नागढुंगा सुरुङ मार्गमा दस्तुर निर्धारण, मोटरसाइकल र इन्धन बोक्ने सवारीलाई प्रवेश निषेध
मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने दस्तुर तोकेको छ।
साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना र सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिए।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद्को १८ वटा निर्णय सार्वजनिक गरे। सडक विभागले तयार पारेको निर्देशिकाअनुसार नागढुंगा सुरुङ मार्गको दस्तुर निर्धारण गरिएको छ।
कार र भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस र मिनी ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ। बस र ट्रकका लागि काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तोकिएको छ। भारी उपकरणका सवारीले काठमाडौं आउँदा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
निर्देशिकाले मोटरसाइकल र डिजेल, पेट्रोलजस्ता प्रज्वलनशील इन्धन बोक्ने सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश गर्न पूर्ण रूपमा निषेध गरेको छ। मन्त्री गुरुङले यो निर्णयले सुरुङ मार्गको सुरक्षित र व्यवस्थित सञ्चालनमा सहयोग पुग्ने बताए। यो सुरुङ मार्गले काठमाडौं उपत्यकाको यातायातलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया