माछापुच्छ्रे बैंकले कमायो २ अर्बभन्दा बढी नाफा, गत वर्षको तुलनामा ९२.४५% वृद्धि
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले उक्त अवधिमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेरमेन्ट चार्जमा आएको उल्लेख्य कमीका कारण नाफामा यो वृद्धि सम्भव भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशतले उकालो लागेको छ।
इम्पेरमेन्ट चार्जमा भएको कमीले पनि बैंकको वित्तीय नतिजालाई थप बलियो बनाएको छ। अघिल्लो वर्ष १ अर्ब ३९ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यो वर्ष ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ, जसले सञ्चालन मुनाफा र खुद नाफालाई थप टेवा पुर्याएको छ।
प्रतिशेयर आम्दानी र वितरणयोग्य मुनाफामा वृद्धि
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।
बलियो वित्तीय अवस्था
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको यो वित्तीय प्रगतिले यसको बलियो व्यवस्थापन र बजारमा बढ्दो विश्वसनीयतालाई झल्काउँछ।
प्रतिक्रिया