शुक्रबार, १४ वैशाख २०८१

उद्योग सुरक्षित छैन धेरै सोचेर ट्रेडिङमा मात्र केन्द्रित भए : दीपक मलहोत्रा

समयपोष्ट २०७३ साउन २४ गते ९:३८

नेपालमा सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आईएमएस) का अध्यक्ष दीपक मलहोत्रा चर्चित व्यवसायी हुन् । सानैदेखि व्यापारमा रुचि भएका उनी अहिले व्यापारबाटै करोडौंका मालिक भएका छन् । मलहोत्राको लगानी मोबाइल सेटको व्यापारसँगै होटल, अर्नामेन्ट, बैंकिङ, अस्पताल र अटोमोबाइलसम्म पुगेको छ । अहिले उनले त्रिभुवन विमानस्थलमा अराइभल पार्किङ र अफिस कम्प्लेक्स निर्माणमा लागिरहेका छन् । भविष्यमा पर्यटन, कृषि र ऊर्जामा लगानी गर्ने सोच बनाएका मलहोत्रासँग समयबोधले गरेको कुराकानी ।

Advertisement

सामसुङ मोबाइलको अवस्था 

सामसुङ मोबाइल मैले सुरु गरेको २००१ बाट हो । नेपालमा वैधानिक रूपमा सबैभन्दा पहिले मोबाइल भित्र्याएको हामीले नै हो । त्यतिबेला वर्षको चार,पाँच हजार सेटमात्र बेच्थें । यो अवधिमा निकै मेहनत गरें, लगनसाथ एकजुट भएर काम गर्यौं । त्यो बेलादेखि सुधार हुँदै आजको अवस्थासम्म आइपुग्दा संख्या र मूल्यका आधारमा हामी नम्बर एक नै छौं ।
अहिले भर्खरमात्र हामीले लन्च गरेको एस ७ मोडल अन्तर्राष्ट्रिय बजारमा पनि निकै हिट भयो । यसको रिभ्यु पनि धेरै राम्रो छ । यो नेपालमा धेरै राम्रो हुने देखिन्छ । यसअघिको एस सिक्स ब्याडलक भयो । पहिलो कुरा बार्सिलोनामा लन्च गरेर आउँदा प्लेन क्र्यास भयो । त्यसपछि नेपालमा लन्च गर्यौं  । यो लन्च गर्दाबित्तिकै भूकम्प गयो । त्यसले बिक्रीमा ठूलो प्रभाव पार्यो। त्यसपछिको नाकाबन्दीले गर्दा एस सिक्स त्यति राम्रो हुन सकेन ।
त्यसको ठीकविपरीत एस सेभन धेरै राम्रो भएको छ । नेपाली जनताले सामसुङ मोबाइलमा अत्यधिक विश्वास पनि गरेका छन् । कम्पनीको पोलिसी सबै हेर्दा धेरै राम्रो भएको छ ।
भूकम्प र तराई आन्दोलनको प्रभाव
अहिले मोबाइल मान्छेलाई नभई नहुने अपरिहार्य वस्तु भएको छ । यसलाई फेसन र सिम्बोल अफ प्रेस्टिजका रूपमा पनि हेर्ने गरिएको छ । भूकम्पपछि अन्य वस्तुमा असर परेझैं यसमा पनि असर पर्छ जस्तो लागेको थियो । तर, अलि ठूलो मूल्यका मोडलमा असर परे पनि कम मूल्यका मोडल १० देखि ३० हजारसम्मका मोडल भूकम्प आउँदा झन् बढी बिक्री भयो । सूचना सञ्चारका कारणले गर्दा मोबाइलको बजारलाई खासै प्रभाव पारेन । तराई आन्दालनले पनि मोबाइल बजारमा खासै असर गरेन । किनभने यसको ओसारपसार हवाईमार्गबाट हुन्छ । यसले गर्दा मोबाइल सटेज पनि हुन पाएन । मोबाइल भनेको नभई नहुने नयाँ–नयाँ अपग्रेट भएर आउने हुनाले मान्छेले मोबाइल चेन्ज गरिरहन्छन् । पहिला–पहिला स्मार्ट फोन नहुँदा मान्छेले दुई,तीन वर्ष मोबाइल चेन्ज गर्दैनथे । अहिले स्मार्ट फोन आइसकेपछि एक,डेढ वर्षमा मान्छेले मोबाइल चेन्ज गर्छन् । यो समग्र हेर्दा मोबाइलको व्यापार राम्रो छ ।
deepak-malhotra विदेशी व्यवस्थापन
अहिले हाम्रो आईएमएसमा विदेशी व्यवस्थापन छ । अन्तर्राष्ट्रिय बजारसँग हरेक कुरा अपडेट गर्नुपर्ने हुन्छ । हामी हाम्रो व्यवस्थापनमा चलाउँदा विश्व बजारमा कुन ठाउँमा कति मूल्यमा पाइरहेको छ, स्किम, कम्पनीको पोलिसिबारे अन्तर्राष्ट्रिय अवस्था थाहा नहुन सक्छ, हामी नेपालको मात्र कुरा गर्छाैं, कम्पनीले जे भन्यो त्यो विश्वास गरेर बस्नुपर्ने हुन्छ । तर, अन्तर्राष्ट्रिय व्यवस्थापन आइसकेपछि उसलाई संसारभरिका मोबाइल फोनबारे थाहा हुन्छ । उनीहरूले संसारभरि सामसुङ फोन कसरी बिक्री भइरहेको छ भनेर हामीलाई देखाएका छन् । कुन मुलुकमा कुन मूल्यमा, कस्तो नीतिमा बिक्री भइरहेको छ, कति उधारोमा बिक्री भइरहेको भन्नेजस्ता कुराको ज्ञान त हामीलाई छैन । कम्पनीले जे भन्यो त्यही मान्नुपर्छ । विदेशी व्यवस्थापनले यस्ता विषयमा हामीलाई फिडब्याक दिएको छ । नेटवर्किङदेखि अन्य धेरै कुरामा हामीलाई सहज बनाइदिएका छन् ।

अटोमोबाइल
हामीले अब मोटरको व्यापार पनि सुरु गरेका छौं । कोरियन गाडी साङयोङको हामी आधिकारिक बिक्रेता भएका छौं । साङयोङ गाडी कोरियाको उत्कृष्ट ब्रान्ड भएकोले बिक्रीपछिको सेवालाई समेत उच्च प्राथमिकतामा राखेका छौं ।

होटल व्यवसाय
हामीले इन्टरनेसनल होटल्स प्रालिको नाममा होटल सुरु गर्यौं। हामी धेरै अगाडि पुगिसकेका थियौं तर भूकम्प गइसकेपछि केही समयका लागि यो व्यवसाय धराशयी भयो । अहिले बिस्तारै पिकअप गर्दै छ । केही समय मर्मतका लागि रोकेका थियौं, अहिले पुनः सुरु गरेका छौं । आउँदो डिसेम्बरसम्ममा त्यो काम पूरा हुन्छ । जनवरीदेखि होटल फुल फ्लेजमा सञ्चालन हुन्छ ।
होटल व्यवसाय मेरो पुख्र्यौली व्यवसाय हो । मेरो बुवाले पनि होटल नै गर्नुभएको थियो । यसमा मेरो भावनात्मक सम्बन्ध पनि छ । पछि म बेग्लै व्यवसायमा लागें । अहिले जसले जे भने पनि पछि नेपाल पर्यटनमै निर्भर हुनुपर्छ । पछि हाम्रो मुख्य उद्योग पनि पर्यटन नै हुन्छ । देशमा राजनीतिक अस्थिरताले गर्दा पर्यटन व्यवसायको प्रमोसन हुन सकेको छैन । सरकारको पर्यटनलाई कसरी प्रमोसन गर्ने भन्ने ध्यान छैन । सरकार एक÷डेढ वर्ष कुर्सी कसरी जोगाउने भन्नेमात्र ध्यानमा छ । जुन दिन सबै कुरामा स्थिरता आउँछ त्यसपछिको फोकस पर्यटन उद्योगमा हुन्छ । त्यो बेला ठूला स्तरीय होटलको धेरै कमी हुन्छ । त्यो कारणले गर्दा लङ भिजनसाथ हामी होटल व्यवसायमा छिरेका हौं ।
विमानस्थलमा अफिस कम्प्लेक्स र अराइभल पार्किङ
हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अराइभल पार्किङ र अफिस कम्प्लेक्स बनाउँदै छौं ।
भूकम्प र नाकाबन्दीले गर्दा केही समय ढिलो हुन यो । त्यसका लागि अहिले हाम्रो कन्टेक्सन एकदमै चालु छ । अबको चार महिनामा हामी पार्किङ, अराइभल हल सुरु गर्छौं, त्यसको तीन,चार महिनामा हामी बिजनेस कम्प्लेक्स सुरु गर्छाैं यो अहिले एकदमै द्रुत रूपमा अगाडि बढिरहेको छ । यो ५० देखि ५५ करोडको लगानीमा सम्पन्न हुँदै छ । यसमा आठ सय गाडी पार्किङ हुन्छ । यसमा बेसमेन्ट र ग्राउन्ड फ्लोरमा पार्किङ हुन्छ । त्यसपछि एउटा अराइभल दुईतले हल हुन्छ । अराइभल हलमा प्यासेन्जर लिन आउने मानिस बस्छन् । अहिलेको जस्तो बाहिर खुला आकाशमुनि पर्खिनु पर्दैन, टेलिभिजन हेर्दै कुर्न पाउँछन् । योसँगै ६० हजार स्क्वायर फिट जतिको रिङरोडतिर फेस गरेर एउटा बिल्डिङ पनि बनाउँछौं । यो बिल्डिङमा एयरपोर्टसँग सरोकार राख्ने कार्यालय रहनेछन् । ती कार्यालय अहिले एयरपोर्टले ठाउँ दिन नसकेर छरिएर बसेका छन् । ती सबैलाई हामी एउटै छातामुनि ल्याउन अफिस कम्प्लेक्स बनाइरहेका छौं । यो प्राजेक्ट ३० वर्षका लागि निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रक्रियामा जग्गा लिएर निर्माण सुरु गरेका हौं । ३० वर्षपछि हामी नागरिक उड्डययन प्राधिकरणलाई यो संरचना हस्तान्तरण गछौं ।
अर्नामेन्ट व्यवसाय
भूकम्प र नाकाबन्दीले ठूलो प्रभाव पारेको व्यवसायमध्ये एउटा अर्नामेन्ट पनि हो । बीचमा यसको अवस्था एकदमै शिथिल भयो । अहिले बिस्तारै सुधार देखापर्दै छ । मेरो इबिसु ज्वेलर्स छ, त्यसमा पनि यसको मार परेको छ । अहिले सुधारोन्मुख छ । तर, ज्वेलरी व्यवसायका पनि चुनौती धेरै छन् । अहिले सरकारले दिने सुनले हामीलाई पुग्दैन । बैंकको सुन पनि पसलेले सिधा किन्न पाउँदैनन् । बीचका होलसेलरले लिने हो । उनीहरूसँग हामीले किन्दा महँगोमा किन्नुपर्छ । तर, हामीले गहना बिक्री गर्दा सुन, चाँदी व्यवसायी संघले तोकेको मूल्यमा बिक्री गर्नुपर्छ । संघले तोक्ने मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य हो । सरकारले सबै पसललाई आवश्यक सुन उपलब्ध गराइदिए यो समस्या आउँदैनथ्यो ।
उद्योगभन्दा ट्रेडिङ सुरक्षित 
सानोदेखि म जे गर्छु, आफैं गर्छु भन्ने सोच थियो । आफ्नो खुट्टामा आफैं उभिऊँ, बाउबाजेको बिजनेस क्यारी गर्दिनँ भन्ने बच्चैदेखिको सोच थियो । त्यही सोचसाथ २०३७ मा म शंकरदेव क्याम्पसमा डिप्लोमा पढ्दै थिएँ । त्यहीबेलादेखि म ट्रेडिङमा प्रवेश गरें ।
मैले धेरै सोच–विचार पु¥याएर नै उद्योगभन्दा ट्रेडिङलाई फोकस गरेको हुँ । आज नेपालमा जति पनि उद्योगधन्दा गरिरहेका उद्योगी छन्, कोही पनि खुसी हुन सकेका छैनन् । यसको पहिलो कारण भनेका लोडसेडिङ हो । डिजेलबाट उद्योग सञ्चालन गर्दा लागत बढ्छ । त्यसले गर्दा अहिले मान्छेले ट्रेडिङमा मात्र ध्यान दिइरहेका छन् । जबसम्म लोडसेडिङ समस्या समाधान हुँदैन तबसम्म उद्योगधन्दा राम्रोसञ्ग सञ्चालन हुन सक्दैन । अर्को ट्रेड युनियनको समस्या पनि त्यत्तिकै छ । युनियनले कर्मचारीको हक–हित र संरक्षण गर्नुपर्छ भन्ने कुरा स्वाभाविक हो । त्यसका लागि सरकारले कानुनमै व्यवस्था गरिदिएर विभिन्न पार्टीका आ–आफ्ना ट्रेड युनियन नभएको भए सजिलो हुन्थ्यो । ती युनियनका नामबाट केही मान्छे भित्र छिरेर नचाहिँदा डिमान्ड गरेर उद्योग बन्द गर्ने गरेका छन् । विदेशी लगानीमा आएका उद्योग बन्द गरेका उदाहरण हाम्रै आँखाअगाडि नै छन् । यसैले जबसम्म नेपालमा स्थिर सरकार, लोसेडिङ र युनियनको समस्या समाधानहुँदैन तबसम्म म उद्योगधन्दामा छिर्ने कुनै योजनामा छैन । उद्योगमा एकपटक पुँजी  लगानी गरिसकेपछि उद्योग चलेन भने सम्पूर्ण पुँजी नै डुब्ने खतरा हुन्छ । तर, ट्रेडिङमा यो समस्या आउँदैन, त्यहा सामानमा मात्र लगानी हुन्छ, त्यो ट्रेडिङलाई म जुनसुकै बेला पनि बन्द गर्न सक्छु तर उद्योग बन्द गर्दा कराडांैको क्षति हुन्छ । त्यसैले उद्योगभन्दा ट्रेडिङ धेरै सुरक्षित छ ।
आगामी योजना
हाम्रो सरकारले दुनियाँभरिको व्यापार, विदेशी लगानी भन्छ । तर लोडसेडिङ समस्या समाधान नभएसम्म केही पनि हुन सक्दैन । आज २१औं शताब्दीमा बिजुलीविना कुनै काम सम्भव छैन । बिजुली दिन नसक्ने सरकारले ठूलो कुरा किन गर्नु । मेरो सरकारसँग के आग्रह छ भने सबै कुरा थाती राखेर नेपालमा पहिलो नम्बरमा बिजुली पूर्ण रूपमा दिन सक्नुपर्छ । कानुनी शासन कायम हुनुपर्छ । त्यसपछि बाटोघाटो इन्फ्रास्ट्रक्चर भइसकेपछि मात्र अरू कुरा क्रमिक रूपमा विकास हुन्छ । मेरो आगामी बाटो भनेको पर्यटन उद्योग कसरी विकास गर्ने नै हो । लोडसेडिङको समस्या अन्त्य गर्न हामीले सरकारसँग सोलार पावरबारे पनि छलफल गरिरहेका छौं । सोलारका लगानी अलिकति बढी हुन्छ, २४ घन्टा हामी बिजुली निकाल्न सक्दैनौं, हाइड्रोपावरभन्दा छुट्टै रेट पाउने हो भने हामी सोलारमा पनि लगानी गर्न तयार छौं । योसँगै कृषिमा पनि केही गरौं भन्ने सोच छ, त्यसका लागि अध्ययन गरिहेका छौं । तर, केही वर्षका लागि हाम्रो टिम सामसुङ, होटल, अराइभल पार्किङ र ज्वेलरी सपमै केन्द्रित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री