शनिबार, २२ वैशाख २०८१

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय बनाउने प्राधिकरणको तयारी, एक अर्ब लाग्ने अनुमान

समयपोष्ट २०८० साउन १६ गते १४:१२

Advertisement

नेपाल विद्युत प्राधिकरणले नेपालकै पहिलो जलविद्युत केन्द्र फर्पिङलाई संग्रहालयको रूपमा विकास गर्ने भएको छ ।

पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई प्राधिकरणले संग्रहालय र पर्यटकीयस्थलका रुपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाताको जिम्मेवारी दिएर गुरुयोजना बनाइरहेको छ। काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङ जलविद्युत केन्द्रमा पुराना संरचनाको जीर्णोद्धारका साथै नयाँ संरचना निर्माण गर्ने प्राधिकरणको योजना छ।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्‌गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जिपलाइन, वनभोज स्थल, पुस्तकालय, बाल उद्यान लगायतका संरचनाहरू निर्माण गरिने छन्।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करीब एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ। केन्द्रको स्वामित्वमा ३२४ रोपनी जग्गा छ। पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्‌गृह क्षेत्रको करीब १४६ रोपनी जग्गा प्रयोग गरिने छ।

Advertisement

प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो। मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले केन्द्रको विद्युत् गृह लगायतका संरचाहरूको अवस्थाका बारेमा अवलोकन गरेका थिए।

फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवार लगायतका घरमा विद्युत् वितरण गरिएको थियो। 

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करीब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत त्यति वेला सात लाख १३ हजार रुपैयाँ थियो।

२०३८ सालसम्म उक्त विद्युत् केन्द्र निरन्तर सञ्चालनमा थियो। तर, ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी टर्बाइनमा प्रवेश गराउन बन्द गरिएपछि विद्युत् गृह पनि बन्द भएको थियो। केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री