मंगलबार, २० साउन २०८२

सागर डिष्टिलरीले साउन २८ देखि आईपीओ निष्काशन गर्दै

समयपोष्ट २०८२ साउन २० गते ९:१५

सागर डिष्टिलरी लिमिटेडले साउन २८, २०८२ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आफ्नो कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ।

यसमध्ये १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन हुने यो आईपीओमा आवेदन दिने अन्तिम मिति भदौ १, २०८२ तोकिएको छ। पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि भदौ ११, २०८२ सम्म लम्बिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत सि–आस्बा प्रणालीद्वारा दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सागर डिष्टिलरीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो अवसरलाई उपयोग गरी सागर डिष्टिलरीको सेयरमा लगानी गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री