आइतबार, ३ असोज २०७८

चोरी सिकार रोक्न पाइलटमाथि निगरानी

समयपोष्ट २०७८ साउन २१ गते ६:३९

Advertisement

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।

विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट अनुमति लिई रहनु नपर्ने र उडान गर्न सहज हुने भएकाले उद्धारका नाउँमा यस्ता खालका गतिविधि सञ्चालन हुने गरेका देखिएका छन् ।
कतिपय अवस्थामा स्थानीय प्रशासनबाट उडान अनुमति लिएर उडान भरेका हेलिकप्टरका गतिविधि पनि शङ्कास्पद देखिन थालेकाले नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भन्नुभयो–“हेलिकप्टर आकाशमा उडान गर्ने साधन भएकाले त्यो साधनमा को मान्छे चढेका छन् ? के सामान बोकेका छन् ? भन्नेलगायतका विषयमा जाँच गर्न मुस्किल देखिएकाले हेलिकप्टरमा हुने गतिविधिमा निगरानी राख्न आवश्यक भएको हो ।”
हाल सो निकुञ्जले उडान भर्दा नेपाली चालकले एक हजार, सार्क मुलुकको चालकले एक हजार पाँच सय रुपियाँ र अन्य मुलुकका चालकले निकुञ्जभित्र एक पटक उडान भर्दा वा बस्दा शुल्क तिर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ । निकुञ्जभित्र कति हेलिकप्टर उडे, कुन क्षेत्रमा उडे र ती हेलिकप्टरले के गतिविधि सञ्चालन गरे भन्नेबारे जानकारी राख्नका लागि यस्तो व्यवस्था गरिएको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको चोरी सिकार तथा तस्करी बढी हुने गरेको छ । गत दुई वर्षयता यहाँ पासोमा पारेर दुई दर्जनभन्दा बढी कस्तुरीको बिना सिकारीले लगेको थियो ।

दुईवटा घटनामा यति ठूलो सङ्ख्यामा कस्तुरीलाई चोरी सिकारीले मारेको सम्भवतः पहिलो घटना मानिएको छ । यस निकुञ्जमा कस्तुरी मृग, डाँफे, झारल, घोरललगायतका वन्यजन्तु बढी चोरी सिकारी हुने गरेको छ ।
प्रमुख संरक्षण अधिकृत उपाध्यायले भन्नुभयो, “यहाँ भएका गतिविधि निकै शङ्कास्पद देखिन्छन् । बिरामी परेका, अप्ठ्यारोमा परेका व्यक्तिको उद्धारका लागि हेलिकप्टरले उडान भरेको भनिन्छ । उद्धार गरेर ल्याएको व्यक्ति लुक्ला विमानस्थलमा ओर्लेपछि ठमठम हिँडेर जान्छन् । उद्धार गर्न त मेडिकल टोली पनि जानुपर्ने हो । त्यहाँ त न मेडिकल टोली हुन्छ, न उद्धार गरिएका मान्छे बिरामीजस्तै नै देखिँदैनन् । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री