक कार, रिक्सा, ट्राइसाइकल र मोटरसाइकल उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आएको छ।
प्रतिक्रिया