बागमतीमा आज बानियाँले मुख्यमन्त्रीको शपथ लिने
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले आज दिउँसो मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने भएका छन्। प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाए अनुसार उनको नियुक्ति दिउँसो ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको छ।
नेकपा एमालेका तर्फबाट बानियाँसँगै अन्य मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ। एक सांसदका अनुसार एमालेले यसअघिको सरकारमा रहेका एक जना मन्त्रीलाई पुनः अवसर दिँदै अन्य ५ जना नयाँ मन्त्रीलाई समावेश गरेको छ। दोहोरिने मन्त्रीमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर रहेका छन्।
एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ। प्रस्तावित मन्त्रीहरूमा जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनाउने तयारी रहेको छ।
हाल मन्त्रालयको जिम्मेवारीको टुंगो लागिसकेको छैन र फेरबदलको सम्भावना रहेको एक सांसदले बताएका छन्।
प्रतिक्रिया