मंगलबार, ११ वैशाख २०८१

हार्मोनी कोड नमिल्दा अनेक दुःख पाएका छौं

समयपोष्ट २०७३ भदौ १५ गते ८:५५

हिटकोले वितरण गर्ने सामानको बजार अवस्था कस्तो छ ?
अटोमोबाइलको सन्दर्भमा टु ह्वीलर, हेभी गाडी र कार निर्माण उपकरण डोजर, हेभी अर्थात मुभिङ, मोटरसाइकल, स्कुटरको मर्मतका वर्कसपमा चाहिने सम्पूर्ण सामग्री हामीले वितरण गर्दै आइरहेका छौं । हामीसँग दुई÷तीनवटा कम्पनी छन् । ती कम्पनीलाई समेटेर एउटै छातामुनि अटोमोबाइलसँग सम्बन्धित सबै सामग्री उपलब्ध गराउँदै आएका छौं । 
हामीले १९८४ देखि एल्गी भन्ने कम्पनीसँग काम गरिरहेका छौं । यस कम्पनीले पहिला अटोमोबाइल र इन्डष्ट्रियल दुवैलाई चाहिने सामान उत्पादन गथ्र्याे । अहिले यो कम्पनी दुई भए पनि हामीसँग ती दुवै कम्पनीको एजेन्सी छ ।
बजारको पोलिसी हेरेर उसले मोटरसाइकलका सामग्रीलाई निरन्तरता दिएन । तर, नेपालमा मोटरसाइकल वर्कसपको माग बढ्दै गएकोमा हामीले ओइल ल्युव सिष्टम भन्ने कम्पनीको एजेन्सी लिएर निरन्तर काम गरिरहेका छौं। 
अटोमोबाइलमा स–साना सामग्री चाहिने हुँदा हामीले अर्को कम्पनी खोलेर काम गरिरहेका छौं। हामीसँग अर्को भनेको फायर फाइटिङ इक्वीपमेन्ट छ । जुन वर्कसप र उद्योग दुवै क्षेत्रमा अति आवश्यक छ । हाम्रो मुख्य काम हावासँग सम्बन्धित छ । त्यो उद्योग र वर्कसप दुवैसँग सम्बन्धित छ । हावासँग सम्बन्धित आल्मुनियम पाइप जसले कम्प्रेशरको इफिसियन्सी बढाओस् लस नहोस्, त्यस्तै प्रेसर रेगुलेट गर्ने सामग्री छन् । एउटा कम्प्लिट प्याकेज दिन हामीले खोजेका हौं । हामी कहाँ आयो भने अटोमोबाइल सम्बन्धी, या कम्प्रेसरको हावासम्बन्धी उद्योगको लागि आवश्यक सबै काम दिदै आएका छौं ।
वितरण सञ्जाल कस्तो छ ?
अहिले हाम्रो वितरण काठमाडौंबाट मात्र भइरहेको छ । हाम्रो काठमाडौं बाहेक दुहबी, बुटवल र सिमरामा शाखा रहेको छ । नेपालका मुख्य औद्योगिक करिडोरमा हाम्रा शाखा छन् । किनभने उद्योग भएको ठाउँमा केही समय ढिलो हुने बितिकै धेरै लस हुने हुँदा हामीले त्यसलाई हेरेर काम गरिरहेका छौं। 
तपाईंले बिक्री गर्ने सामग्री जेनुइन हुन् भन्ने आधार के–के हुन् ?
खुला सिमाना र नक्कली सामग्री पीडित म पनि हुँ । मेरो कम्पनीको डिलर भारतको सिलगुडी,  पटना, गोरखपुर, मुजफरपुरमा छ । मैले सामान आयात गर्दा लाग्ने सबै भन्सार मूल्य तिरेर वैधानिक रूपमा ल्याउने भए । हाम्रो सीमामा के तनाव छ भने नेपालगन्जको मान्छे काठमाडौ आउनेभन्दा पनि उसलाई गोरखपुर या लखनउ नजिक पर्छ । विराटनगरको मान्छेलाई सिलगुडी या पट्ना नजिक पर्छ । त्यहाँबाट ल्याउँदा भन्सार छलेर आयात गरिन्छ । जसले हामीलाई गाह्रो भइरहेको छ । विराटनगर, धनगढी वाट भारत गएर सामान ढुवानी गर्दा सस्तो पर्छ । तर उहाँहरूले सर्भिस पाउनुहुन्न । सर्भिसको कारणले मात्र मान्छे काठमाडौं आइरहेका छन् । 
सीमापारिबाट चोरी निकासी गरेर ल्याउनेलाई रोकथाम गर्न के गर्नुपर्छ ?
त्यसका लागि सबैभन्दा पहिले राजस्वमा कडाइ गर्नुपर्छ । अर्को भनेको भन्सार कम गर्नुपर्छ । भन्सार कम गर्दा सस्तो पर्न जान्छ, र मान्छे भन्सार छलेर ल्याउनतिर लाग्दैन । भन्सार कम गर्दा राजस्व पनि बढी उठ्छ र देशलाई पनि योगदान पुग्छ । त्यसैले भन्सार घट्ने बितिकै यो समस्या हल हुन्छ ।
तपाईंहरूले बारम्बार भन्सार शुल्क कम गर भनिराख्नुभएको छ तर सरकारले सुनेजस्तो त देखिँदैन ?
सरकार कानमा तेल हालेर बसिरहेको छ । विशेषगरी गाडीको सन्दर्भमा हामीले अर्थमन्त्रीजीलाई भन्सार घटाउ भन्यौं । उहाँले भन्सार घटाउने कुरा नगर्नुहोस्, तपाईंहरूसँग पैसा छ भन्नुुहुन्छ । उहाँले गाडी किन्ने मान्छेलाई भन्सार तिर्न गाह्रो छैन भन्नुभयो । बरु उद्योग खोल्नुहोस् भन्नुहुन्छ । यहाँ टाटाले उद्योेग खोल्न आयो, उद्योग खोल्न सकेन, गयो । अहिले बजाजले खोलेको छ । टिभिएसले पनि खोल्ने सुन्नमा आएको छ । तर, उहाँहरूलाई के समस्या परेको छ भने त्यो खोलेपछि अन्तशुल्क पचास प्रतिशत छुट भन्ने छ । त्यसलाई कसरी गर्ने समस्या परिरहेको छ । सामान नेपालमै बन्ने त होइन । गाडी, मोटरसाइकल भनेको यासेम्लिङ उद्योग हो । कि त गाडी, मोटरसाइकल पूरै बनेर आउनुपर्यो । अहिले के भएको छ भने मोटरसाइकललाई सिकेरी कन्डिसनमा टुक्र्याएको छ । नक पूरै  डाउन कन्डिसनमा छ । प्याक गरेर ल्यायो अनि फ्याक्ट्रीमा जोड्ने । पूरै मोटरसाइकल हुँदा उसको भन्सार लिने कि त्यसको पार्टपुर्जाको भन्सार लिने । कुनमा अन्तशुल्क लगाउने अहिले त्यो समस्या भइरहेको छ । त्यसका लागि नाडा पनि लाग्न त लागिरहेकै छ, हल होला । सरकार उद्योग खोल्नुहोस् भन्छ । तर, त्यसका लागि पनि वातावरण छैन । हामी डब्लु.टी.ओ.को सदस्य भएको हुनाले बिस्तारै हामीले भन्सार घटाउनुपर्ने बाध्यता छ तर कहीं नभएको जात्रा नेपालमा हुन्छ । अन्तशुल्क लगाइदिनुहुन्छ । अन्तशुल्क भनेको त कुनै पनि सामान जहाँ उत्पादन हुन्छ, त्यहाँ मात्र लाग्ने हो । तर, यहाँ बाहिरबाट ल्याइएको सामानमा पनि अन्तशुल्क लगाइन्छ । 
pradipman pradhan 2

Advertisement

अर्को मैले आफैंले भोगेको समस्या भनेको हार्मोनी कोड हो । हार्मेनी कोड भनेको अन्तर्राष्ट्रिय व्यापार गर्न सजिलो होस् भनेर अन्तर्राष्ट्रिय कष्टम युनियनले बनाएको कोड हो । त्यसमा आठ डिजिट हुन्छ । लास्टको अन्तिम डिजिट भनेको कन्ट्री कोड हो । जुन देशमा सामान बन्छ, त्यसको विभिन्न सब ब्रान्च हुन्छ । ६ वटा अंक मिल्छ तर अन्तिमको दुई अंक मिल्दैन । हाम्रोमा सामान भारतबाट आउने र त्यहाँको हार्मोनी कोडलाई फलो गरेर आउँदा यहाँ मिल्दैन । यो नमिल्दा भन्सारमा अनेक शंका–उपशंका गर्ने सबैभन्दा बढी भन्सार जुन छ, त्यसमा लगेर हालिदिने काम हुन्छ । 
अर्कोतिर बैंकमा पनि उस्तै समस्या छ । एल्सी खोल्दा, ड्राफ्ट खोल्दा जुन सामान मैले मगाउनुपर्ने हो, त्यसमा हार्मोनी कोड उल्लेख गर्नुपर्ने हुन्छ । त्यहाँ पनि नेपाल र भारतको हार्मोनी कोड नमिल्दा एल्सी खोल्न मिल्दैन भन्छ । केही बैंकले एल्सी खोल्नै मान्दैनन् । यो कुरा मैले धेरै फोरममा उठाउँदै आएको छु । कि नेपालले यो कोड मिलाउनुपर्यो। नभए भन्सार र बैंकलाई भनिदिनुपर्यो कि ६ डिजिट हुनैपर्छ अन्तिमको दुई जिजिट कन्ट्री कोड भएकाले त्यो नमिले पनि हुन्छ भनेर । केही कुरा मैले राखेको छु, मिल्ला भन्ने आशा छ । 
हिटकोका नयाँ योजना के छन् ?
गाडीहरू आधुनिक हुर्दै आएका छन् । त्यसलाई म्याच गर्ने किसिमबाट हामी आउनैपर्छ । त्यसको मर्मत–सम्भार गर्नका लागि त्यस्तै प्रकारको इक्वीपमेन्ट चाहिन्छ । हामीले हरेक वर्ष नयाँ–नयाँ इक्वीपमेन्ट ल्याइरहेका छौं । यसपालि टोयोटाको अत्याधुनिक वर्कसप बन्दै छ । यसको इक्वीपमेन्ट सप्लाइ गर्ने काम मैले पाएको छु । यस्तै नयाँ लन्च भएको रेनल्ट गाडी छ । त्यसको पनि वर्कशप इक्वीपमेन्टको काम मैले पाएको छु । मैले जुन कम्पनीको सामान बिक्री गर्छु, त्यो भारतको नम्बर १ कम्पनी हो । नेपालमा पनि मैले बिक्री वितरण गर्दै आएको १९८४ देखि हो । मैले यहाँ आफै टेक्निकल ब्याकअप सर्भिस बनाएर सेवा दिँदै आएको छु । 
 इक्वीपमेन्टमा बिक्रीपछिको सेवा कसरी दिनुभएको छ ? 
कुनै पनि वर्कसप इक्वीपमेन्टमा बिक्री पछिको सेवा भएन भने त्यो बिक्री हुँदैन । राम्रो सर्भिस भयो भने गाडीको लाइफ पनि लामो हुन्छ । अर्कोतिर वर्कसपमा भएको इक्वीपमेन्टलाई रेखदेख गरिएन भने बिग्रन सक्छ । विभिन्न नयाँ–नयाँ इक्वीपमेन्ट भएकाले जोसुकैले बनाउन सक्दैन । सम्बन्धित फ्याक्ट्रीमा तालिम प्राप्त मान्छेले मात्र बनाउन सक्छ । त्यसैले हामीले बिक्रीपछिको सेवा दिन सम्बन्धित कम्पनीमा तालिम लिन मान्छे पठाउने गरेका छौं । ती तालिमप्राप्त मान्छेलाई हामीले बेचेका सामानमा समस्या आयो भने मर्मतका लागि पठाउने गरेका छौं । तर, कस्टमरले हामीसँग किनेको छ भने त्यो सर्भिस दिन्छौं । सिधै भारतबाट हामीले बेच्ने इक्वीपमेन्ट ल्याएको छ र बिग्रियो भने त्यो सर्भिस दिन सक्दैनौं । हामीसँग किनेको सामान जेनुइन हुन्छ र बिक्रीपछिको सर्भिस, वारेन्टी, ग्यारेन्टी पाउन सक्नुहुन्छ । त्यसैले कुनै पनि इक्वीपमेन्टमा बिक्रीपछिको सेवा जरुरी छ । हामीले बिक्रीपछिको सेवालाई जोड दिएका कारण नै हामी यहाँसम्म टिकिरहेका छौं । हामी काठमाडौंमा मात्र छौं तर हामीलाइ खोजी–खोजी आउनुका कारण बिक्रीपछिको सेवाले गर्दा नै हो । हाम्रो कम्पनीले भन्सारमा सि डक (कम्पे्रसर डक्टर) भनेर सुरु गरेको छ, त्यो केही दिनमा नेपालमा पनि आउला । यसमा फोन गरेर समस्या समाधान गर्न सक्छौं । 
जेनुइन सामान रोज्न अटोमेकानिक्स र ग्यारेजलाई तपाईंको सन्देश के छ ?
इक्वीपमेन्ट खरिद गर्दा सस्तोको पछि नलाग्नुस् । सामान जेनुइन लिनुस्, अहिले महँगो भनेर पछि नहट्नुस् । अहिले महँगो जस्तो लागे पनि तपाईंले किन्दा तिर्नुपरेको रकम त्यसले लङट्रममा उठाउन सकिन्छ । गुणस्तरीय सामानले इन्धन खपत हुन्छ । जसले दैनिक प्रडक्सन कष्ट घट्न जान्छ । इक्वीपमेन्ट नेपालमै किन्नुहोस्, जसले गर्दा तपाईंले बिक्रीपछिको सेवा राम्रो पाउन सक्नुहुन्छ । इक्वीपमेन्टको टेक्निकल कुरा राम्रोसँग बुझेरमात्र किन्नुहोस् । इक्वीपमेन्ट भनेको खानेकुराजस्तो होइन । झन् नयाँ उद्योग आयो अथवा भएको उद्योग ग्यारेजले आफ्नो क्षमता बढायो भने मात्र इक्वीपमेन्ट जान्छ । देशमा शान्ति सुरक्षा होस्, नयाँ–नयाँ उद्योग आओस् । त्यसका लागि हामी टेक्निकल मान्छेसहित लगानी गरेर बसेका छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री