शनिबार, ८ वैशाख २०८१

आर्थिक वृद्धिको बाधक उच्च ब्याजदर : शेखर गोल्छाको विष्लेषण

समयपोष्ट २०७६ भदौ १२ गते ९:३६

Advertisement

हाम्रो पुस्ताले देखेको सबैभन्दा स्थिर र बलियो सरकार यही नै हो । यो सरकार बनिसकेपछि उद्योग वाणिज्य क्षेत्रमा भएका समस्याको समाधान हुन्छ भनेर निजी क्षेत्रमा तरंग नै आएको थियो । त्यसपछि लगानी बढ्ने र खासगरी उत्पादनशील क्षेत्रमा लगानी बढोस् भनेर सबैले आशा राखेका थिए । त्यो आश पूरा भयो कि भएन, त्यसका लागि अझै समय दिनुपर्ने देखिएको छ किनभने तुरुन्तै यस्ता कुरा नहुने रहेछन् । अहिले देशमा मुख्य समस्याका रूपमा व्यापार घाटा रहेको छ । जुन भयाभव रूपमा बढेको छ । यो कम गर्ने तीन/चार वटा उपाय छन् ।

केही क्षेत्र एकदम राम्रो हुन्छन् भने केही क्षेत्रका लागि पैसा पर्याप्त हुँदैन । नाफामूलक क्षेत्र अझ नाफायोग्य बन्छन् । अलि जरुरी र कम नाफा भएका क्षेत्र त्यति बढ्दैनन् । अहिले निराशा आएको खास कारण यही हो ।

पहिलो भनेको निर्यात बढाउनुपर्छ । निर्यात बढाउन हाम्रो ‘कस्ट अफ प्रोडक्सन’ धेरै उच्च छ । निर्यात गर्न एकदमै गाह्रो छ । हाम्रो ‘लजिस्टिक कस्ट’हरू पनि एकदमै बढी छ । पूर्वाधारहरू जीर्ण भइसकेका छन् । जसले गर्दा श्रमको मूल्य बढ्छ । ब्याजदर धेरै माथि छ । त्यसबाहेक ब्युरोक्र्याटहरूको ढिलासुस्ती एकदमै बढी छ । यी कुराले गर्दा निर्यात तुरुन्तै बढ्न त्यति सजिलो छैन तर यसमा समय दिनुपर्छ ।

दोस्रो हामीले हाम्रा स्थानीय उत्पादन पनि बढाउनुपर्छ । त्यसका लागि पनि माथि मैले जुन चुनौती उल्लेख गरे ती यथावत् नै छन् । यसबाहेक जग्गाप्राप्ति, ऐन, कानुन पनि बाधक छन् । ऐन, कानुनले गर्दा स्थायी र उत्पादनशील क्षेत्रमा लगानी गर्न लगानीकर्ता हिच्किच्याइरहेका छन् । नकारात्मक सोच भएका केही मानिसले आयात नै बन्द गरौँ भन्छन् । यसले व्यापार घाटा केही कम गर्न सक्ला तर यसले राजस्व ह्वात्तै घट्छ । स्थानीय उत्पादनमा मात्रै निर्भर हुनुपर्यो तर मुख्य रूपमा व्यापार घाटा घटाउन र निर्यात बढाउनका लागि स्थानीय उत्पादन बढाउनुपर्छ ।

जब बैंकहरूले कर्जायोग्य रकम प्रवाह गर्न सक्दैनन् र ब्याजदर पनि बढी हुन्छ, त्यस्तो बेला मनोवैज्ञानिक रूपमा धेरै व्यवसायी सरकारले केही गर्न सकेन भनेर निराश भएर जान्छन् ।

नयाँ सरकार बनिसकेपछि व्यापार घाटाको कुरा बढी नै आइरहेको छ । फेरि अलिकति निराशा पनि पक्कै छ । हाम्रो अर्थतन्त्र करिब तीन वर्षदेखि सात प्रतिशतको हाराहारीमा बढेको छ । यसले बजारमा तरलताको ठूलो समस्या निम्त्याएको छ । पहिलेको डाटा हेर्ने हो भने अर्थतन्त्र चार प्रतिशतसम्म चल्दा हाम्रो सबै कुरा ठीक चलिरहेको छ तर जब सात प्रतिशतले बढ्यो, त्यसपछि पैसाको माग बढ्यो । पैसाको माग बढ्दा तरलता ह्वात्तै घट्यो । जसले गर्दा बैंकहरूमा लगानीयोग्य रकम कम भयो । यस्तो समयमा अर्थतन्त्र प्राथमिक हुन थाल्छ । केही क्षेत्र एकदम राम्रो हुन्छन् भने केही क्षेत्रका लागि पैसा पर्याप्त हुँदैन । नाफामूलक क्षेत्र अझ नाफायोग्य बन्छन् । अलि जरुरी र कम नाफा भएका क्षेत्र त्यति बढ्दैनन् । अहिले निराशा आएको खास कारण यही हो ।

अर्थतन्त्र बढेको छ । केही क्षेत्रमा एकदम राम्रो वृद्धि छ तर धेरै क्षेत्रजस्तो सेयर मार्केट, जग्गा, पम्परागत व्यापार व्यवसायमा वृद्धि छैन । कृषि पनि पाँच/छ प्रतिशतले बढिरहेको छ तर समग्रमा हेर्ने हो भने मूल्य त्यति बढ्न सकेको छैन । यो सबै हेर्ने हो भने लगानी नभएका कारण यी सबै दबिएर राखिएका छन् । उत्पादन पनि बढाउन सकिएको छैन । अहिले आएको व्यापार घाटाबाहेकको जुन तरलताको समस्या छ, त्यसले मनोवैज्ञानिक रूपमा सबैलाई असर पुर्याएको छ । जब बैंकहरूले कर्जायोग्य रकम प्रवाह गर्न सक्दैनन् र ब्याजदर पनि बढी हुन्छ, त्यस्तो बेला मनोवैज्ञानिक रूपमा धेरै व्यवसायी सरकारले केही गर्न सकेन भनेर निराश भएर जान्छन् । तर सरकारले खर्च बढाएको छ । विदेशी लगानी पनि भित्रिएको छ । केही अनुदान पनि बढेका छन् । जसले गर्दा तरलताको समस्या आउँदा दिनमा समाधान हुने विश्वास गर्न सकिन्छ । यो समस्या कम हुनेबितिक्कै निराशा सकिन्छ ।

ठूलो चुनौती तरलता र ब्याजदर

विकास तथा आर्थिक वृद्धिको अहिलेको मुख्य बाधक भनेकै ब्याजदर अथवा तरलता अभाव नै हो । ब्याजदर दुई वर्षमा अत्यधिक बढेको छ । यसमा नियामक निकाय राष्ट्र बैंकले नियन्त्रण गर्ने संयन्त्र ल्याउनुपर्छ । हुन त हामी खुला बजार अर्थतन्त्रमा विश्वास गछौँ तर हरेक देशमा ब्याजदरका लागि नियामक संस्थाले मनिटरिङ गरेको हुन्छ । अन्य मुलुकमा आधा प्रतिशत ब्याजदर बढ्दा बिजनेस पेजमा हेडलाइन आउँछ । हामीकहाँ दुई/चार प्रतिशत एसएमएसबाट बढाइदिन्छन् । हामीलाई कसैको केही मतलब हुँदैन । हामी यहाँ जति रोइकराइ गरे पनि राष्ट्र बैंकले त्यस किसिमका टुल्स ल्याउँदैन । अहिलेको मौद्रिक नीतिले पनि ब्याजदर घट्छजस्तो लागेको छैन । ऋणपत्रलगायतका कुराले गर्दा ब्याजदर झन् बढ्छ । त्यसकारण तरलता र ब्याजदर ठूलो चुनौतीका रूपमा रहेको छ ।

हाम्रा सडकहरूमा यति धेरै ट्राफिक छ कि वीरगन्जदेखि काठमाडौँसम्म ट्रान्सपोर्टेसन गर्ने हो भने विश्वमै सबैभन्दा महँगो नपालमै छ । गाडी क्लियर हुनै हाम्रो भन्सारमा १५ देखि २० दिन लाग्छ ।

अर्को दीर्घकालीन चुनौतीका रूपमा पूर्वाधार रहेका छन् । पूर्वाधारहरू जीर्ण भइसकेका छन् । पर्यटक बढाउने कुरा गर्छौं, हाम्रो एयरपोर्ट शतप्रतिशत क्यापासिटीमा चलेको छैन । व्यापारको कुरा गर्छौं, हाम्रा सडकहरूमा यति धेरै ट्राफिक छ कि वीरगन्जदेखि काठमाडौँसम्म ट्रान्सपोर्टेसन गर्ने हो भने विश्वमै सबैभन्दा महँगो नपालमै छ । गाडी क्लियर हुनै हाम्रो भन्सारमा १५ देखि २० दिन लाग्छ । कलकत्तादेखि बन्दरगाहासम्म त्यस्तै जाम छ । यी सबै कारणले गर्दा ‘लजिस्टिक कस्ट’ २५ देखि ३० प्रतिशतसम्म जाने गर्छ । अहिले नेपालको व्यापार व्यवसायको यी सबै समस्या चुनौतीका रूपमा रहेका छन् ।

तरलता अभाव र अटोमोबाइल क्षेत्र

 

अटोमोबाइल अहिलेको अवस्थामा कुनै ‘लक्जरी आइटम’ होइन । यो अत्यावश्यक भइसकेको छ । जबसम्म व्यक्तिले मोबिलिटी पाउँदैन, एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैन । उसले आफूलाई आर्थिक गतिविधिमा सम्मिलित गराउन सक्दैन ।

तरलताको समस्याले अटोमोबाइल क्षेत्रलाई धेरै नै समस्या पारेको छ । यो क्षेत्रमा १० वर्षको आँकडा हेर्ने हो १३/१४ प्रतिशत ग्रोथमा देखिन्छ । त्यो हिसाबमा मलाई विश्वास छ, तरलताको समस्या समाधान भएपछि अटोमोटिभ ग्रोथ आफैँ बढ्छ । त्यो बढेपछि अहिले राजस्व नउठेको स्थिति छ, त्यो पनि उठ्छ । अटोमोबाइल अहिलेको अवस्थामा कुनै ‘लक्जरी आइटम’ होइन । यो अत्यावश्यक भइसकेको छ । जबसम्म व्यक्तिले मोबिलिटी पाउँदैन, एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैन । उसले आफूलाई आर्थिक गतिविधिमा सम्मिलित गराउन सक्दैन । पहिले पनि हामी जुम्ला एकदम दुर्गम ठाउँ हो भनेर सुन्थ्यौँ तर अहिले जुम्लाको सबै चिज काठमाडौँमा पाइन्छ किनभने अहिले त्यहाँ यातायातको सुविधा छ । सबैलाई ‘मेनस्ट्रिम इकोनोमी’मा जोड्ने हो भने सडक र यातायातका साधन एकदमै जरुरी रहेको छ । यसले देशलाई आर्थिक वृद्धितिर अग्रसर गराएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री