शनिबार, ८ वैशाख २०८१

सरकारले स्थानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन थप गर्ने

rss २०७७ साउन २५ गते २१:००

Advertisement

सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आज बसेको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो । सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको सचिव गुरागाईले जानकारी दिनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो ।यस्तै आगामी भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने आज कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री