नमागेका कागज प्राधिकरणलाई नै फिर्ता गर्दै लेखा समिति
सार्वजनिक लेखा समितिले माग गरे बाहेकका अनावश्यक कागजपत्र नेपाल विद्युत प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ।
समितिले टिओडी मिटरको विवरण पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो।
जसमा टिओडीको विवरण तीन पोका र अरू माग्दै नमागेको काजगात २१ पोका आएको समितिले जनाएको छ।
हिजो प्राधिकरणले कार्यालय समयको अन्तिममा पठाएका कारण चेकजाँच गर्न नपाएको र आज चेकजाँच गर्दा अनावश्यक कागजात भेटिएपछि फिर्ता गर्न लागिएको समितिले जनाएको छ।
गत शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो। त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ३० पोका कागजसहितको एक ट्रक कागज सार्वजनिक लेखा समितिमा पठाएका थिए । त्यसमध्ये सबैभन्दा धेरै २३ पोका लग सिट, चार पोका टीओडी मिटरको डेटा, एक पोका विभिन्न अदालतबाट भएका आदेश, एक पोका एम पावरको लेजर, एक पोका भक्तबहादुर पुन तथा मनोज मिश्रका समितिको प्रतिवेदन तथा एक पोका २०७२ देखि २०७५ सम्मको बक्यौता महसुल सम्बन्धी बिल तथा बिजकहरू रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया