बिहीबार, १३ वैशाख २०८१

उद्योग चलाउनु राष्ट्रवादी काम हो :हेमराज ढकाल,अध्यक्ष, हेरिटेज फ्लोरिङ कार्पेट इन्ड्रष्ट्रिज

समयपोष्ट २०७३ साउन २४ गते ९:३५

हेमराज ढकाल, हेरिटेज फ्लोरिङ कार्पेट इन्ड्रष्ट्रिज प्रालिका अध्यक्ष हुन् । पूर्वी नेपालको भोजपुर, याकुमा जन्मीएका उनी सानै उमेरमा झापामा वसोवास सरेका थिए । उनका दाजुहरू पनि उद्योगमा संलग्न भएकाले उनलाई उद्योग खोल्नु राष्ट्रवादी कामजस्तो लाग्थ्यो । उच्चशिक्षाका लागि अस्ट्रेलिया गएका उनले स्वदेश फर्किएर कुनै उद्योग सञ्चालन गर्ने सोच बनाए । यसको तयारीस्वरूप उनी विभिन्न देशका उद्योगको अध्ययन, अनुसन्धान गर्न थाले । लामो अनुसन्धानपछि उनले नेपालमा आएर हेरिटेज कार्पेट इन्डष्ट्रिज खोले र म्याटेस उत्पादन गर्न थाले । चार वर्षदेखि उनले म्याट्रेससँगै कार्पेट पनि उत्पादन गरिरहेका छन् । हेरिटेज कार्पेटले अहिले आयातीत कार्पेटको ४० प्रतिशत बजार हिस्सा नै विस्थापित गरिदिएको ढकालको दाबी छ । आन्तरिक बजारमा स्थापित भइसकेकाले उनले अब हेरिटेज ब्रान्डका उत्पादनलाई प्राथमिकतामै राखेर निर्यात बढाउने योजना बनाएका छन् । फर्निसिङसँगै चिया र बैंकिङ क्षेत्रमा समेत रहेका ढकालसँग समयबोधले गरेको कुराकानी ।

Advertisement

नेपालमा कार्पेट र म्याट्रेसको अवस्था कस्तो छ ?

नेपालमा कार्पेट तथा म्याट्रेसको बजार बिस्तारै स्थापित हुँदै गएको छ । उपभोक्तालाई हेरिटेजले नै म्याट्रेसको उपभोग गर्न सिकाएको हो । अहिले सहरी जीवनमा कार्पेट र म्याट्रेस प्रयोग अनिवार्यजस्तै बन्दै गएको छ । यातायातका साधन पुगेका जिल्लामा पनि यसको प्रयोग बढ्दो छ । हामीले म्याट्रेसबाट यो उद्योग सुरु गरेको थियौं । सुरु गर्दा यसको कुनै पनि उद्योग थिएन । नेपालमा पहिलोपटक हेरिटेज ब्रान्डले म्याट्रेस उत्पादन गरेको हो । त्यतिखेर नेपालमा भारत र चीनबाट आयातमात्र हुन्थ्यो । हामीले पनि इम्पोर्ट सुरु गरेर मानिसलाई एजुकेट गर्दै म्याट्रेस प्रयोग गर्न सिकाउँदै सुरु गरेका थियौं । हेरिटेज ब्रान्डको कार्पेट उत्पादन गर्न थालेको चार वर्षमात्र भएको छ । फर्निसिङकै सेगमेन्टमा जाँदा हामी कार्पेट उद्योगमा लागेका हौं ।
बजारमा तपार्ईंंको ब्रान्डको उपस्थिति अहिले कस्तो छ ?
पहिले बजार नेटवर्क म्याट्रेसबाटै बनाइसकेका थियौं । नेपालको ७५ जिल्लामा म्याट्रेस जान थालिसकेको थियो । यसको बलियो ब्रान्ड र नेटवर्क थियो, त्यही प्रयोग गरेर अगाडि बढ्दा कार्पेट उत्पादन गर्न थालेको ६ महिनामै हामी नेपालकै सबैभन्दा ठूलो भइसकेका थियौं । त्यसैले गर्दा कार्पेटको बजार विस्तारमा हामीलाई गाह्रो भएन । अहिले यहाँ उत्पादन हुने तीन कार्पेटमा हामी अगाडि छौं ।
अहिले तपाईंको उद्योगबाट कति प्रकारका कार्पेट उत्पादन हुन्छन् ?
पहिले नेपालमा रिब्ड भन्ने कार्पेटमात्र बन्थ्यो । एउटै सेगमेन्ट २२ वर्षदेखि चलिरहेको थियो । हामीले ग्राफिक, भेलोर, डिजाइनवाला ल्यायौं । प्लेन भेलोर पनि ल्यायौं । हामीले ६ वटा सेगमेन्ट ल्यायौं । रिब्डमा पनि अलग–अलग स्ट्राइप रिब्ड,नाइन थ्रीभ्स रिब्ड, थ्रीरिब्ड भन्ने पनि ल्यायौं । हामीले लन्च गर्दादेखि नै रिब्ड, जकार्ड, ग्राफिक, भेलोर, निडल पन्च, स्ट्राइभ गरी ६÷७ सेगमेन्ट बनायौं । रिब्ड आउट डेटेड पनि भइसकेको थियो । त्यो मात्र समयानुकुल भएन भनेर हामीले जकार्ड भन्ने ग्राफिकलाई बढी जोड दियौं । अहिले अरू उद्योग पनि हाम्रैजस्तै उत्पादन ल्याउने हिसाबमा हिँडिसक्नुभएको छ ।
म्याट्रेस तथा कार्पेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ कहाँबाट आयात गर्नुहुन्छ ?
कच्चा पदार्थको समस्या छ । हामीले यहीँ बनाउन पनि सक्छौं । पोलिस्टर, फाइबर र पोलिपप्लिन फाइबर हो । पोलिपप्लिन फाइबर पेट्रोलियम पदार्थ उत्पादन भएकाले यहाँ सम्भव छैन । तर, पोलिस्टर फाइबर यहीँ बनाउन सक्छौं । हामीले पनि कोसिस गरेका हौं । तर, यसका लागि २४सै घन्टा बिजुली चाहिने भएकाले असम्भवजस्तै भएको छ । जेनेरेटर चलाएर सम्भव छैन । अहिले पनि यहाँ भएको कच्चा पदार्थ भारत गएको छ । यहाँ उद्योग राख्न बिजुलीका कारण सम्भव नभएको हो । त्यसैले यसको फाइबर भारत, चीन, युरोप र अरब मुलुकबाट ल्याउने गरेका छौं ।
कच्चा पदार्थ यहाँ उत्पादन गर्न सरकारले के गरिदिनुपर्छ ?
पहिलो सर्त भनेकै २४सै घन्टा बिजुली दिन सक्नुपर्छ । यो खोलिसकेपछि रोक्न मिल्दैन । ३६५ दिनमा ३६० दिन नै चल्नुपर्छ । यसको लामो प्रोसेस हुने भएकाले बीचमा रोक्न मिल्दैन । म आफैं बनाउन तयार छु । सरकारले मात्र बिजुली दिन सक्नुपर्छ ।
नेपालमा आयातीत कार्पेटसँग कसरी प्रतिस्पर्धा गर्नुभएको छ ?
पहिले हामीले जुन चकार्ड बनायौं, त्यो यहाँ बन्दैनथ्यो । सबै आयातीतमात्र हुन्थ्यो । हामीले चार सयदेखि ५ सयको रेन्जमा दिन्छौं । त्यो पहिले आठ सयभन्दा तल थिएन । त्यसैले हामीले यहाँ उत्पादनमात्र गरेनौं कि ३०÷३५ प्रतिशत कस्ट पनि घटाएर बजारमा ल्यायौं । हामीले उत्पादन पनि अन्तर्राष्ट्रिय नयाँ प्रविधिबाट अन्तर्राष्ट्रिय गुणस्तरकै दिइरहेका छौं । नेपाल सानो मुलुक भएकाले बाहिरबाट आउने भनेको धेरै डम्पिङ प्रडक्ट हो । त्यहाँ प्रयोग नभएको कम गुणस्तरको आउँछ ।
अहिले यहाँको कन्जुमरले हेरिटेज पाएसम्म अरू लिँदैन । हाम्रो गुणस्तरीय तथा वारेन्टी ग्यारेन्टी भयो । यहीँ उत्पादन भएकाले उनीहरूले बिक्री पछिको सेवाको लागी दाबी गर्ने ठाउँ छ । बिक्रीपछिको सेवा, वारेन्टीग्यारेन्टीलगायतका सेवा स्वदेशी स्थापित ब्रान्डले मात्र दिन सक्छन् । स्वदेशी उत्पादनले आफ्नो ब्रान्ड स्थापित गरी आफ्ना उत्पादनको बिक्री गर्नुपर्ने भएकाले भरपर्दो सेवा पाउन सकिन्छ । उपभोक्ताले विदेशी उत्पादनमात्र राम्रो हुन्छ भन्ने भ्रम हटाई स्वदेशी उत्पादनलाई पनि विश्वास गर्न थाल्नुभएको छ । स्वदेशी उद्योग आफ्ना उत्पादनप्रति बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्ता उत्पादन झनै गुणस्तरीय हुन्छन् भन्ने ग्राहकले बुझ्दै गएका छन् ।
hemraj-dhakalग्राहकले कस्तो कार्पेट रोज्ने ?
नेपालमा भारतबाट इम्र्पोटेड म्याट्रिक्स तथा कार्पेट राम्रो भन्ने धारणा छ । तर, हाम्रो प्रविधि पनि त्यही भारतमा भएजस्तै हो । प्रोससिन त्यही हो । यहाँ हामीले उत्पादन सुरु गरे पछि भागेर जान मिल्दैन । ग्राहकले चित्त नबुझे दाबी गर्न सक्छन् । त्यसैले हामीले ग्राहकलाई एजुकेट गर्दै छौं । कार्पेटको केसमा त करिब मानिसले बुझिसकेका छन् । म्याट्रेसमा बुझ्न अझै बाँकी छ । सानो मार्केटमा एक्सपोर्ट गर्दा सानो प्लेयरले स्थापित नेटवर्क प्रयोग नगरीकन फटाफट बेचेर फटाफट पैसा कमाउने दाउ हुन्छ । कमसल सामानलाई राम्रो प्याकेजिङ गरेर बजारमा ल्याउने र केही समयमै बजारबाट हराउने व्यापारीको संख्या धेरै छ ।
तर, हामी त यहाँ लङ रनमा लगानी गरेका छौं । कर तिरेका छौं, रोजगारी दिएका छौं । हामी यहीँ टिकेर बस्नुपर्ने भएकाले हाम्रा उत्पादन सबै गुणस्तरीय हुन्छन् । हामीले मेड इन नेपाल भनेर मेन स्पोन्सर भएर प्रदर्शनी पनि गरेका थियौं । त्यसैले हाम्रोमात्र होइन, कुनै पनि नेपालमा बनेको उत्पादन राम्रो र गुणस्तरीय हुन्छ । यो मानिसले बुझ्दै गएका छन् ।
उद्योगका मुख्य समस्या के–के छन् ?
पहिलेदेखि नै ल एन्ड अर्डरको समस्या छ । सायद अब संविधान आएको छ, सुध्रँदै जाला । लोडसेडिङ, श्रम, यातायातलगायत समस्या छन् । मेरो थानकोटमा पनि उद्योग छ । त्यत्तिको उद्योग गएपछि सरकारले बाटो बनाइदिए हुन्थ्यो । ल एन्ड अर्डर कमजोर भएकाले त्यहाँका गाउँलेले एउटा–एउटा निहुँ खोजेर गाडी गुड्न नदिने समस्या छँदै छन् । उद्योगलाई फेभर गर्ने बलियो नीति नै सरकारले ल्याएको छैन । त्यसैले हरेक उद्योग जस्तै कार्पेट, पस्मिना, गलैंचा विस्तापित हँदै गएका छन् । अन्य मुलुकमा एकपटक स्थापित भएपछि त्यो अपग्रेड हुँदै जान्छ । त्यसलाई सरकारले सुरक्षा दिएर बढाउँदै लैजान्छ । हाम्रो देशमा त्यस्तो होइन कि, एकपटक च्याउ उम्रेजसरी उम्रदै जान्छ अनि सरकारको सहयोग नपाएपछि बिस्तारै पलायन हँदै जान्छ ।
मुख्य समस्या भनेको यातायात र बिजुलीकै हो । वीरगन्ज र यहाँको दूरी नै कति छ र । अन्य मुलुकमा हाइस्पिड ट्रेनदेखि लिएर हाइवे सबै आइसक्यो । हाम्रोमा दस हजारमा ट्रान्सपोर्ट हुने चीजलाई ६० हजार तिर्नुपर्छ । यी सबै कुराले गर्दा हामी प्रतिस्पर्धी बन्न गाह्रो छ । हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरू भनेको मासमा प्रडक्सन गर्न सक्छन् । त्यहाँको मजदुरको कुरालाई राज्यले नियन्त्रण गरेको छ । त्यसैले उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीलाई गाह्रो छ । त्यसैले सरकारले यी समस्या हल गरेर स्वदेशी उद्योग फस्टाउने वातावरण बनाइदिनुपर्छ ।

कार्पेट तथा म्याटे«स निर्यातको सम्भावना कस्तो छ ?
म्याट्रेस नेचुरल रबर, कोयर, नरिबलको जटा भारतबाटै आउने हुँदा यहाँबाट भारत लगेर प्रतिस्पर्धा गर्न गाह्रो छ । कार्पेटको केसमा तीनवटैको उत्पादन गर्दा सबै नेपालको बजारमा खपत हुने अवस्था छैन । त्यसैले बोर्डरमा भएको एउटा फ्याक्ट्रीले निर्यात गर्छ । हाम्रो केसमा अलिकति फरक सेगमेन्ट, राम्रो गुणस्तर, राम्रो प्रविधि भएका कारणले गर्दा राम्रो उत्पादन बन्यो । त्यसैले सुरुवातदेखि नै हाम्रो उत्पादनलाई नेपालमै बेच्ने बजार पाइरहेका छौं। तर, हामीले निर्यात गर्ने ठाउँ भनेको भारत, चीन नै हो । त्योभन्दा धेरै जान सकिँदैन ।
तपार्ईंलाइ उद्योगतिर लाग्ने सोच कसरी आयो ?
म अस्ट्रेलिया बसेर पढें । सात÷आठ वर्ष विदेशी भएर बस्दाको अनुभव मसँग ताजै छ । जे गरे पनि आफ्नै देशमा केही गर्नुपर्छ भनेर म फर्कें । मेरा दाइहरू पहिलेदेखि नै उद्योगमा हुनुहुन्थ्यो । सानैदेखि उद्योग सञ्चालन गरेको देखेको थिएँ । मलाई उद्योग सञ्चालन गर्नु राष्ट्रवादी कामजस्तो लाग्थ्यो ।
अहिले अनुभव हुदैछ उद्योग सञ्चालन गर्नु साच्चिकै राष्ट्रवादी काम रहेछ । रोजगारी दिने, उत्पादन गर्ने, नेपालमा यति धेरै आयात छ । देश नै आयातमा निर्भर छ । जबसम्म औधोगिकीकरण हुँदैन कुनै पनि देशको अर्थतन्त्र आत्मनिर्भर हुन सक्दैन भन्ने मेरो मान्यता छ । त्यसैले त्यसलाई केही योगदान पुर्याउनुपर्छ भन्ने लाग्थ्यो । उद्योग सञ्चालन गर्न धेरै दुःख छ, त्यसको बाबजुद पनि व्यापार गर्न मलाई कहिले पनि मन लागेन ।
उद्योगमा अहिलेसम्म कति लगानी भयो र कतिलाई रोजगारी दिनुभएको छ ?
मेरो चिया बगान पनि छ । त्यो सबै टोटल गर्दा पाँच सयभन्दा बढीले रोजगारी पाएका होलान् । अप्रत्यक्ष बजारमा पनि रोजगारी जोड्दा लगभग सात÷आठ सयजति होलान् । अनि पुँजीको कुरा गर्दा सुरुवातमा नौ÷दस करोडबाट सुरु गरेका हौं । अहिले त हरेक वर्ष बढाउँदै लैजानुपर्छ, प्रविधि थप्दै लैजानुपर्छ । ठ्याक्कै कति भन्ने फिगर त मसँग छैन । अहिले आठदस करोड नभई त उद्योग नै खुल्दैन । भनेपछि काउन्टेबल अमाउन्ट नै होलाजस्तो लाग्छ ।
चिया बगान भन्नुभयो, त्यो कति जमिनमा गर्नुभएको छ ?
म झापाकै स्थानीय हुँ । मेरो मावलीदेखि लिएर घरको सबैले ठूला या साना गरी चिया बगान सञ्चालन गरिरहनुभएको छ । मलाई चिया बगान एकदम रमणीय लाग्थ्यो । त्यसैले आफ्नै पैतृक जग्गाबाट २०५४ बाट चिया बगान सुरुवात गरेको हुँ । लगभग एक सय ५० बिघामा चिया बगान छ ।
चियाको पनि तीन चरण हुने गर्छ । एउटा बगान लगाउने हरियो पत्ती निकाल्ने, त्यसपछि त्यसलाई प्रोेसेसिङ गर्ने फ्याक्ट्री भयो, अनि प्याकेजिङ गर्ने । चिया बगान हेर्दै पनि रमणीय फेरि इकोसाइकललाई मेन्टेन गर्न पनि रूखबिरुवा लगाउनुपर्ने, मानिसलाई घा“सदाउरा गर्न पनि हुने । पशुपन्छीको फार्मिङ गर्न पनि सम्भव हुने, त्यसैले चिया सञ्चालन गरियो । त्यसपछि म फर्निसिङ ट्रेडिङमा म राजधानी आए । यतै व्यस्त भइयो । त्यसैले हाम्रो बगानमात्र छ । धेरै उत्पादन र धेरै आयआर्जन त हु“दैन, खालि सस्टेनमात्र हुने अवस्था छ ।

उद्योगमा लगानी थप्ने आगामी केही योजना छन् कि ?
म्याट्रेसको फ्याक्ट्री थानकोटमा इनलार्ज गरेर यसको क्यापासिटी वृद्धि गरेर बढाउँदै छौं । कार्पेट बिछ्याउँदा ओछ्याउने र म्याट्रेसलाई पनि चाहिने इपिइ भन्ने फोम फ्याक्ट्री बन्दै छ । अब ५,६ महिनाभित्र यो लन्च हुँदैं छ । आगामी दिनमा यही फर्निसिङ उद्योगमै फोकस हुने विचार छ । अरू पनि उत्पादनका विषयमा गहन रूपमा अध्ययन गरिरहेका छौं । त्यसको अध्ययन पूरा भइनसक्दासम्म भनिहाल्न अपरिपक्वता होला । आफूले गरेको आफ्नो त्यति ठूलो, लगभग एक सय ५० बिघाको त्यो बगानलाई पनि फ्याक्ट्री बनाएर प्रोसेसिङ गर्ने, ब्रान्डिङ गर्ने योजना छ ।
त्यसलाई पनि समयानुकूल अगाडि लिएर जाने सोच छ । संविधान आयो, अलिकति राजनीतिक स्थायित्व भएको छ ।सबै दलको एजेन्डा विकास भएको छ । उहा“हरूले भनेजस्तै ऊर्जा र यातायातको विकास भयो भने हामी उद्योग गरेर आएका मानिस उद्योगमै बढी केन्द्रित हुन्छौं । आफूले सञ्चालन गरिरहेको उद्योगलाई नै थप्दै जाने विचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री