शनिबार, १ कार्तिक २०८२

राष्ट्र बैंकले तयार गर्‍यो ‘रेगुलेटरी स्यान्डबक्स’सम्बन्धी मार्गदर्शन

समयपोष्ट २०८२ साउन १६ गते १५:१९

Advertisement

नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था तथा अन्य लाइसेन्सप्राप्त निकायका लागि ‘रेगुलेटरी स्यान्डबक्स’ सम्बन्धी मार्गदर्शन जारी गर्ने भएको छ। यस्ता संस्थाले नयाँ प्रोडक्ट र प्रविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो मार्गदर्शन ल्याउन लागेको हो।

राष्ट्र बैंकले उक्त मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरूसँग सुझाव मागेको छ। आवश्यक सुझाव प्राप्त भएपछि यो मार्गदर्शन लागू गरिने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए।

रेगुलेटरी स्यान्डबक्स के हो?

रेगुलेटरी स्यान्डबक्स एक यस्तो व्यवस्था हो, जसले बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ प्रविधि र प्रोडक्टको परीक्षण गर्न नियामकीय झन्झटबाट केही हदसम्म मुक्त गर्छ। अन्तर्राष्ट्रिय बजार, अनुसन्धान, विकास र ग्राहकको आवश्यकताका आधारमा यस्ता नयाँ प्रोडक्ट र प्रविधि ल्याउनुपर्ने हुन्छ। तर, यस्ता प्रोडक्ट सिधै बजारमा ल्याउँदा जोखिम हुने भएकाले स्यान्डबक्सले सुरक्षित वातावरण प्रदान गर्छ।

Advertisement

उदाहरणका लागि, कुनै बैंकले नयाँ मोबाइल बैंकिङ एप्लिकेसन ल्याउँदा त्यसले अपेक्षित रूपमा काम नगरेमा ग्राहकमा नकारात्मक प्रभाव पर्नुका साथै कानुनी समस्या पनि आउन सक्छ। स्यान्डबक्सले यस्ता प्रविधिको सीमित दायरामा परीक्षण गर्न अनुमति दिन्छ, जसले जोखिम न्यूनीकरण गर्छ।

‘स्यान्डबक्स’ शब्दको शाब्दिक अर्थ बालुवाले भरिएको खेल्ने ठाउँ हो, जहाँ बच्चाहरू लड्दा पनि चोट कम लाग्छ। यसैको रूपकका रूपमा ‘रेगुलेटरी स्यान्डबक्स’ नामकरण गरिएको हो।

मार्गदर्शनमा के-के छन्?

यो स्यान्डबक्स बैंक, वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी र फिनटेक कम्पनीहरूका लागि लागू हुनेछ। मार्गदर्शनले वित्तीय सेवाको विस्तार, प्रतिस्पर्धा, प्रभावकारिता र वित्तीय समावेशिता वृद्धिमा जोड दिएको छ।

आवेदनको दायरा: आवेदनकर्ताले कानुनले बर्जित नगरेका वस्तु र सेवाका लागि मात्र आवेदन दिन सक्नेछन्।

नियामकीय छुट: राष्ट्र बैंकले लाइसेन्स प्राप्त कम्पनी वा नयाँ संस्थालाई स्यान्डबक्स सञ्चालनको अनुमति, ग्राहक दायित्वमा छुट, क्रेडिट रेटिङ, लाइसेन्स शुल्क, न्यूनतम पुँजी लगायतमा छुट दिन सक्नेछ।

अन्य सुविधा: रिपोर्टिङ, डिस्क्लोजर, विज्ञापन र प्रचारमा पनि विशेष व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री