कोरोना परास्त गर्ने उपाय : ‘सतर्क रहौं, नआत्तिऔं, मनोबल बढाऔं’

कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार संक्रमितमध्ये सय जनामा ६७ जना निको भएर घर फर्किएका छन् ।

Advertisement

कुल संक्रमितलाई आधार मान्दा एक सय जनामा ६७ जना निको भएर घर फर्किएका हुन् । अन्य केही पनि सन्चो हुने क्रममा रहेकाले कोरोना संक्रमण हुनेबित्तिकै मरिन्छ कि भन्ने डर र त्रास भने लिन नहुने चिकित्सकको सुझाव छ ।
संक्रमित २५ हजार ५ सय ५१ मध्ये हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन्, जुन ६६ दशमलव ८३ प्रतिशत हो ।

संक्रमितहरू मध्ये डिस्चार्ज हुनेको संख्या पनि उल्लेखनीय रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने चिकित्सकको सुझाव छ । पछिल्ला २८ दिनमा ५ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन् । गत २ साउनसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका थिए ।

कोरोना भाइरस संक्रमण दर बढ्दै गएको भन्दै चिकित्सकले सतर्क रहन र आत्मानुशासन कायम गर्न सुझाव दिएका छन् । उनीहरूले सकभर घरमै बस्न आग्रह गरेका छन् । सकभर बाहिर ननिस्कन तथा निस्कनै परे भौतिक दुरी कायम गर्न र सरसफाइमा जोड दिन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनावश्यक रूपमा बाहिर ननिस्किन आग्रह गरे । उनले भने, ‘घर बाहिर निस्किनै परे मास्कको सही रूपमा प्रयोग गर्नुपर्छ । हामी स्वयं सतर्क भयौं भने संक्रमण हुँदैन ।’

Advertisement

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले एकपटक निको भएका व्यक्तिबाट कोरोना संक्रमण नसर्ने भन्दै उनीहरूलाई शंका र दुव्र्यवहार गर्न नहुने बताए । उनले भने, ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन पोसिलो खाना खाने र व्यायाम गर्ने गरौं । जति थोरै व्यक्तिसँग भेट गर्छौं, संक्रमण सर्ने सम्भावना कम रहन्छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोनाबाट जोगिने उपाय भनेकै आत्मानुशासन रहेको बताए । उनले भने, ‘आफ्नो शरीरको ख्याल आफैं गर्नुपर्छ, भीडभाड गर्नु हुँदैन । सतर्क भने रहनुपर्छ ।’

यस्तै, शुक्रबार काठमाडौं उपत्यकामा १ सय १८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना संक्रमित देखिएका छन् ।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ६ सय ९७ जना पुगेको छ । काठमाडौंमा १ हजार ३ सय ६१, ललितपुरमा २ सय २१ र भक्तपुरमा १ सय १५ संक्रमित पुष्टि भएका छन् ।

यस्तै, शुक्रबार देशभर ५ सय ९४ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्ंया २५ हजार ५ सय ५१ पुगेको छ । शुक्रवार मात्रै २ सय ४० जना संक्रमित निको भएका छन् । संक्रमितमध्ये हालसम्म ९९ जनाको मृत्यु भएको छ । शुक्रबार थप चार जनाको मृत्यु भएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री