मंगलबार, ४ कार्तिक २०८२

नेपालको विद्युत् निर्यात क्षमता १,०५०.९ मेगावाट पुग्यो, भारत र बंगलादेशमा निर्यात वृद्धि

समयपोष्ट २०८२ साउन २७ गते ११:४५

Advertisement

भारत सरकारले नेपालका पाँच जलविद्युत आयोजनाबाट उत्पादित थप २०० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि स्वीकृत ८१०.९ मेगावाटमा थप २०० मेगावाट जोडिएसँगै भारततर्फ नेपालको कुल विद्युत् निर्यात क्षमता १,०१०.९ मेगावाट पुगेको छ।

यसका साथै, बंगलादेशतर्फ ४० मेगावाट निर्यातको स्वीकृतिसहित नेपालको कुल विद्युत् निर्यात क्षमता १,०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

पछिल्लो स्वीकृति साउन २६ गते प्राप्त भएको हो, जुन ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म लागू हुनेछ। यसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् भारत निर्यात हुनेछ।

Advertisement

आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। प्राधिकरणका अनुसार भारतबाट प्राप्त थप निर्यात अनुमति र आगामी दिनमा थप स्वीकृति प्राप्त हुने सम्भावनाले चालु आर्थिक वर्षमा विद्युत् निर्यात दोब्बर हुने अनुमान गरिएको छ।

यो वृद्धिसँगै नेपालको जलविद्युत क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप सशक्त बनाउँदैछ, जसले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री