मंगलबार, ११ वैशाख २०८१

मेचे समुदायको मातृभाषामा पढाइ

rss २०७६ भदौ १३ गते १८:४७

Advertisement

मेचे जातिको बाहुल्य रहेको झापाको हल्दिबारी गाउँपालिकाको एक विद्यालयमा मेचे समुदायको मातृभाषामा पठनपाठन शुरु भएको छ । लोपोन्मुख मेचे समुदायको भाषा संरक्षण गर्न हल्दिबारी–४ मा रहेको दीपेन्द्र प्राविको कक्षा १ मा यसै शैक्षिक सत्रदेखि मातृभाषामा पढाइ शुरु भएको हो ।

मेचे जातिका भाषाशास्त्री सनथलाल मेचेद्वारा लिखित कक्षा १ मा पढाइ हुने पाठ्यपुस्तकको आज गाउँपालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा लोकार्पण गरिएको छ ।

पुस्तकको विमोचन सांसद राजेन्द्र लिङ्देनले गर्नुभएको थियो । ‘जङ्नि राउ थाख–१’ पुस्तकमा मेचेको जातीय भाषाको व्याकरण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश मेचेले बताउनुभयो ।

सो विद्यालयमा जम्मा १३१ विद्यार्थीमध्ये ५५ मेचे समुदायका विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले बताउनुभयो । उहाँका अनुसार कक्षा १ मा मात्र ३० विद्यार्थी रहेका छन् । अधिकांश विद्यार्थी मेचे समुदायका छन् ।

विद्यालयले जेठ महीनादेखि नै जातीय भाषाको शिक्षकको रूपमा सुनिता मेचेलाई नियु्क्त गरेको छ । पाठ्यपुस्तक नहुँदासम्म उहाँले सामान्य भाषाका लिपिहरु सिकाउँदै आउनुभएको थियो ।

कक्षा १ देखि शुरु गरेको मेचे भाषाको पढाइलाई निकट भविष्यमै कक्षा ३ सम्म लागू गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । यो समुदायको भाषा, संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउँदै सो विद्यालयको कक्षा १ मा मेचे जातिको मातृभाषाको पढाइ शुरु गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।

अल्पसङ्ख्यक समुदायभित्र पर्ने मेचे जाति नेपालको लोपोन्मुख समुदाय हो । झापामा मात्र विसं. २०६८ को जनगणनाअनुसार मेचे समुदायको जनसङ्ख्या चार हजार ८४८ रहेको रहेको छ । हल्दिबारी गाउँपालिकामा मात्र एक हजार ३२५ रहेको जनसङ्ख्या रहेको व्यवस्थापन समितिका अध्यक्ष मेचेले बताउनुभयो ।

भेलागढी सामुदायिक वनको गणतान्त्रिक पार्कमा आयोजित कार्यक्रममा गाउँपालिकाको रु २४ करोड ७७ लाख २१ हजारको वार्षिक आयव्यायको बजेटसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री