शुक्रबार, १४ वैशाख २०८१

लगानीको वातावरणका लागि इन्डष्ट्रियल पार्क स्थापना गरिरहेका छौं :सुरज वैद्य

समयपोष्ट २०७३ साउन २५ गते १२:२०

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका सुरज वैद्य अहिले सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज अध्यक्ष छन् । उनको वैद्यज अर्गनाइजेसनले कृषि, कन्ट्रक्सन, अटोमोबाइल, जलविद्युत् क्षेत्रमा लगानी गरेको छ । उनी अब पर्यटन क्षेत्रमा लगानी गर्ने सोचमा छन् । नेपालको विकासका लागि अहिलेसम्म कुनै सरकारले प्राथमिकता नदिएकोमा चिन्तित रहेका उनी सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्र आर्थिक समृद्धि हुने विश्वास राख्छन् । सार्क देशमा सार्क इन्डष्ट्रियल पार्क बनाउने अभियानमा लागेका वैद्यसँग समयबोधले गरेको कुराकानी :  
सार्क देशमा नेपाल आर्थिक विकासमा धेरै पछाडि छ । यसको मुख्य कारण के हो ?
राजनीतिक अस्थिरता नै हो । विकासका कुरा खालि बोलीमा मात्र सीमित भएकाले नेपाल पछाडि पर्दै गएको छ । सार्क क्षेत्रका अरू देशजस्तै पाकिस्तान, अफगानिस्तान र भुटानमा पनि जतिसुकै आन्तरिक समस्या भए पनि आर्थिक र विकासको सन्दर्भमा केही न केही काम भइरहेका छन् । तर, हाम्रो देशमा व्यवस्था परिवर्तन भएर नयाँ नेपाल, नयाँ सोचका आधारमा जनतालाई केही होला भन्ने जुन आस थियो, त्यो आसमा मात्र सीमित भयो । धेरै सरकार हामीले हे¥यौं तर कुनै पनि सरकार आर्थिक र विकासलाई जोड दिएर मुलुक बनाउनुपर्छ भन्नेतिर लागेनन् । यो नै मुख्य समस्या हो ।

तपाईं सार्क चेम्बरको अध्यक्ष हुनुहुन्छ, नेपालमा विदेशी लगानी किन आउन सकेन ?

हामीले नेपालमा विदेशी लगानी ल्याउनै खोजेका छैनौं । यसको अर्थ अहिलेसम्म हाम्रो संसदमा धेरै मुद्दा छन् । एफडीआई विल, इन्डष्ट्रियल विल, फरेन इन्भेस्टमेन्ट याक्टलगायत कम्तीमा १२,१३ वटा निजी क्षेत्रलाई छुनेखालका मुद्दा संसद्मा पास हुन बाँकी नै छ । न सरकारले त्यसलाई अघि बढायो, न संसद्मा भएका सांसदले यो महत्वपूर्ण हो भनेर कुरा उठाए । जब हाम्रो देशले देशभित्रकै लगानीकर्ताको कुरा सुन्दैन भने विदेशी लगानीकर्ताको कुरा त धेरै परको हो । नेपालमा विदेशी लगानीकर्ता आउन चाहिरहेका छन् तर नेपालले विदेशी लगानीकर्तालाई कुन क्षेत्रमा लगानी गर्न ल्याउने, कुन क्षेत्र महत्वपूर्ण हो भन्ने योजना नबनाउँदासम्म खालि विदेशी लगानी ल्याउने भन्ने नाराले मात्र विदेशी लगानी भित्रिँदैन । जस्तै नेपालले ऊर्जा क्षेत्रको विकासकै सन्दर्भमा हाम्रो रणनीति के हो र हामी कसरी अगाडि बढ्न चाहेका छौं रु यो कुरा स्पष्ट हुनुपर्छ । खालि भाषणमा बोल्दैमा हुँदैन । त्यसलाई व्यवहारमै अगाडि बढाउन नसकेको देख्दा दुःख लाग्छ । हाम्रोमा मन्त्रीको कुरा व्युरोक्रेसीले नमान्ने, व्युरोक्रेसीका कुरा निजी क्षेत्रले नसुन्ने, निजी क्षेत्रले एक–अर्कालाई विश्वास नगर्ने वातावरणमा हामी कसरी अगाडि बढन सक्छौं र अहिलेको सत्य यही हो ।

सरकारले त गरेन–गरेन तपाईंहरूजस्ता उद्योगी, व्यवसायीले विदेशी लगानीकर्तासँग सहकार्य गरेर विदेशी लगानी ल्याउन किन सक्नुभएन ?

म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदादेखि नै मैले के भन्दै गएको थिएँ भने नेपालमा लगानी गर्न अरू मुलुकको दाँजोमा धेरै महँगो छ । यो भूपरिवेष्ठित देश हो । वल्र्ड बैंकको एउटा तथ्यांकले के भन्छ भने ल्यान्डलक कन्ट्रीको कस्ट अफ प्रोडक्सन २० प्रतिशत महँगो हुन्छ भनेको छ । आज नेपालमा कुनै उद्योग हाल्न खोजियो भने जग्गा यति महँगो छ, छुनै सकिँदैन । हामी जग्गाको धन्दा त गर्न खोजेको होइन, खालि उद्योग खोल्न लागेको हो । त्यसैले म महासंघको अध्यक्ष हुँदा इन्डष्ट्रियल पार्क निजी क्षेत्रलाई सहमति र सहयोग लिएर अगाडि बढौं भनेको थिएँ । किनभने नेपाल सरकारले बनाउन धेरै चाहेको छ तर यहाँ यस्ता ऐन, नियम छन्, त्यसले अघि बढ्न दिएको छैन । मान्छे त्यो काम गर्न नै डराउँछन् । राम्रो काम भए त डराउन नपर्ने हो । तर, अहिलेको व्युरोक्रेसीमा केही निर्णय नगर्नु नै सबैभन्दा राम्रो भन्ने सोच छ । औद्योगिक पार्ककै सन्दर्भमा मेरो करिब चार वर्ष समय बित्यो । सरकारकै जग्गालाई सरकारकै नीतिका आधारमा पछि सरकारकै हुनेगरी भाडामा देऊ भनेर माग गरेका थियौं, चार वर्ष भयो अहिलेसम्म केही भएको छैन । सार्क चेम्बरको नाताले पछिल्लोपटक म केही देशमा गएँ । अफगानिस्तानबाट यात्रा सुरु गरें । अफगानिस्तानको राष्ट्रपतिले सार्क इन्डष्ट्रियल पार्क भनेर घोषणा गर्नुभयो । पाकिस्तानमा फैसलावाद भन्ने ठाउँमा विशेष सार्क इन्डष्ट्रियल पार्क भनेर जग्गा दिनुभयो । भुटानमा जग्गा दिने भनिसक्नुभएको छ । किन उहाँहरूले हामीलाई जग्गा दिनुभएको छ, उहाँहरूले मैले दिएको जग्गामा लगानी आउँछ भनेर लगानी भित्र्याउनकै लागि दिएको हो । तर, नेपालको सन्दर्भमा कामै नगर्दा आफ्नो बढुवामा पनि असर नपर्ने, काम ग¥यो भने रिक्स हुन्छ भनेर रिक्स लिनै नचाहने प्रवृत्ति छ । हाम्रो देश यसरी नै चरिरहेको छ । यो देशको विकास गर्नुपर्छ, विदेशी लगानी ल्याउनुर्छ भन्ने सोच कसैमा पनि छैन ।

सार्क देशका निजी क्षेत्रका लगानीकर्ताका साझा समस्या के हुन् ?
सार्क देशमा पनि नेपालजस्तै एकले अर्कोलाई विश्वास नगर्ने प्रवृत्ति छ । सम्भावना प्रशस्त छन् । अफगानिस्तानले पाकिस्तानलाइ विश्वास नगर्ने, पाकिस्तानले भारतलाई विश्वास नगर्ने, भारतले नेपाललाई विश्वास नगर्ने समस्या छन् । हामी मिलेर केही गरौं भन्ने कुरा अहिलेसम्म गर्न सकेका छैनौं । तर, सम्भावना प्रशस्त छन्, त्यसैले अहिले हामीले सार्क चेम्बरमा सकारात्मक रूपमा लगानीको वातावरणका लागि इन्डष्ट्रियल पार्क स्थापना गरिरहेका छौं । एक–अर्का मुलुकमा लगानी गरौं भन्ने उद्देश्यले अघि बढेका छौं । कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा बढी लगानी भित्र्याउन खोजेका छौं । नेपालको सन्दर्भमा मुख्यगरी कृषिमा, फुड प्रोसेसिङमा प्रयास गरिरहेका छौं । नेपाल सरकारले हामीलाई अगाडि बढ्न हौसला दिने नीति बनायो भने हामी लगानी भित्र्याउन सक्छौं ।

सार्क देशमा राजनीतिक रूपमा एक–अर्कामा बेमेल छ, त्यसले उद्योग वाणिज्य क्षेत्रलाई कत्तिको असर पारेको छ ?

असर पार्छ नै । किनभने जब दुई मुलुकको सम्बन्ध अलिकति चिसो हुन्छ तब आर्थिक र विकासको सन्दर्भमा पनि धेरै कुरा पछि हट्छ । राजनीतिक मुद्दा सिधै विकास र आर्थिक मुद्दासँग जोडिएर आउने गरेको छ । निजी क्षेत्रको चाहना के हो भने मैले गरेको लगानीको सुरक्षा हुनुप¥यो । जब दुई देशको मेलमिलाप नै छैन भने सुरक्षा हुने कुरा पनि भएन । त्यसैले लगानी ल्याउन अप्ठ्यारो हुन्छ । सार्क मुलुकका विभिन्न देशमा म जाँदा राजनीतिक नेतृत्व र व्युरोक्र्याटले सार्कको महत्व बुझेको छ । निजी क्षेत्रले पनि त्यो बुझेको छ । तर, त्यहाँभित्र केही अतिवादी र विभिन्न स्वार्थ समूहका व्यक्ति छन् । यस्ता १,२ प्रतिशतका रूपमा रहेका व्यक्तिले राम्रा व्यक्तिलाई पनि अगाडि बढ्न दिएका छैनन् । तर, अरू राम्रा गर्न चाहेका व्यक्ति मिलेर अगाडि बढ्दा यो क्षेत्रको विकास सम्भव छ । नेपाल, पाकिस्तान र भारतको कुरा गर्दा आज इरान र अमेरिका फेरि मिलिसके, ताइवान र चाइना मिलेर एक–अर्कामा लगानी भइरहेको छ । त्यसैले नेपाल र भारत अथवा भारत र पाकिस्तान त्यति महत्वपूर्ण कुरा होइन किनभने हामी पाकिस्तान गएर खाना खाँदा, लखनउमा गएर खाना खाएजस्तो लाग्छ । राजनीतिक समस्या भए पनि उहाँहरूको कल्चर समान छ । त्यसैले जब हामी एक–अर्काको मुलुकमा लगानी गर्न सक्छौं तब यो समस्या हल हुन्छ ।  

सार्क देशमा भिसा फ्रिको कुरा उठेको थियो, त्यसका लागि सार्क चेम्बरबाट तपाईंहरूले के पहल गर्नुभएको छ ?

म अध्यक्ष भएको भोलिपल्ट नै आठै देशका परराष्ट्रमन्त्री पोखरामा थिए । त्यो मिटिङमा हाम्रो परराष्ट्रमन्त्री कमल थापाज्यूले मलाई केही समय पनि दिनुभयो, त्यहाँ हामीले स्पष्ट रूपमा भनेका थियौं कि जहाँ गरिबी छ, त्यहाँ आतंकवाद जन्मन्छ । गरिबी हटाउने कुरा निजी क्षेत्र र विकासका कुरासँग जोडिएको हुन्छ । जब मुलुकमा विकास हुन्छ, तब गरिबी हट्दै जान्छ । मान्छेले रोजगारी पाउँछ अनि मान्छे अरू गतिविधिमा लाग्न भ्याउँदैन । अहिले हाम्रो सार्क मुलुकका सन्दर्भमा एक–अर्का मुलुकमा जान अप्ठ्यारो हुने, भिसा नपाउने अवस्था छ । तर, अमेरिका जान परे १० वर्षको मल्टिपल भिसा पाउँछौं, युरोप जाँदा पाँच वर्षको मल्टिपल भिसा पाउँछौं । त्यसैले हामीले सार्कका एक अर्को देशमा अध्ययन, भ्रमण वा व्यापार गर्न जाँदा सहज रूपमा भिसा पाउनुपर्छ भन्ने माग राख्यौं । अझ भारत र पाकिस्तानमा त एक–अर्कामा नाता पर्ने पनि छन् । नातेदारलाई समेत भेट्न जान सक्ने अवस्था छैन । त्यसैले भिसा फ्रि गर्न माग गरेका छौं । त्यहाँ भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले पनि हामी केही गर्छौं भन्ने प्रतिबद्धता जनाउनुभएको थियो । म हालसालै भारतमा हुँदा पनि पाकिस्तानको बोर्डरबाट हिँडेर निस्कें । यो कुरा मैले भारतको पराराष्ट्र मन्त्रालयलाई पनि भनें । यसका लागि केही समय लाग्छ, यो महत्वपूर्ण प्रयास हो । यसलाई हामी निरन्तर अगाडि बढाउँछौं भन्ने प्रतिबद्धता छ । suraj 1

भारतसँग नेपालको व्यापार सम्झौता भएको लामो समय भयो तर त्यो व्यापारलाई किन औद्योगिकीकरणसँग जोड्न सकिएन ?

नसकिएको त नभनौं । नेपालको सबैभन्दा बढी निर्यात हुने देश र सबैभन्दा बढी लगानी गर्ने विदेशी मुलुक भनेको भारत नै हो । यस नाताले हाम्रो सम्बन्ध अगाडि नबढेको होइन, बढेको छ । मेरा केही विदेशी साथीले पनि भन्ने गर्नुहुन्छ कि नेपालमा लगानी गर्न अरू मुलुकमा भन्दा धेरै सजिलो छ । तर, केही हदसम्मको हाम्रो आन्तरिक स्थितिका कारण अहिले अलि गाह्रो छ । केही अप्ठ्यारा कुरालाई सिष्टममा ल्याउनका लागि समय लाग्छ । हाम्रो मुलुकमा संविधान नै स्पष्ट रूपमा कोरिएको छैन । त्यसले गर्दा पनि गाह्रो परिरहेको छ । भारत र नेपालको सम्बन्ध भनेको निकै महत्वपूर्ण सम्बन्ध हो । तर, हामीले एक देशले अर्को देशलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन जरुरी छ । हामीले एक–अर्कालाई कदर नगर्ने समस्या छ । नेपाल सानो राष्ट्र भएका कारण भारतको चाहना नेपालमा के हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । भारतको चाहना भनेको नेपालप्रति सुरक्षा, अर्को जलस्रोत हो । साथसाथै नेपाल, भारत र चीनबीचमा बसेपछि नेपालले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ भन्ने पनि भारतको चाहना हो । भारतको चाहना बुझेर नेपालले भारतलाई सुरक्षाको सन्दर्भमा भारतविरोधी कुनै पनि क्रियाकलाप हुन नदिने कुरामा विश्वस्त पार्न सक्नुपर्यो । अर्को जलस्रोतको सवालमा दुवै देशको हितमा हुन सक्नेगरी स्पष्ट नीति लिन सक्नुपर्यो । त्यो नीति हामीले भारतलाई बुझाउन सक्नुपर्यो । भारत र चीनबीचमा बसेर राजनीति गर्ने, एकले अर्कोलाई देखाएर राजनीति गर्ने काम बन्द गर्नुपर्छ । त्यसो गर्ने हो भने नेपाल र भारतको सम्बन्ध सुदृढ हुन्छ र फाइदा नेपाली जनताले नै पाउने हुन् । भारतले यस्तो गर्यो, नेपालले त्यो गर्यो भन्ने जुन आरोप–प्रत्यारोप भइरहेका छन्, यसले दुवै देशलाई हानि पुर्याउँछ । नेपाल र भारतबीचको जुन कटुता छ, यो लामो समयसम्म रहनुहुँदैन भन्ने भित्री चाहना भारतको छ । नेपालमा रहिरहेको जुन अस्थिरता छ, यसले नेपालमा धेरैलाई खेल्ने मौका दिन्छ । विदेशी चलखेल नेपालमा सुरु हुन्छ भन्ने उसले बुझेको छ । भारत नेपालमा विकास होस् भन्ने नै चाहन्छ । त्यसैले नेपालले भारतीय चाहना बुझेर त्यहीअनुसार कदम चाल्नु जरुरी छ । तर, नेपालले अन्तर्राष्ट्रिय समुदायसामु सहयोग काम भने बन्द गुर्नुपर्छ । जति हामीले माग्छौं, हामी त्यति नै गरिब हुन्छौं। नेपाली–नेपालीले एक–अर्कामा विश्वास राखेर अगाडि बढ्ने हो भने भारतसँगको हाम्रो सम्बन्ध सही रूपमा अगाडि बढ्न सक्छ ।  

भारतको विकल्पका रूपमा कतिपय मान्छेले चाइनालाई हेर्ने गर्छन् । उद्योग व्यापारको क्षेत्रमा भारतको विकल्प चाइना सम्भव होला त ?

यो एकदम गलत सोच हो । भारत र चीनसँग मिलेर अगाडि बढ्दामात्र नेपालको विकास सम्भव छ । नेपाल भनेको भारत र चीनबीचमा बसेको जहाँ दुई सय बिलियन डलरको व्यापार सम्भावना बोकेको छ । त्यसबाट नेपालले फाइदा कसरी लिन सक्छ भन्ने नीतिमात्र हाम्रो हुनुपर्ने हो । तर, अहिले एक–अर्काबीचमा खेल्ने काम भइरहेको छ । चाइनाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भनेको भारत हो । भारतका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार भनेको आगामी पाँच वर्षमा चाइना हुन सक्छ । त्यसरी एउटा नयाँ शब्द निस्किएको छ– चिन्डिया । अहिले भारत र चाइनालाई चिन्डिया भनिन्छ । यो चिन्डियाले अर्को बीस वर्षमा विश्वलाई नै डोमिनेट गर्ने सम्भावना रहेको छ । त्यसले गर्दा हामी एक–अर्कामा खेल्नु गलत कुरा हो । आजको दिनमा नेपालबाहेक संसारका कुनै पनि मुलुकका लागि आर्थिक र विकासका मुद्दा प्राथमिकतामा रहेको हुन्छ । त्यसपछि राजनीति अर्को पाटोमा पर्ने गर्छ । तर, हाम्रो देशमा ठीक विपरीत छ । हालको सन्दर्भमा चाइना र भारतको सम्बन्ध नजिकिँदै गइरहेको छ । त्यसमा नेपालले न केही दिन सक्छ न त लिन नै । नेपाल र भारतबीचमा बसेर त्यो लेनदेनको फाइदा कसरी लिन सकिन्छ, त्यो नीतिमा हामी लाग्नु जरुरी छ । त्यसो नगर्ने हो भने नेपालले पाउन सक्ने सबै सम्भाव्यता गुमाउँछ । म एउटा उदाहरण दिन चाहन्छु– अहिले चाइनाको सबैभन्दा ठूलो नीति भनेको वान रोड वान इकोनोमिक बेल्ट हो । अहिले पाँच क्षेत्रमा वान रोड वान इकोनोमिक बेल्ट चाइनाले घोषणा गरिसक्यो । त्यसमा नेपाल कहीं पनि परेको छैन । चाइना, म्यानमार, बंगलादेश, भारत एउटा इकोनोमिक करिडोरका रूपमा आयो । चाइना र पाकिस्तान अर्को करिडोरमा, पाकिस्तान, अफगानिस्तान र ताजकिस्तान अर्को करिडोरमा आयो । खोई त नेपाल रु त्यसैले हामीविना विश्व नचल्ने होइन रहेछ । हामीविना सबै चलिरहेका छन् । नेपालका नेताहरू नेपालविना केही चल्दैन भन्ने सोच्छन् । हामीलाई कोही कुरेर बस्दैनन् । हामी आफैंले मौका गुमाउँदै गएका हौं। जबसम्म चाइना र इन्डियालाई एउटा नीति बनाएर पेस गर्दैनौं तबसम्म नेपालको विकास हुन सक्दैन । नेपाली युवाको खाडी र उत्तर–पूर्वका देशमा श्रम गर्नुबाहेक विकल्प रहँदैन ।

तपाईंले धेरै क्षेत्रमा लगानी गर्नुभएको छ तर सुरज वैद्य भन्नेबित्तिकै मानिसले टोयोटा गाडीलाई सम्झिन्छन् । टोयोटा गाडीको अवस्था अहिले कस्तो छ ?

हामीले यो सुरुवात गरेको पचास वर्ष भयो । हामीले स्वर्ण जयन्ती मनाउँदै छौं। मेरो बुवाले सुरुवात गर्नुभएको कम्पनी हो । यसमा हामीले थप गर्दै लगिरहेका छौं । नेपालमात्र नभई, संसारभरि टोयोटाको एउटा स्ट्यान्डर्ड र क्वालिटी छ । त्यसले गर्दा नै हामीले यसको ब्रान्डलाई सजिलै मार्केटमा ल्याउन सक्यौं । अन्यको दाँजोमा अलिकति महँगो भए पनि यसको मेन्टेनेन्स कस्ट सजिलो छ । हाम्रो नारा नै छ– कस्टोमर फस्र्ट, कस्टोमर्स स्याटिसफाई गरौं भन्ने आधारले नै हामी अगाडि बढ्छौं । हाम्रो अरू गाडीजस्तो क्वान्टिटीमा जाँदैन तर क्वालिटीमा हामी एकदम केन्द्रित छौं।

नेपालमा अहिलेसम्म गाडी अरू देशबाट यहाँ ल्याएर बिक्री गर्ने मात्र काम भयो । तर, तपाईंहरूजस्ता लगानी गर्न सक्ने मान्छेले नेपालमा किन

एसेम्लिङ उद्योग सञ्चालन गर्न नसकेको ? नेपाल सरकारको नीतिले गर्दा एसेम्लिङ गर्न अलि गाह्रो छ । किनभने पार्टस् पुर्जाको भन्सार शुल्क अत्यधिक महँगो छ । नेपालमा प्रयास नभएको होइन, हुलासको मुस्ताङ गाडी पनि बनाएकै हो । नेपालमा दक्ष जनशक्ति अभावका कारण सो गाडी उत्पादन बन्द हुन पुग्यो । म त के भन्छु भने यदि हामीले सुरुवात गर्ने नै हो भने साइकलबाट सुरु गरौं । तराईमा सबैभन्दा बढी साइकल चल्छ । मोटरसाइकलको कुरा गर्ने हो भने नेपालमा जति मोटरसाइकल अन्य कहीं पनि चल्दैन । त्योभन्दा महत्वपूर्ण सानो इलेक्ट्रिक मोटरसाइकल, साना इलेक्ट्रिक कारमा सरकारले विशेष सहुलियत दियो भने मुलुकलाई फाइदा हुन्थ्यो । चाइनामा प्रत्येक इलेक्ट्रिक गाडीमा सरकारले ६० प्रतिशत आर्थिक सहायता दिन्छ । हाम्रोमा त भन्सार आए पुग्यो । जति महँगो भए पनि कसैलाई मतलब छैन । देश विकासको कसैलाई वास्ता छैन । मान्छेले गाडी महँगो छ भन्छन् । तर, गाडी महँगो छैन, नेपालमा भन्सार महँगो हो ।

संविधान घोषणा भईसकेपछि तराई मधेश असन्तुष्ट छदै छ । तर, कतिपय व्यवसायिक घरानाले संक्रमणकाल सकियो भनेर लगानी थप्ने बाटोतिर अगाडि बढीरहेका छन् । तपार्ईंको समुहको लगानी थप्ने योजना के छ ?

हामी नेपाली नेपालको मायाकै कारणले यहाँ टिकिरहेका छौं । जसले नेपाल छाड्न चाह्यो उनीहरूले छाडिसके र जसले विदेशमा पैसा लगानी गरेर अर्बपति बन्न चाहेका थिए उनीहरू पनि अर्बपति बनिसके । हामीलाई कतिपयले मुर्ख पनि भन्ने गर्छन् र प्रश्न पनि गर्ने गर्छन् आखिर के पायौ त भनेर । तर, हामी यो मुलुक बन्नेमा विश्वस्त छौं । यहाँ प्रशस्त मात्रामा सम्भावना छन् । वैद्य ग्रुपले पनि विशेष लगानी नगरे पनि हामी पर्खेर बसिरहेका छौं कि यो मुलुकमा सम्भावना छ । अहिलेसम्म बाहिर गएर काम गर्ने स्थिति आइपरेको छैन । अलिकति यहाँका समस्या सुध्रिएपछि विभिन्न क्षेत्रमा हामी लगानी गर्छौं । हामी नेपालको छोरो यही मर्ने हो, यही लगानी गर्ने हो, हामी पछाडि हट्दैनौं ।  

हामीले कृषिमा प्रशस्त सम्भावना छ भन्छौं तर प्रशस्त लगानी गर्न सक्ने तपाईंहरूजस्तो ठूला लगानीकर्ताले कृषि क्षेत्रमा लगानी गरेको देखिँदैन । के समस्या छ ?

हाम्रो ग्रुपको सबैभन्दा बढी लगानी नै कृषिमा छ । धनकुटा, इलाममा हामीले चिया उत्पादन गरिरहेका छौं । नुवाकोटमा कफी उत्पादन र चिवनमा हामी पोल्ट्रीमा छौं । कृषिमा बढी सम्भावना छ भन्नेमा पनि हामी विश्वस्त छौं । तर, जुन आधारले कृषिको विकास हुनुपर्ने हो, त्यसरी हुन सकिरहेको छैन । महासंघको अध्यक्षको नाताले मैले एक जिल्ला, एक उत्पादन भन्ने योजना नै अघि बढाएको थिएँ । केही काम पनि अगाडि बढेको छ । सिन्धुली र रामेछापमा सात हजार ६ सय कृषक जुनारमा लागिरहेका छन् । हालसालै हामीले त्यहाँको कृषकसँग मिलेर एउटा फ्याक्ट्री स्थापना ग¥यौं । हामीले दसौं हजार म्याट्रिक टन जुनार नेपालबाट निर्यात गर्छौं भनेर हामीले सोचेका थियौं । हामीले विदेशबाट मेसिन ल्याएर लगानी पनि सुरु गर्यौं । तर, जुनप्रकारको जुनार आयो एकदम दुःख लाग्यो । त्यसमा एकप्रकारको फ्रुट फल्लाई भन्ने कीरा परेको छ । यो समस्या कृषकले सल्टाउन सक्दैनन् । यसका लागि त सरकार नै लाग्नुपर्छ । त्यसकारण सरकारको कृषिमा अझ लगानी हुनुपर्छ । हामी निजी क्षेत्र कृषिमा लगानी गर्दै छौं। जबसम्म सरकारले कृषि क्षेत्र हाम्रो प्राथमिकता हो भन्ने मनस्थिति बनाउँदैन तबसम्म कृषि क्षेत्रमा प्रगति हुँदैन । कृषकले नबुझेको होइन, उसले धेरै बुझेको छ तर समस्या के छ भने समयमा मल नआइ पुग्ने, समयमा कीटनाशक औषधि व्यवस्था नहुने अनि कसरी कृषि क्षेत्रको उन्नति हुन्छ । यसले गर्दा नेपाली कृषक पछाडि परेका हुन् । नेपालको भविष्य भनेको कृषि नै हो । फरकमात्र के छ भने जसले कृषिमा लगानी गर्छ, उसले मैले गर्छु भनेर अगाडि बढ्न सक्दैन । कृषिमा लगानी गर्दा हामी हाम्रो भन्ने शब्दले लगानी गर्यौं भने कृषि अगाडि बढ्छ । स्थानीय जनता, स्थानीय कृषकलाई साथमा लिएर काम गर्यो भने कृषिको सम्भावना छ ।

तपार्ईंले लगानी गर्नुभएको कृषिबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

धेरै अप्ठ्यारो छ । यो आठ महिनाको बन्दले धेरै समस्या भयो । कृषि कोकाकोला कम्पनीजस्तो होइन । कोकाकोला कम्पनीमा पानी ल्यायो पाउडर राख्यो बट्लिङ ग¥यो सकियो । तर, कृषि भनेको त्यसमा ज्यान हुन्छ । हरेक बिरुवामा जीवन हुन्छ । त्यो जीवनलाई कस्तो बनाउने त्यो महत्वपूर्ण हुन्छ । पोल्ट्रीकै कुरा गर्दा जब तराईमा समस्या भयो एक दिनको चल्ला तुरुन्तै बेचिहाल्नुपर्छ किसानलाई तर जब बन्द भयो त्यो पूरै क्षेत्रलाई एकदम समस्या पा¥यो । कृषि भन्ने चीजलाई हरेक दिनले प्रभाव पारिरहेको हुन्छ । सरकारले पनि यसमा बुझेर नबुझेकोजस्तो गरिरहेको छ । समस्या छ तर पनि नेपालको भविष्य भनेको कृषि र पर्यटन नै हो ।

नेपालको विकासमा ठूलो सम्भावना बोकेका भनिएका अर्का महत्वपूर्ण क्षेत्र टुरिजम र जलबिद्युत हुन्, त्यसमा तपाईंको लगानीको अवस्था के छ ?

जलविद्युत्मा मैले हात हालेको थिएँ । तर, अहिले निकालिसकें, किनभने नबुझेको ठाउँमा हात हाल्न हुन्न भन्ने सुनेको, त्यो ठीक पनि लाग्यो । जलविद्युत्मा सम्भावना म देख्छु । जलविद्युत्मा लगानी गर्न आफू प्राविधिक रूपमा सक्षम हुनुपर्ने रहेछ । अर्को पर्यटन क्षेत्रमा हामी अवश्य लगानी गर्छौं । यो प्रचुर मात्रामा सम्भावना भएको क्षेत्र हो । अहिले हामीले गर्न खोजेको भनेको यदि नेपाल सरकारले अलिकति ठाउँ दियो भने निजी क्षेत्रको औद्योगिक क्षेत्रमा म लाग्छु । हामीले नै प्रयास गरेपछि दमक औद्योगिक पार्क आउने सुनिरहेका छौं । साथसाथै भैरहवाको पनि घोषणा भएको छ । सरकार अलि स्पष्ट नभएका कारणले गर्दा लगानी भित्र्याउन सकिरहेका छैनौं। पहिले त पूर्वाधारकै कुरा आउँछ । हामी त्यसमै प्रयासरत छौं ।

नेपालको विकासका लागि सरकारबाट निजी क्षेत्रको अपेक्षा के हो ?

नेपालको भविष्य उद्योगमा छैन हामी भन्छौं तर त्यो मलाई लाग्दैन । म भर्खरैमात्र भुटानबाट फर्किएँ । ऊर्जा आफ्नो मुलुकमा अलिकति चाहिएको भन्दा बढी भयो भने त्यसले कति सहयोग पु¥याउँछ भन्ने कुरा भुटानले देखाएको छ । अहिले एनइएले के भन्छ भने चाहिनेभन्दा बढी उत्पादन भयो भन्छ । त्यो भन्नुभन्दा पनि ऊर्जाबाट हामीले कस्ताखालका उद्योग ल्याउन सक्छौं । मान्छेको जीवनस्तर कसरी परिवर्तन गर्न सक्छौं भन्नेखालको नीति हुनुप¥यो । प्रत्येक घरमा ग्यासभन्दा पनि इलेक्ट्रिक चुलो ल्याउन जरुरी छ । यस्ता नीति सरकारले बनायो भने मुलुक दिगो हुन्छ । स्पष्ट रूपमा राजनीतिज्ञलाई के भन्न चाहन्छु भने तपार्ईंहरूलाई लागेको होला कि मैले मुलुकका लागि धेरै राम्रो गरेको छु । तर, मुलुकमा जति हानि भइरहेको छ, त्यो तपार्ईंहरूले बुझिरहनुभएको छैन । हाम्रो भविष्य हामी आफैंले गुमाइरहेका छौं । समयले हामीलाई कुरिरहेको छैन । प्रगति र संसारले नेपालका लागि कुरिरहेको छैन । त्यो बाटो उनीहरूले नै खोज्छन् र त्यो बाटोमा नेपाल परेन भने हामी धेरै नै पछि पर्छौं । राजनीतिमा जे गर्नुहुन्छ गर्नुहोस् तर विकास गर्ने मान्छेलाई विकास गर्ने ठाउँ दिनुहोस् । गरिखान देऊ, यो नेपाल बन्छ । तपार्ईंहरूले हामीलाई खुवाउनु पर्दैन गर्ने मात्र वातावरण बनाइदिनुस् । हाम्रो माग त्यही हो । संविधान पनि हामीलाई चाहिएको छैन गर्ने बाटोमात्र चाहिएको छ । यो मुलुकभन्दा सुन्दर मुलुक अन्त छैन । म अफगानस्तिान गएँ सार्क अध्यक्षको नाताले । मैले त्यहाँको समस्या देखें– पाकिस्तानमा समस्या त्यति नै छ । भारत जतिसुकै ठूलो मुलुक भए पनि उसको समस्या त्यत्तिकै छ । भुटानको समस्या त्यत्तिकै छ । बंगलादेशको समस्या त्यस्तै छ । कसैको धर्म मानेर नेपालमा मारकाट हुँदैन । यहाँ शान्ति छ । नेपाली जनताजस्तो संसारमा कसैले पाउँदैनन् त्यसैले जनतालाई धेरै धैर्य गर्नतिर भन्दा पनि विकासको बाटोतिर लाग्न म आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री