शनिबार, ५ जेठ २०८१

मोदी र देउवाद्वारा शिलान्यास भएको भारतीय विहारको निर्माण सुरु

समयपोष्ट २०८० साउन २१ गते २०:१६

Advertisement

बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ । बुद्धजन्मस्थल लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसङ्घको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको हो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला उहाँ र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा भारतीय विहारको शिलान्यास गर्नुभएको थियो ।

आज विहार निर्माणस्थलमा बौद्ध परम्पराअनुसार पूजा र भिक्षु भिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ । भूमिपूजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउनुभयो । उहाँले यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाइमा पु¥याउने बताउनुभयो । भट्टराईले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रूपमा मात्र सीमित नभई भगवान् गौतमबुद्धका कारण हजारौँ वर्षअघि देखि नै सांस्कृतिक रूपमा जोडिएको बताउनुभयो ।

बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी तीन धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । भारतको उपस्थिति बुद्धजन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको भन्दै उहाँले अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिति हुनु निकै राम्रो भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसङ्घका महासचिव डा भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदाको प्रवर्द्धनका लागि आधुनिक केन्द्र बनाउन सुरु भएको दिन निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्धको लुम्बिनीमा जन्म भए पनि बुद्धले ध्यान गरी ज्ञान प्राप्त गरेको बोधगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशीनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोल लगायतले विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने बताउनुभयो ।

जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाइन गरिएको विहार रु एक अर्ब ६० करोड लागतमा निर्माण हुने जनाइएको छ । लुम्बिनी गुरुयोजनाभित्रको विहार क्षेत्रमा विहार निर्माण सुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । उहाँले जिरो नेट प्रविधि अर्थात् बाहिरी बिजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने बताउनुभयो । एसिसी इन्डिया र गोर्खा बिल्डर्स जेभीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।

भूमि पूजा कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरू, अखिल नेपाल भिक्षु महासङ्घका महास्थवीर, विभिन्न देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिकालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री