करोडौं पर्ने जग्गा, साढे दुई दशकदेखि व्यक्तिको कब्जामा

कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ। कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन्।

Advertisement

कुँवर बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक हुन्। उनले चक्रपथबाहिर वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले भाडा त कहिले खरिद गर्ने बहानामा कब्जा गरेको देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले उक्त जग्गामा कृषि तथा तरकारी बजारका रूपमा तरकारी, फलफूल, किराना पसललगायत सञ्चालन गर्न विभिन्न व्यक्तिलाई भाडामा दिई रकम उठाउँदै आइरहेको देखाएको छ। २५ वटा सटर, ५५ स्टल बनाई बल्खु कृषि तथा तरकारी बजारलाई भाडा दिई कुँवरले मासिक ५ लाखभन्दा बढी रकम हात पार्दै आएका छन्।

कृषि सामग्रीले २०३९ फागुन १२ मा काठमाडौं–१४ बल्खुस्थित कित्ता नम्बर ३६३, ३६६ र ४८२ को क्रमश : १ रोपनी १० आना २ पैसा ३ दाम, ७ आना २ पैसा, १३ आना ३ पैसा १ दाम जग्गा ४ लाख ९५ हजारमा केशवबहादुर राजभण्डारीसँग खरिद गरेको उल्लेख छ। ‘कम्पनी सञ्चालक समितिले न्यूनतम भाडा रकम प्रतिवर्गफिट १० रुपैयाँ प्रतिमहिना लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन भएको देखिएको छैन’, प्रतिवेदनमा लेखिएको छ।

कम्पनीको २०७५ साउन २० को बैठकले प्रबन्धक हरिप्रसाद गजुरेलको संयोजकत्वमा गठित समितिले २/२ वर्षमा १०/१० प्रतिशत दरले बढाउने सर्तमा २०६३ देखिको भाडा असुलउपर गर्ने निर्णय गरेको थियो। त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन।

त्यसअघि २०५८ पुस १८ मा कुँवरले १ रोपनी १० आना २ पैसा ३ दाम जग्गामा अनधिकृत तवरले घरटहरा बनाई ललितपुर ढुंगा रोडा उद्योग सञ्चालन गरिरहेको भन्दै त्यो हटाउन सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिएको थियो। कुँवरले उक्त जग्गा पटक–पटक आफ्नो नाममा कायम गराउन प्रयास गरेको देखिएको छ। उनकी श्रीमती कदम मैयाँ कुँवरले २०६८ सालमा ३ रोपनी जग्गा खरिद गर्न पाऊँ भनी निवेदन दिएको प्रतिवेदनमा उल्लेख छ। कुँवरले २०६९ भदौ ६ मा कम्पनीको त्यो जग्गा खरिद तथा भाडामा पाऊ भनी सुलभ फ्रुट्स एन्ड भेजिटेवल म्यानेजमेन्ट प्रालिका नामबाट कृषि विकास मन्त्रालयका सचिवसमक्ष निवेदन दिएका थिए।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित यो समाचार सुरेन्द्र काफ्लेले लेखेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री