शनिबार, ५ जेठ २०८१

नेपाल–भारत दशौं एलओसी समीक्षा बैठक सम्पन्न, सबस्टेसनहरु निर्माण गर्न भारत सरकारले अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्ने

समयपोष्ट २०८० साउन २६ गते १९:११

Advertisement

भारत–नेपाल दशौं  लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

बिहिवार सम्पन्न बैठकमा नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भएका लगायत भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गरेका छन्  । साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकले समीक्षा गरेको छ ।

भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गर्नुभएको थियो । त्यसैगरी नेपालका तर्फबाट नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गर्नुभएको थियो । नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो ।

Advertisement

बैठकका लागि नेपाल आएको भारतीय टोलीले श्रावण २४ र २६ गते भारत सरकारको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गर्यो ।

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ । यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना (११०५ किमि सम्पन्न), ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको छ ।

कोशी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत प्रसारण पूर्वाधारलाई विस्तार गर्न मद्दत गरेको छ । भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको छ ।

एलओसी समीक्षा बैठकको लागि काठमाडौं आउनुभएका भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन) का सहसचिव ए अजय कुमारले नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेटवार्ता पनि गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री