सोमबार, १९ साउन २०८२

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

समयपोष्ट २०८२ साउन १८ गते ११:५७

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यका सङ्घीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली अव्यवस्थित रहेको बताउनुभयो । उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउन निर्णायक कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था बिग्रिनुका साथै बढ्दो सवारीसाधन, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण बढेको मन्त्री दाहालले उल्लेख गर्नुभयो । सोही कारणले यातायातलाई मात्र नभई आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने उहाँले धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “यदि हामीले अहिले पनि निर्णायक कदम नचाल्ने हो भने, अवस्था थप बिग्रनेछ, जसले उपत्यकाको वातावरण प्रतिकूल हुने र दिगोपनलाई खतरामा पार्नेछ । यो परियोजनामार्फ शीघ्र र दीर्घकालीन समाधान खोज्ने हाम्रो अन्तिम अवसर हुनसक्छ ।”

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले उपत्यकाको यातायात व्यवस्थापनका लागि सहयोग र समन्वयका लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो । भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रणालीको व्यवस्थापन गर्दै बहुपक्षीय समन्वयको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सोकार भएका निकायका विज्ञहरूले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री