शुक्रबार, १४ वैशाख २०८१

तरकारी र पान बेच्दै संक्रमित

समयपोष्ट २०७७ साउन २३ गते ७:०७

Advertisement

विराटनगर महानगरपालिकामा तरकारी एवं फलफूलको व्यापार गर्दै आएका व्यापारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार साँझतिर विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गर्नलाई उनको खोजीका लागि प्रहरी चौकी मटेरुवा र नगर रक्षकको अलग-अलग टोली परिचालित गरिएको थियो ।

वडाअध्यक्षलाई खवर गरेर प्रहरी सहायक निरीक्षक ताराबहादुर बस्नेतको टोली घरमै पुग्यो। तर उनी घरमा भेटिएनन्। परिवारका सदस्यबाट नम्बर लिएर फोन गर्दा पनि सम्पर्क हुन सकेन। धेरै समयको प्रयासपछि सम्पर्क हुँदा उनी विराटनगर–११ मा रहेको नयाँ गुद्री बजारमा तरकारी बेचिरहेका थिए।

उनी गुद्री बजारमा तरकारी बिक्री गरिरहेका छन् भन्ने सुनेर उपचारका लागि लैजान नगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा नगर रक्षकको टोली पुग्यो। टोली पुग्दा उनले काम गर्ने पसलमा तरकारी किन्नेको भीडभाड थियो।

गुद्री बजारको पसलमा काम गर्छन् भन्ने कुरा थाहा नहुँदा कोरोना संक्रमण पुष्टि भइसकेका उनको खोजीमा प्रहरी र नगर रक्षकले निक्कै समय खर्चनु पर्यो‍। उनका दाजु–भाइले स्वाब परीक्षण गराएका थिए। भाइको भने रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ।

यसअघि साउन १४ गते बुधबार कोरोना देखिएका अर्का संक्रमित विराटनगरको शनिमन्दिर चौकमा पान बेचिरहेको अवस्थामा भेटिएका थिए। महानगरले पानपसलबाटै एम्बुलेन्समा राखेर आइसोलेसनमा भर्ना गरेको थियो। आजको अन्नपूर्ण पोष्ट्मा यो समाचार किशोर बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री