शनिबार, ५ जेठ २०८१

सडक विभागको प्रगति ७० प्रतिशत

समयपोष्ट २०८० साउन २८ गते १५:३८

Advertisement

आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो ।

अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति सोचेअनुरुप हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको थियो । त्यस अनुसार काम हुन सकेन् ।”

वैदेशिक सहायताका आयोजनामा आवश्यकता भन्दा बढी स्रोत राख्ने गरिएकाले अन्य आयोजनाको तुलनामा कम प्रगति हुने गरेको महानिर्देशक ढकालले बताउनुभयो । “सरकारले एक वर्षमा रकम विनियोजन गरेको आधारमा प्रगति मापन गरिन्छ”, उहाँले भन्नुभयो, “वैदेशिक सहायत र नेपाली गरी दुई किसिमको स्रोत विनियोजन भएका हुन्छन् । सोही अनुसार प्रगति पनि फरक हुन्छ ।”

बुटवाल–नारायणगढ सडकका लागि रू सात/आठ अर्बभन्दा बढी खर्च गर्न नसकिने जानकारी गराइएको जनाउँदै महानिर्देशक ढकालले उक्त आयोजनाका लागि १० अर्ब बढी रकम विनियोजना भएको बताउनुभयो । “बुटवाल–नारायणगढ वैदेशिक आयोजना भएकाले बढी रकम विनियोजन भयो । जसले गर्दा कम प्रगति देखियो”, उहाँले भन्नुभयो ।

Advertisement

राष्ट्रिय गौरवका सडक आयोजनामा अघिल्ला वर्षको तुलनामा गत वर्ष बढी प्रगति भएको ढकालले बताउनुभयो । उहाँका अनुसार उत्तर दक्षिण करिडोरअन्तर्गत कोशी, कर्णाली र कालीगण्डकी राजमार्ग पर्दछन् । कोशीमा ४२, कालीगण्डकीमा ४३ र कर्णालीमा २४ प्रतिशत भौतिक प्रगति भएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पुष्पलाल (मध्यपहाडी) मा ७२ र हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति भएको थियो ।

झन्डै तीन आर्थिक वर्षमा कोभिडका कारण अपेक्षाकृत काम हुन नसकेको बताउँदै महानिर्देशक ढकालले अघिल्ला वर्षको तुलनामा गत आवमा सन्तोषजनक प्रगति भएको उल्लेख गर्नुभयो । विभागले सङ्घीय सडक र त्यसअन्तर्गतका पुलको निर्माण तथा मर्मत गर्दै आएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री